समाचार अर्थ समाज प्रदेश ३

महानगरपालिका २१ दिनमा सवा ३ अर्ब बजेट सक्दै 

महानगरपालिका २१ दिनमा सवा ३ अर्ब बजेट सक्दै 

काठमाडौं । काठमाडौं महानगरपालिका चालु आर्थिक वर्षमा विनियोजित बजेटको २५ प्रतिशत मात्र खर्च भएपछि साढे दुई हप्तामा थप २५ प्रतिशत सक्ने तयारीमा जुटेको छ । आर्थिक वर्ष ०७४÷७५ मा विनियोजन गरेको करिब १३ अर्बमध्ये वैशाख मसान्तसम्म तीन अर्बभन्दा केही बढी मात्र खर्च भएपछि थप तीन अर्ब सक्ने तयारीमा महानगर जुटेको हो ।

 

वैशाखसम्म ३ अर्ब २८ करोड मात्र खर्च गरेको महानगरको १५ दिनभित्र ऐतिहासिक सम्पदा पुनर्निर्माण र सडकमा थप २५ प्रतिशत खर्च गरिसक्ने तयारी छ । त्यसका लागि बनाउन बाँकी रहेका ऐतिहासिक पुरातात्विक सम्पदा, सडकका खाल्डाखुल्डी पुर्नका लागि खर्च गर्ने महानगरले जानकारी दिएको छ । आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा महानगरले चालु वर्षको बजेट खर्च गर्न नसकेको उल्लेख गरेको छ ।

 

यो आर्थिक वर्षका लागि चालु खर्चतर्फ १ अर्ब २२ करोड ३८ लाख ४० हजार र पँुजीगततर्फ ११ अर्ब ६५ करोड ५१ लाख ७ हजार गरी जम्मा १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । विनियोजन गरेको रकममध्ये महानगरपालिकाले वैशाख मसान्तसम्म ३ अर्ब २८ करोड ८४ लाख ७ हजार मात्र खर्च गरेको उल्लेख छ, जुन विनियोजित बजेटको २५ दशमलव ५३ प्रतिशत मात्र हो । सार्वजनिक खर्च बढाउन नसक्दा अधिकांश बजेट बाँकी नै रहेको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काले जानकारी दिइन् ।

 

महानगरले विनियोजित बजेट खर्च हुन नसक्नुमा जनशक्तिको उचित व्यवस्थापन गर्न नसक्नु, निर्णय प्रक्रियामै ढिलासुस्ती हुनु र कर्मचारीको मनोबलमा वृद्धि गर्न नसक्नु प्रमुख कारण रहेको औल्याएको छ । ‘जब प¥यो राती, तब बुढी ताती’ भनेझैँ महानगरले अर्थिक वर्ष सकिनै लाग्दा वा अन्तिम चरणमा पुग्दासमेत बजेट कुन–कुन शीर्षकमा खर्च गर्ने भन्ने विषयमा अझै दैनिक छलफल गरिरहेको छ ।

 

जब कि, आगामी आर्थिक वर्षको बजेट विनियोजनसमेत गरिसकेको छ । यसरी, महानगरले आगामी वर्षको बजेट विनियोजना भइसक्दा पनि अझै २५ प्रतिशत खर्च गर्ने तयारी गरिरहेको हो ।७५ प्रतिशत बजेट खर्च नभएको देखिएसँगै सडक निर्माण, रानीपोखरी पुनर्निर्माण, काष्ठमाण्डप पुनर्निर्माण, ब्रुमर खरिदजस्ता विषयमा खर्च गर्ने तयारी भइरहेको महानगरको भनाइ छ ।

 

१० महिनामा २५ प्रतिशत रकम खर्च भए पनि अबको १५ दिनमा २५ प्रतिशत खर्च गर्ने गरी योजना छुट्याइने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले जानकारी दिए । उनले भने विभिन्न कारणले रानीपोखरी, काष्ठमण्डप लगायतका ऐतिहासिक स्थलको पुनर्निर्माणमा छुट्याइएको रकम खर्च हुन नसकेको जिकिर गरे ।

 

सो रकम अबको केही दिनमै निकासा हुने पनि उनले जानकारी दिए । वैशाखसम्मको डाटा भएकाले जेठसम्मको जोड्दा केही बढी हुने भए पनि यो खर्च न्यून भएको महानगरले नै स्वीकार गरेको छ ।

 

‘२५ गतेसम्म खर्च गर्न सक्ने प्रावधान रहेकाले अझै २५ प्रतिशत रकम खर्च हुने ठाउँहरू रहेका छन् ।’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘ती ठाउँहरूमा हामी एकदुई दिनमै रकम निकासा गर्छौं ।’ सडकको ठेक्का र भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुनर्र्निर्माणजस्ता विषयमा र अन्य विकास निर्माणमा अबको १५ दिनभित्र सो रकम खर्च गर्न सकिने उनको भनाइ छ ।

 

महानगरले राजधानीका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकता दिएको छ । अहिले पनि अधिकांश ठाउँमा सडक खन्ने र त्यत्तिकै छाडिने हँुदा धेरै ठाउँमा खाल्डा–खुल्डी रहेकाले त्यसलाई पुर्ने, परेको पानी निकास गर्ने ठाउँ बनाउनेजस्ता कार्यमा बाँकी बजेट खर्च गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

 

धुवाँधुलो नियन्त्रणका लागि ब्रुमर खरिदको प्रक्रिया अगाडि बढाएकाले यसका लागि पनि बजेट खर्च गरिने उनको भनाइ छ । महानगरले आइतबार आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार बजेट विनियोजन गरेको छ । 

महानगर बजेट
ADVERTISEMENT