अर्थ मुख्य समाचार प्रदेश ३

विभागमा  नयाँ १९२ यातायात कम्पनी पञ्जीकृत

विभागमा  नयाँ १९२ यातायात कम्पनी पञ्जीकृत

काठमाडौ । सरकारले साउनबाट यातायात समितिको नवीकरण रोक्ने निर्णय गरे पनि ठूला यातायात समितिहरुले अझै पनि यातायात विभागमा कम्पनी पञ्जीकरणमा चासो दिएका छैनन् । साना व्यवसायी र समितिहरुले पञ्जीकरण गराउने क्रम तीव्र पारेपनि ठूला समितिहरु अझै विभागमा पञ्जीकरणका लागि पुगेका छैनन् ।

 

अब साउनबट समितिहरु स्वतः खोरजीमा पर्दैछन् । तर, ती समिति सम्बद्ध गाडीहरु अहिले पनि विभागमा पञ्जीकरणका लागि आएका छैनन् । उनीहरु सरकारले गरेको यो निर्णयलाई अव्यवहारिक र अन्यापूर्ण भन्दै फिर्ता लिनेमा विश्वस्त छन् ।

 

त्यसैकारण साउनसम्म ‘पर्ख र हेर’को नीतिका साथमा ठूला समिति कम्पनीमा जान आलटाल गरिरहेका छन् । इजाजत नवीकरणका लागि कम्पनी दर्ता र पञ्जीकरण अनिवार्य गरेपछि विभागमा १९२ कम्पनीले पञ्जीकरण गरेका विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । 

 

केही व्यवसायीले समतिसँगको आवद्धता तोड्दै यातायात कम्पनी दर्ता गराएको उनले बताए । गत चैत १८ गतेदेखि यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका यातायात संघसमितिको सिफारिसका भरमा रुट इजाजत नदिने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गरेको थियो ।

 

त्यसयता विभागमा पञ्जीकरण भएका कम्पनीका सार्वजनिक सवारीलाई मात्रै रुट इजाजत दिइँदै आएको छ । त्यसपछि १९२ वटा कम्पनीले कम्पनी रजिष्ट्रको कार्यालयमा दर्ता भएर विभागमा पञ्जीकरण गराएका छन् ।

 

विभागमा मंगलबारसम्म ३०५ वटा कम्पनी विभागमा पञ्जीकृत भएका छन् । विभागले रुट इजाजत नवीकरण गर्न पनि अब कम्पनीमा दर्ता भएर पञ्जीकरण गरेकै हुनुपर्ने व्यवस्था गरेको छ ।


पश्चिम नेपाल यातायात व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, अरनिको यातायात, पृथ्वीराजमार्ग बस व्यववसायी संघ लगायत अझै पनि विभागमा कम्पनी दर्ता गरेर पञ्जीकरण नगरेको विभागले जनाएको छ । अरनिको यातायातले कम्पनी रजिष्ट्ररको कार्यालयमा कम्पनी दर्ता गराएपनि विभागमा पञ्जीकरणका लागि भने गएको छैन ।

कम्पनी विभागमा पञ्जीकृत