समाचार प्रदेश ४

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

गाउँपालिका अध्यक्षका छोराछोरी निजीबाट सरकारी विद्यालयमा

स्याङ्जा । परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ भन्दै स्याङ्जाका एक गाउँपालिका अध्यक्षले निजी विद्यालमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्र्थी भर्ना अभियान थालेका छन् ।

 

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कुलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक विद्यालयमा सारेका हुन् ।

 


सरकारले शुरु गरेको विद्यार्थी भर्ना अभियानको शुरुआत गर्दै सुवेदीले अरुलाई आह्वान गर्नुअघि आफैंले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । उनले सिद्धार्थ माविको कक्षा ४ मा छोरी स्वेच्छा र छोरा सयल सुवेदीलाई कक्षा १ मा भर्ना गरेका छन् ।

 

 

गाउँपालिका अध्यक्षले नै सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेपछि अरुलाई पनि भरोसा हुने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पनि बढाउन सकिने उनले बताए । उनले आफ्नो गाउँपालिकाभित्रका सामुदयिक विद्यालयको पठनपाठन सुधार गर्न अभियान थालनी गर्नेसमेत बताए ।

 

 

सार्वजनिक विद्यालयको स्तर सुधार्ने हो भने नीति निर्माण तहमा रहेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई ती स्कूलमा भर्ना गरेपछि मात्र जनतामा सरकारी प्रयासप्रति भरोसा बढ्ने गाउँपालिका अध्यक्ष सुवेदीले बताए । आफ्ना सन्तान पढ्ने स्कुलको पठनपाठनको नियमित अनुगमन गरिने भएकाले जनप्रतिनिधि र कर्मचारीले सार्वजनिक विद्यालयमा भर्ना गर्नुपर्ने उनको सुझाव छ ।

निजीबाट सरकारी विद्यालयमा

विशेष