समाचार अपराध सुरक्षा परिवार समाज

भाइटीकाकै दिन दिदीको हत्या गरेको खुलासा

भाइटीकाकै दिन दिदीको हत्या गरेको खुलासा

 

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भाइटीकाकै दिन भाइले दिदीको हत्या गरेको खुलेको छ। 

 

बासीखोराका ४५ वर्षीय सुमन राईले भाइटीकाको साँझ काठको फल्याकले ४७ वर्षीया सरिता राईको टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

 

सुमनले गत कात्तिक २३ गते साँझ ५ः ४५ बजे दिदी सरिताको टाउकोमा काठको फल्याक प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। शुक्रबार सोही गाउँमा रहेकी दिदी यशोदा र रूपा राईको हातबाट भाइटीका लगाएका सुमन दिउँसो गाउँमा रमाइलो गरी साँझ घर आएका थिए।

 

घर आउन ढिला गरेको भनी दिदी सरिताले गाली गरेपछि आक्रोशमा आएर नजिकै कुखुराको खोरमा प्रयोग गरिएको काठको फल्याक प्रहार गरी दिदीको हत्या गरेको राईले स्वीकार गरेको प्रहरीले जनाएको छ। मृतक सरिताको टाउकोको बायाँपट्टिको भाग काठको फल्याकले लागेर क्षतविक्षत भएको थियो।  घरमा दिदी सरिता र भाइ मात्रै बस्दै आएका थिए। दिदी भाइ दुवै अविवाहित हुन । मृतक सरिता राई ४७ वर्ष र सुमन राई ४५ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिएका छन्।

 

घटनाको ६ दिन पछिको अनुसन्धानमा गत बिहीबार आरोपित राईलाई पक्राउ गरिएको निरीक्षक कार्कीले जानकारी दिए। बिहीबार पक्राउ गरिएको राईलाई जिल्ला अदालत भोजपुरबाट प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पहिलो पटक सात दिनको म्याद थपिएको छ।

हत्या