समाचार अर्थ कर्पोरेट

तोडिएन इन्धनमा भारतको एकाधिकार

तोडिएन इन्धनमा भारतको एकाधिकार

काठमाडौं । चीनबाट इन्धन ल्याउन यसअघि गरेको सहमतिबाट नेपाल पछाडि हटेको छ। प्रधानमन्त्री केपी ओलीले यसअघिको चीन भ्रमण अर्थात् २०७२ को चैतमा यस्तो सहमति गरेका थिए। त्यसबेला कुल मागेको ३३ प्रतिशत इन्धन चीनबाट आयात गर्ने सहमति भएको थियो।

 

नेपाल र चीनबीच भएको यो सहमति व्यवहारमा रूपान्तरण हुन सकेन। यसपटकको चीन भ्रमणमा इन्धन आयातको विषय नै उठेन। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चिनियाँ इन्धन आयात गर्ने विषयले प्राथमिकता नपाएपछि इन्धनमा भारतको एकाधिकार कायम नै रहने भएको हो।

 

इन्धनका लागि भारतमाथिको निर्भरताको अवस्था अन्त्य गर्न नेपाललाई आवश्यकमध्ये एक तिहाई इन्धन चीनबाट आयात गर्न भएको सम्झौतालाई त्यसखबत ठूलो उपलब्धि मानिएको थियो। चीन सरकारले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा समेत दिएको थियो। तर, नेपालले इन्धन सम्झौताका लागि कुनै पहल नगरेपछि दीर्घकालीन रूपमा इन्धन खरिद गर्ने विषयले मूर्त रूप लिन सकेन।

 

प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा नै इन्धन समावेश नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैंजूले जानकारी दिए। पूर्वाधारका हिसाबले सक्षम नभएकाले इन्धन सम्झौतालाई एजेन्डामा समावेश नगरिएको उनले बताए। उनका अनुसार पूर्वाधार बिना इन्धन आयात गर्दा महँगो पर्छ। अन्नपूर्णपाेष्ट दैनिकबाट ।

केपी ओली चीन भ्रमण