परिवार

ठेलामा तरकारी बेचेर छोराछोरी पढाउने बाबुको संघर्ष

विश्व रिमाल

ठेलामा तरकारी बेचेर छोराछोरी पढाउने बाबुको संघर्ष

काठमाडौं । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर जाने धुलाम्मे सडक । अझ साँझको गाडीको चापले वरिपरिका पसलका सामानहरुमा धुलो बसेको । पसलेहरुलाई पनि सास्तिका कारण पसल बन्द गर्न बाध्यता ।

 

तर सडकपेटीमा तरकारी बेच्नेहरुको कमी छैन । त्यसमध्येका एक हुन् दीलिप क्षेत्री । त्यसदिनको व्यापार भखरै सुरु भएको छ । तरकारीको धुलो हटाउन उनले पानी छ्याप छेपे र ग्राहक आउने बाटो हेरे ।

 

उनले माक्ससमेत प्रयोग गरेका थिएनन् ।

 

‘यसरी व्यापार गर्न गाह्रो हुँदैन ?’

 

‘धुलोमाण्डुमा बस्ने बानी नै भइसक्यो । जता गएपनि हालत यस्तै हो ।’ उनले व्याङगात्मक जवाफ दिए ।

 

घर परिवार नै उनले तरकारी व्यापारबाट धान्दै आएका रहेछन् । उनका एक छोरा र एक छोरी छन् । उनकी श्रीमती अरुको घरमा काम गरेर केही खर्च जुटाउँछिन् । उनी भन्छन्, ‘दुई जनाको कमाईले घर खर्च र छोरा, छोरीको पढाइ जसोतसो चलाएका छौँ ।’

 

विगत ३ वर्षदेखिको दीलिप तरकारी व्यवसाय पेशा अंगाल्दै आएका छन् । सप्तरीबाट काठमाडौं आएका उनको सिनामंगलमा कोठा भाडामा लिएर बस्छन् । बिहान ६ बजेर उठेर कालीमाटी तरकारी बजार जाने र व्यापारको लागि तरकारी लिएर आउने उनको दैनिकी हो ।

 

विगतमा परम्परागत खेतीपाती गर्दै आएका उनी बाबुको मृत्युपछि मात्रै काठमाडौं आएका हुन् । खेतीपातीको आम्दानीबाट घरखर्च चलाउन नसकेपछि उनी रोजीरोटी जुटाउनकै लागि काठमाडौं हानिए । काठमाडौंमा उनी धेरै कष्टकर दिनहरु गुजारे ।

 

‘जिन्दगी यति गाह्रोसम्म हुन्छ मलाई थाहा थिएन’ उनी विगत सम्झिदै भन्छन्, ‘आएर ज्याला मजदुरी गर्न सुरु गरे । एक दिनको कमाईले परिवारको एक छाक पुर्याउन पनि गाह्रो थियो ।’

 

उनी यो व्यवसायमा कसरी लागे भन्दै प्रश्न गर्दा उनले जवाफ दिए, ‘साथीहरुसँग काम सकेर थकाई बिसाउँदै गर्दा कुरैकुरामा स्वरोजगारीको कुरा उठ्यो । त्यहीबाट सोच आयो ।’

 

उनीसँग अरु व्यवसाय गर्ने लगानी थिएन । तर, तरकारी बेचेर परिवार पाल्न सक्छु भन्ने आँठ पलायो । उनले ज्यालाबाट थोरै थोरै पैसा जम्म गरेर व्यवसाय सुरु गरे । उनले अगाडि थपे, ‘लगानी धेरै त गर्न सकिदैँन तर तरकारी बेचेँ भने घर परिवार चलाउन त सक्छु होला भन्ने सोच आयो । त्यसपछि ज्यालाबाट थोरै थोरै जम्मा गरेर सोच गरेको दुई महिनापछि ज्याला छोडेर आत्मनिर्भर हुनको लागि अघि बढेँ ।’

 

