कला साहित्य साहित्य आज

नरेन्द्रकुमार नगरकोटीका ३ कविता

नरेन्द्रकुमार नगरकोटीका ३ कविता

एब्स्ट्रयाक्ट शान्ति

बुद्ध पूर्णिमाको मध्यरात
बिलय भयो जून
शान्तिको एब्स्ट्रयाक्ट आकाशमा

 

मौन छ समयको वाचाल ओठ
बन्द छन् तराजु बोक्ने आँखाहरू
रोकेको छ कसैले हावाको वेग
न फर्फराउँछ राष्ट्रिय झण्डा
न सुनिन्छ ‘ॐ माने पेमे हुँ’
मानिसहरू सम्झन्छन्–
शान्ति पोतिएको छ
देशको आकाशे पेन्टिङमा 

 

चुपचाप घर फर्किएको छ हतियारधारी
ध्यानमग्न छन् बन्दुकहरू
खुइलिँदैछ जीवनबाट बुद्धत्वको रङ
भइरहेछ तयारी अर्को मुक्तिको
चोरेको छ कसैले फूलको सुवास
न मुस्कुराउँछ बालक
न खिल्खिलाउँछ प्रेमी भँवरा
मानिसहरू विश्वास गर्छन् –
एब्स्ट्रयाक्ट हुँनेरहेछ शान्तिको पौभाचित्र

 

स्वतन्त्रता लेखिएको छ व्यानरमा
र काटिँदैछ पखेँटा चराहरूको
थाहा छैन कुनकुन पाइतालाले टेके
देशको छातीमा
छेकेको छ कसैले नदीको बहावलाई
न कल्कलाउँछ जीन्दगीको सङ्गीत
न रमाउँछ सीमानाछेउको माटो
मानिसहरू सुनाइरहेछन् –
शान्तिको अमूर्त कविता ।

 


माटोमाथि उभिएर

जून नउदाएको रात
कसरी हेर्नु माटोको परिचयपत्र ! 

 

वर्षौं भयो
बिर्सिएर आफूलाई समेत
खोजिरहेछौँ हिउँमा कुँदिएका पाइतालाका डोबहरू

 

हामीले नै टेकेका हौँ
पहिलो पाइला

 

लेख्नेहरूले लेखिदिएछन् –
‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’

 

त्यसै दिनदेखि
हाम्रा पाइतालाहरू हाम्रै माटोमाथि
‘सेकेण्ड आइडेन्टिटी’ बोकेर हिँडेका हुन्

 

यो आलो माटोमा
कहिले फुल्ला स्वाभिमानको लालीगुराँस ?
कहिले फल्ला स्वाधिनताको असली ऐँसेलु ?

 

फुल्न त कत्ति धेरै फुलिरहेछन् 
मनै कुँडाउने गरी ‘लाहुरे फूलहरू’
फलिरहेछ ‘शरणार्थी सपना’

 

माटोलाई मुठ्ठीमा कब्जा गर्न खोज्नेहरू पनि
निर्धक्क सास फेरिरहेकै छन्
यही माटो कुल्चेर

 

एकपटक घडीलाई उल्टो घुमाएर हेर्नुछ
क–कसले जितेको हो समयको दौड
कसरी जितिएको हो 

 

म भन्छु–
अन्तिमपटक निखारेर सत्य
देशदेशान्तर फैलिनेछ माटोको सुगन्ध
र ढुङ्गामा खोपिएको अक्षरजत्तिकै सुरक्षित हुनेछ
किनकि
अब कहिल्यै लेखिने छैनन् हिउँमा
हाम्रो परिचयपत्रका अक्षरहरू । 

 


छोरीलाई बाको सम्बोधन 

छोरी,
किनिदिउँला नि तेरो सपना 

 

बेस्मारी चिलाएको छ दाहिने हत्केला
हुनसक्ला थप कमाइ
र खन्न सकुँला सपनाको गोरेटो 

 

बिर्सिनसक्नु छ तेरो गुन

 

च्याँखे थापेरै जिन्दगी
दुःखको देउडामा दिनरात बजाइस्
छन्छन् छन्छन् चुराको सङ्गीत

 

तैँले पकाएको कोदोको जून
‘भाँगो’को अचारसँग निलेको स्वाद
यो चार अमलको जिब्रोमा सायदै मेटिएला 

 

स्याउको तीनपाने निकाल्न पोख्त तेरा हातहरू
कत्ति जाँगरिला,
तेरै श्रमको शृङ्गारले त धानेको छ
हाम्रो जिन्दगीको सौन्दर्य

 

घर फर्किएका चराका बथान हेर्छु
र कल्पन्छु–
कुन कुनासम्म पुगेर आएका होलान् यी चराहरू
यार्सा खोज्न गएको तेरो दाजै भने आउला नआउला

 

लाग्छ– तैँ त छेस् एकमात्र भरोसा

 

तैँले भीरमा झुण्डिएर घाँस काट्दाकाट्दै
औँला नै ठुन्क्याउँदा पनि चित्त दुखाइनस्
र घाम बिउँझिनु अघि नै दुहेर गाईको दूध
आँगनमा पोतिस् रातो माटोले घाम 

 

झिसमिसेमै जाँतोसँगै फनफनी घुमेको
तेरो मनमा के–के आउँदा हुन्

 

तैंले स्कूलको आँगन टेक्न त पाइनस्
तर पनि सुन् छोरी !
मार्सी धान उमार्न त पढ्नु पर्दैन नि !

 

खच्चरले ढाडमा बोकेरै ल्याउँछ
एक पेट भोकको ओखती
पेटकै लागि त हो यो सारा दुःखको शृृङ्खला
बाँच्नकै लागि त हो 
सासै रोकिने गरी उकालीओराली गर्नुपरेको 

 

खुर्पानी, नास्पाती र स्याऊ टोकेरै रमाएकी
देउडा नाचेरै हुर्केकी
कस्तुरीको मूल्यमा बाँचेकी
डाँफेको सौन्दर्यले सजिएकी
मेरी छोरी,
बडीमालिका माईको कस्सम खाएर भन्छु–
“तँलाई म अपार माया गर्छु ।”



 

नरेन्द्रकुमार नगरकोटी कविता