मुख्य समाचार राजनीति

'विदेश भ्रमण गर्नेको पूर्ण विवरण मागाएको छु'

'विदेश भ्रमण गर्नेको पूर्ण विवरण मागाएको छु'

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको मितव्ययी नीति अनुसार मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरिएको बताएका छन् । विदेश जाने, घुमेर आउने मात्र गर्नाले राज्यको ठूलो धनराशी खर्च मात्र हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले विदेश भ्रमणबाट उपलब्धी शुन्य हुने गरेको उल्लेख गरे ।

 

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले गत वर्ष मन्त्रालयगत रुपमा विदेश भ्रमणमा जाने कर्मचारीको विवरण मागिसकेको जनाए ।

 

‘कति कर्मचारी विदेश गएका छन्, त्यसवापत् कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु’, प्रधानमन्त्री ओलीले भने, ‘साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा हुन्छ ।’ प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि विदेश भ्रमणमा कडाइ गरेको बताए ।

 

दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनु पर्ने, बिषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिको सुरक्षाको प्रत्याभूतिलगायत १६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । प्रधानमन्त्री ओलीलाई भेट गर्न महासंघका संयोजक अशोक ब्याञ्जु नेतत्वको प्रतिनिधिमण्डल बालुवाटार गएको थियो । -अन्नपूर्णपाेष्ट दैनिकबाट । 

केपी ओली