सुरुसुरुमा अल्ली गाह्रो नै भयो उनलाई व्यवसाय गर्न तर विस्तार आम्दानी राम्रो हुँदै गएपछि भने उनमा आश वढ्दै गयो । उनी भन्छन्, ‘सुरु सुरुमा त अलि गाह्रो नै भयो तर बिस्तारै यसबाट पनि आम्दानी राम्रै हुन थाल्यो । तर, चुनौति भने यसमा पनि रहेछन् ।’

 

एकपटक उनको ठेलागाडा नगरपालिकाले उठाएर लगिदियो । उनी कालिमातीबाट बानेश्वर ठेलामा तरकारी लिएर आउँदै थिए । बीच बाटामै तरकारी किन्न ग्राहक आए । सोही समयमा नगरपालिकाको गाडीले देखिहाल्यो । उनी त्यो दिन सभ्झिन्छन्, ‘सडकमा रोकेको देख्यो र सामान सबै उठाएर लग्यो ।’

 

उनी व्यापर पनि गरिरहेका थिए साथै आफ्ना घटना पनि बताइरहेका थिए । ग्राहकलाई तरकारीको भाउ भनेर व्यापार गरेपछि फेरि उनी भन्छन्, “अझै पनि यो समस्या छँदै छ तर हामीले गर्न पनि के नै सक्छौँ र पसल किनेर राख्न पनि सक्दैनौँ ।’

 

अन्य काम गर्न उनीसँग पढाइ र सीप छैन । उनी सडक पेटीमा व्यापार गरेर परिवार पाल्न बाध्य छन् । सरकारले पेटीमा व्यापार गर्न नदिने कुरालाई उनी विरोध पनि गर्दैन् तर उनको गुनासो एउटै हो सरकारले उनी जस्ता व्यापारीका लागि उचित व्यवस्थापन गरिदिएको भए हुने थियो ।

 

उनी भन्छन्, ‘अन्य कामको लागि पढाई पनि छैन । सरकारले सडक पेटीमा व्यापार गर्न नदिने कुरालाई म विरोध पनि गर्दिन, म सहमत छु । तर, हामी जस्तो व्यापारीलाई उचित स्थानको व्यवस्था नगर्दा हामी बाध्य हुन्छौँ नगरपालिकाबाट लुक्दै व्यापार गर्न ।’

 

उनी अहिले आफ्ना छोराछोरीका अतिआवश्यकता पूरा गर्न सक्ने भएका छन् । तर, छोरीछोरीका इच्छा बमोजिमका खर्च पुर्याउन सक्ने क्षमता छैन उनीसँग । ‘आज म छोरा छोरीलाई पढाउन सक्नेसम्म भएको छु ।’ फेरि अलि भावुक हुँदै सानो बोलीमा भने, ‘मेरा छोरा छोरीको इच्छा बमोजिम पुरा गर्न सक्दिन, न त अरु जसरी घुमाउन लैजान, नयाँ लुगा किन्दिन चाडपर्वनै पर्खनु पर्छ ।’

 

उनी आफूले पढाई गर्न नपाए पनि छोराछोरीको पढाईलाई भने अड्काउन चाहान्नन् । उनी भन्छन्, ‘हाम्रो पनि पढाई भइदिएको भए यो अवस्थामा आउने थिएनौँ । छोराछोरीको जिन्दगी पनि हाम्रो जस्तो नहोस् भन्ने चाहना छ ।’

 

उनका १६ वर्षीय छोरा १० कक्षामा पढ्छन् भने छोरी ८ कक्षामा पढ्छिन् । उनी छोराछोरीको पढाई पूरा गर्न पर्खिरहेका छन् । उनी छोराले १२ कक्षा पास गरेपछि आफ्नो खर्च जुटाउनेमा आशावादी छन् । उनी भन्छन्, १२ को पढाई सक्काएपछि त जागिर पनि पाउँछ अनि आफ्नो खर्च त कसो नजुटाउला ।”