समाचार अर्थ बैंकिङ समाज प्रदेश ३

सरकारले दैनिक ६ अर्ब खर्च गर्नुपर्ने

सरकारले दैनिक ६ अर्ब खर्च गर्नुपर्ने

काठमाडौ । आर्थिक वर्ष २०७४÷०७५ सकिन अब २५ दिन बाँकी छ। यो अवधिमा सरकारले दैनिक ६ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको देखिएको छ। अघिल्लो सरकारले ल्याएको बजेटको सीमामा संसोधन गर्दै १२ खर्ब ७८ अर्बबाट घटाएर १० खर्ब ४६ अर्बमा सिमित पारेको सरकारले लक्ष अनुसार खर्च गर्नलाई २५ दिनमा दैनिक ६ अर्ब खर्च गर्नुपर्ने अर्थ मन्त्रालयले बताएको छ।

 

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार असार ५ गतेसम्म सरकारले ८ खर्ब ७० अर्ब रुपैयाँ खर्च गरेको छ। जसमा चालुतर्फ ६ खर्ब २६ खर्च भएको छ भने पुँजीगतमा १ खर्ब ६६ अर्ब भएको छ। त्यस्तै वित्तीय व्यवस्थामा ७७ अर्ब रुपैयाँ निकासा भएको छ। 
१० खर्ब ४६ अर्ब खर्च गर्ने लक्ष्य लिएको सरकारले बाँकी अवधिमा १ खर्ब ७० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने छ।

 

कोष तथा लेखा नियन्त्रकको तथ्यांकमा खर्च भएको देखिएपनि वास्तविकरुपमा खर्चको आकार झनै सानो भएको अधिकारीहरुको भनाइ छ। स्थानीय तहमा गएको रकम संघीय सरकारको खातामा खर्च देखिएपनि स्थानीय तहमा खर्च नभएर थन्किएकोले खर्चको सही आकार नदेखिने भएको छ।