समाचार प्रदेश ७

बझाङका महिलाको प्रश्नः रक्सी बन्द गर्ने संस्था आउँदैनन्  ? 

बझाङका महिलाको प्रश्नः रक्सी बन्द गर्ने संस्था आउँदैनन्  ? 

बझाङ । बाटो छेउको बाँझो बारीमा केही महिला गोलो घेरामा बसेका थिए । केही बैठकको विषयबारे छलफल गर्दै थिए । केही भने रजिस्टरमा उपस्थिति चढाउँदै ।


बाटोमा हिंडिरहेका पत्रकारको समूहले बैठकमा के विषयको छलफल हुँदैछ भन्ने जान्न खोजे ।

 

व्यवहार परिवर्तनसम्बन्धी छलफलका लागि बैठक बोलाइएको रहेछ । छलफलकोविषय रहेछ– ‘छाउपडी सरसफाइ’ अर्थात महिनावारी सरसफाइ ।

 

एक जना पत्रकारले प्याच्चै सोधे, ‘यहाँका महिला छाउ भएका बेला गोठमा बस्छन् कि नाइ  ?’ उनले प्रश्नसँगै सुझाव पनि दिन भ्याए । ‘जमाना फेरिइसक्यो । अब पहिलाजस्तो छाउपडीमा छोइछिटो नगर्नुहोला है,’ उनले आफ्नो कुरा पूरा गर्नै पाएका थिएनन् ।

 

उमेरले सबैभन्दा पाकोजस्तो देखिने एक महिला बीचैमा बोलिन् । ‘तपाईहरू हामीलाई मात्र सिकाउने  ? पुरुषलाई रक्सी नखाऊ भनेर सिकाउने संस्था किन आउँदैनन् ?’

 

यो वार्तालाप तल्कोट गाउँपालिका १ स्थित भाटगाउँमा आइतबार भएको हो । नेपाल पत्रकार महासंघ बझाङ अध्यक्ष जगदीश रोकायाको प्रश्न र सुझावमा जवाफ दिने महिला हुन्, भाटगाउँकी खुडीदेवी कुँवर ।

 

खुडी बोल्दै गइन्, उनको कुरामा जोड दिँदै डल्ली विकले भनिन्, ‘उहाँले ठीक भन्नुभयो । जति संस्था आए पनि हामीलाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ?’

 

उनले संस्थाहरूले सिकाएकै कारणले आफूहरूले महिनावारी बार्न छोडिसकेको बताउँदै अब पुरुषका लागि मदिरा बन्द गरिदिने संस्था (कार्यक्रम) चाहिएको माग गरिन् ।

 

हुन पनि तल्कोट गाउँपालिकाको यो वडामा महिलाले आफैं साहस गरेर छाउपडी बार्न छाडेका छन् ।

 

विभिन्न संघसंस्थाको सहयोगमा सरसफाइ, बचत, तरकारी खेती, कुखुरापालन आदिमा व्यावहारिक ज्ञान पनि सिकेका छन् ।

 

केही दिनअघि यहाँका छाउ नबार्ने महिलालाई वडा कार्यालयले सम्मानसमेत गरेको थियो ।

 

आफूहरू जतिसुकै परिवर्तन भए पनि यहाँका पुरुष रक्सीको लतमा फस्दा प्रत्येक घरमा अशान्ति र हिंसा कायम नै रहेको महिलाहरूको भनाइ छ ।

 

महिलालाई विभिन्न विषयमा सचेतना दिने संस्थाले पुरुषलाई पनि कुलतबाट मुक्त हुन र कुलतमा नफस्न सचेतना जागरण गर्नुपर्ने यहाँका महिलाको माग छ ।

 

‘संस्थाले पनि भेदभाव गरेका छन्,’ स्थानीय गिठी नेपाली भन्छिन्, ‘महिलामात्र परिवर्तन भएर घर बन्छ ? समाज बन्छ ? पुरुषले परिवर्तन हुनुपर्दैन रु पुरुषलाई सिकाउने संस्था नआएसम्म महिलाले मात्र गरेर केही हुँदैन ।’

 

१४ वटाभन्दा बढी समूहमा आबद्ध उनी आधा महिना विभिन्न विषयमा सचेतना दिने बैठकमै सहभागी भएर बित्ने गरेको बताइन् ।

 

उनका श्रीमान् भने गाउँको बाटो बनाउने एउटा उपभोक्ता समितिमा मात्र आबद्ध छन् ।

 

मदिरा सेवनका कारण गाउँको अवस्था जर्जर भइसकेकाले गाउँपालिकाले मदिरा प्रतिबन्ध लगाउन गृहकार्य गरिरहेको वडाध्यक्ष दलबहादुर धामीले बताए ।

 

उनले पनि महिलाकै कुरामा सहमति जनाउँदै मदिरालगायत कुलतमा चेतना फैलाउने कार्यक्रम लागू भए यसले समाज सुधारमा सहयोग पुग्ने बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

बझाङ मदिरा