कला साहित्य भिडियो साहित्य आज

प्रेममा विछोड भएका कवि, जसले नामको पछाडि ‘भिखारी’ जोडे (भिडियोसहित)

प्रेममा विछोड भएका कवि, जसले नामको पछाडि ‘भिखारी’ जोडे (भिडियोसहित)

काठमाडाैं । कवि बद्री भिखारीको नयाँ कविता संग्रह हालै बजारमा आएको छ । इटहरीवासी उनी कवितामा लामो समयदेखि साधनारत छन् । आफ्नो तेस्रो कृति ‘समुद्र साउती’ लिएर आएका भिखारीले नेपाल आजसँग आफ्ना जीवन र सिर्जनाकर्मका सम्बन्धमा यसरी अन्तरंग पोखे,

 

आरम्भ

‘ओखलढुंगामा जन्मिएँ । तर कामको सिलसिलामा मोरङ र इटहरीमा बढी रहेँ । जागिरको सलिसिलामा देशका विभिन्न भू–भागमा बस्ने, काम गर्ने अवसर प्राप्त गरेँ । नामको पछाडि भिखारी राख्नुको मेरो आफ्नै कारण छ । २०३९ सालतिर,  त्यसबेला मेरो कसैसँग प्रेम सम्बन्ध थियो । त्यो प्रेम झागिँदै र गहिरिँदै थियो । तर त्यो प्रेमले सफलता पाउन सकेन । विछोडको त्यो समयलाई स्वीकार्न मलाई निकै कठिन भयो । त्यसैले मैले मेरो नामको पछाडी भिखारी राखेँ । 
हुन त त्यो प्रेमको सम्झना मलाई अझै पनि आइरहन्छ । बेला बेलामा नराम्रोसँग झस्काउँछ । कहिलेकहीँ सपनामा देख्छु र आफ्नो श्रीमतीलाई यो कुरा सेयर पनि गर्छु ।’  


समुद्र साउती’ मा मेरो प्रयास

धेरै समय अगाडि ‘हत्केलाभरीको रेखा’ मुक्तक संग्रह प्रकाशन गरेँ । त्यो एउटा रहर मात्र थियो, वैंशको उत्ताउलो प्रेमजस्तो । त्यसपछि ‘माड्सापको झोला’ मा केही राम्रा कविताहरू भएतापनि चित्त बुझाउने अवस्था थिएन । तर अहिले प्रकाशित ‘समुद्र साउती’ मा भने कला र विचारको संयोजन छ ।  कवितामा केही नयाँपन दिन खोजिएको आभास गरेको छु । भूमिकामा केही नयाँपन भेट्न सकिन्छ । 

 

कविता कठोर साधना हो । पहिले पहिले कविता लेख्दा कविताप्रति खासै गम्भीर हुँदिनथेँ । तुकबन्दी मिलाउनको लागि मात्र पनि कविता लेखियो । तर पछिल्लो समय कविताप्रतिको धारणा गहिरो बन्दै गयो । मानवीय संवेदना, जीवन, मृत्यु र प्रकृतिजस्ता कुराहरूले कविता लेख्न प्रेरित गर्छन् । त्यसैगरी प्रेम र देशप्रेम जस्ता कुराहरूले पनि मभित्रको कवित्वलाई उजागर गर्छन् ।
कविता लेखनको क्रममा मैले सदैव सम्झने नाम भनेको कृष्णभूषण बल हो । त्यसैगरी देवान किराँती, हेमन यात्री, सोनु जयन्ती, विराट अनुपम, जी.वि गजल, यात्री शेखर, रामजी तिमल्सिना, मनु मञ्जिल । मलाई सिर्जनशील बनाउन सधैँ घच्घचाइरहने साथीहरूलाई म बिर्सन सक्दिनँ । भोलि आलोचना आउन सक्छन् । तर म आलोचनालाई स्वीकार गर्न सक्छु । स्वच्छ आलोचनाले हामी सबैलाई फाइदा गर्छ ।

 


साहित्यमा नयाँ पुस्ता


म युवापुस्तासँग नजिक हुन रुचाउने मानिस । मलाई पनि युवा बन्न खुब मनपर्ने । नयाँ पुस्ताहरूसँग नयाँ जोश र नयाँ सिर्जनशीलता हुन्छ । यसकारण म उनीहरूसँग निकट हुन मन पराउँछु ।तर नयाँ पुस्तामा धैर्यताको कमी छ । नयाँ पुस्ता आत्मरतिमा रमाउने पुस्ता हो । नयाँ पुस्ता नयाँ भएपनि पुरानै शैलीहरूलाई  पछ्याइरहेका छन् । हुन् त एकदुई जनामा राम्रो सम्भावना त छदैँछ तर प्रायः युवाहरू अरूले बोकेकै कुराहरू बोकेर हिँडिरहेका छन् । कम्तिमा बाटो चाहिँ हामीले बनाउन सक्नुपर्छ । यदि बाटो बनाउन सकिएन भने गोरेटो बनाउने हो, गोरेटो बनाउन सकिएन भने घोरेटो बनाउने हो । मलाई नयाँ पुस्तामा केही भाइहरूको सिर्जना मन पर्छन् । नवीन प्यासी, निर्भीकजंग रायमाझी, विष्णु संन्यासलगायत कविहरू मन पर्छन् ।

 


समयले मागेको कविता 


हाम्रो साहित्य पश्चिमा दर्शनतिर अल्झियो । हामीले हाम्रो समयको कथा लेख्ने हो । हामीसँग लेखनमा विषयहरू थुप्रै छन् । हामीसँग आफ्नो संस्कृति छ, दर्शन छ । हाम्रो मौलिकतालाई हामीले बिर्सिंदै गइरहेका छौँ । बिर्सिएको कुरालाई अब नयाँ ढंगले लेख्न सक्नुपर्छ । हामी विश्व स्तरको कविता भनेर लेख्छौँ, तर शैली भने उतैको अनुशरण गरिरहेका हुन्छौँ ।

कवि बद्री भिखारी कवि बद्री भिखारी