प्रवास भिडियो देश

ईराकमा बेचिएका दुई चेलीको कारुणिक बयानः हामी जस्ता हजारौँ चेली नारकीय जीवन बाँचेका छन् (भिडियो)

सागर बुढाथोकी

ईराकमा बेचिएका दुई चेलीको कारुणिक बयानः हामी जस्ता हजारौँ चेली नारकीय जीवन बाँचेका छन् (भिडियो)

 


जीवनमा कतिबेला कस्तो दुर्घटना पर्छ कसैलाई थाहा हुन्न । जीवनमा अकस्मात घटेका दुर्घटनाहरुले दुर्घटनामा पर्ने मात्र हैन्,उससँग जोडिएका सबै सम्बन्धहरुलाई तहसनहस पारिदिन्छ । रसुवाकी कविता तामाङको जीवनमा यस्तै घटना घट्यो । हजारौ सपना सजाएर बैदेशिक रोजगारमा गएकी उनी ईराकमा बेचिन पुगिन् ।

त्रिभुवन विमानस्थलबाट जहाज चड्दा पैसा कमाएर फर्केर पढ्ने, घरको अवस्था सुधार्ने र बुवा ममीलाई सुख दिने सपना थियो । तर, जहाज ल्यान्ड भएको केही घण्टापछि नै उनको सपना एकपछि अर्को गरि चकनाचुर हुन् थाल्यो । उनले कल्पनै नगरेको कुराहरु उनकै जीवनमा घट्दै गयो । उनले सहँदै गईन् ।

१६ महिना अघि ईराकमा बेचिन पुगेकी कविता एक महिना अघि मात्र नेपाल आएकी हुन् । उनलाई ईराक पुर्याउने ‘लाटा’ भनेर चिनिने साम्देन लामा थिए । उनकै गावीसका अन्य ३ युवतीलाई समेत साम्देन लामाले ईराकमा बेचेको कविता बताउछिन् । ती तिन मध्ये लाङची तामाङ ३ दिनअघि ईराकबाट काठमाडौं आउन सफल भएकी छिन् ।

अन्य दुई दिदी बहिनी अझै पनि ईराकमै यातना सहेर बस्न बाध्य छन् । कविताको अनुसार ईराकमा पचास हजार भन्दा बढी नेपाली चेलीहरु बेचिएका छन् । नेपालकै एयरपोर्ट र भारत श्रीलंकाको बाटो हुदै जानेहरु धेरै छन् । नेपाली चेलीहरुले ईराकमा गएर दैनिक २० घण्टा भन्दा बढी काम गर्दापनि यातना सहनुपरेको कविता बताउछिन् ।


कविता कसरी पुगिन् ईराक ?

उनको परिवारको आर्थिक अवस्था दयनीय थियो । बिहान बेलुका हात मुख जोर्न समस्या थियो । परिवार र आफुलाई केही राम्रो होस् भन्ने चाहनाले उनले नयाँ केही काम गर्ने सोचिरहेकी थिइन् । देशमा रोजगार थिएन् । आम्दानी गर्नको लागि विदेश जानुको विकल्प थिएन् । भुकम्पले गर्दा घर भत्किएको थियो । घरको अवस्था सुधार गर्न उनले विदेश जाने सोच बनाएकी बनाईन् ।

त्यति नै बेला उनको भेट आफन्त पर्ने साम्देन लामासंग भयो । लामाले उनलाई अनेकौ प्रलोभन देखाए । उनले पठाएका मान्छेहरुले धेरै प्रगती गरेको उदारण दिए । साम्देनले विदेशमा रहेका नेपाली चेलीहरुलाई पनि फोनमा कुरा गर्न लगायो । कविताले ती चेलीहरुसंग कुरा गरिन् । उनीहरुले काम र तलब राम्रै भएको जानकारी दिए । ‘आफ्नै नजिकको मान्छेले भनेको किन नमान्नु ? दुनियाले राम्रै कमाएका छन् म पनि जान्छु ।’ यही सोचेर उनी जान तयार भईन् ।

विदेश जान उनीसँग पैसा थिएन् । उनलाई ८० हजारको आवश्यक पर्याे । साम्देनलाई पैसा हाल्न आग्रह गरिन् । तर, उसले पैसा हालिदिएन् । मासिक ४० हजार कमाउने भएपछि २ महिनामा तिरिहालिन्छ भन्ने सोचेर उनले ऋण खोजिन् । ऋण गरेरै जानको लागि तयार भइन् ।

यसअघि पनि उनी दुवई गएर आएकी थिईन् । दुवईमा काम र तलव रामै् थियो । ३ वर्ष बसेर आउदा अलिअलि पैसा जम्मा भएको थियो । त्यो पैसाले पढ्ने धोको र अन्य काम गर्ने सोच भुकम्पले तहसनहस पारिदिएको थियो । भुकम्पपछि बस्न खान सबै गर्दा पैसा सकिसकेको थियो । त्यसैले आफ्नो धोको पुरा गर्न उनी विदेश जानै पर्ने थियो ।

‘४ सय डलर कमाउने भएपछि किन नजानु ?’ उनी यस्तै सोचेर जान तयार भएकी थिईन् । साम्देनले कविता काम गर्न जाने ठाउँ ईराक भनेको थिएन् । कुर्दिस्थान ईराकमा पर्छ भन्ने कवितालाई जानकारी थिएन् । कुर्दिस्थान छुट्टै देश भन्ने भ्रममा कविता थिइन् । तर, कुर्दिस्थान ईराकमा पर्दो रहेछ । ईराक भन्ने थाहा पाएको भए उनी त्यहाँ नजाने बताउछिन् ।

कविता तामाङ


नेपाली चेली बेच्न श्रम विभाग र एयरपोर्टबाट नै सेटिङ हुदा रहेछ

ईराक जान नेपालीहरुलाई प्रतिबन्ध लगाएको देश हो । कविताको भिसामा कुर्दिस्थान लेखिएको थियो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै उनी गएकी थिइन् । ‘नेपाली जान प्रतिबन्ध देशमा कसरी भिसा लाग्यो ? विमानस्थलका कर्मचारीहरुले कसरी छिराए ?’ उनी प्रश्न गर्छिन् । त्रिभुवन विमानस्थल छिरेको दिन सम्झदैँ कविता भन्छिन्–‘ विमानस्थलबाट छिर्ने समयभन्दा १० मिनेटपछि हामीलाई छिरायो । हामीलाई भनिएको थियो हाम्रो मान्छे आएपछि मात्र छिर्नु । चेक गर्ने ठाउँको एउटा मान्छे गएपछि अर्को आयो । त्यसले सबै कागजात चेक गरेर छिरायो । पहिलाको मान्छेले मलाई छिराएन् । अहिले आएर बल्ल बुझेँ नेपाली चेलीहरुलाई ईराकमा बेच्न श्रम विभाग र विमानस्थलबाट नै सेटिङ हुदोँ रहेछ ।’

त्रिभुवन विमानस्थलबाट राजेश विष्ट नाम गरेको मान्छेले सबै एयरर्पोट सेटिङ मिलाउने कविता बताउछिन् । विष्टले दुवई पुगेपछि दुवईको भिसा च्यातेर फ्याक्न लगाएको थियो । दुवईबाट उनलाई कुर्दिस्थान लैजाने कुरा थियो । त्रिभुवन विमानस्थलमा कसैले सोध्यो भने ‘दुवई जान लागेको’ भन्नु भनेर सिकाएको थियो । दुवईमा प्लेन ल्याण्ड भएपछि दुवई विमानस्थलमा कविताले २२ घण्टा कुरिन् । राजेन्द्र नाम गरेको मान्छे उनलाई लिन आयो । राजेन्द्रभन्दा पहिले अर्को मान्छे विमानस्थलमा आएको कविता बताउछिन् । पहिला आउने मान्छेको हातमा कविताको टाउको र अरु कसैको ठुलो शरीर भएको फोटो थियो । उनलाई त्यो देखेपछि केही गडबड छ भन्ने शंका लागिसकेको थियो ।

लाङ्ची तामाङ


म जस्ता हजारौ नपाली चेलीहरु ईराकमा बेचिएका छन्

त्यसपछि राजेन्द्रले उनलाई लिएर गयो । दुवई विमानस्थलमाबाट उनी अर्को एकजना दाङको नेपाली चेलीसंग उड्न् । दुवईबाट ईराकको अर्विल भन्ने ठाउँमा पुगिन् । त्यहाँ एउटा अरबी मान्छे उनीहरुलाई लिन आयो । त्यहाँबाट एउटा होटेलमा लग्यो । त्यो होटेलमा केटाहरु मात्रै थिए । ठाउँ अत्यन्तै गर्मी थियो । होटेलको कोठाको ढोका लाएर बस्न दिएन् । त्यसपछि उनको शंका सत्यतामा परिणत भयो ।

राती १० बजे अचानक त्यहाबाट पनि उनलाई ट्याक्सीमा हालेर लगे । त्यो ठाउबाट ४ वटा गाडी परिवर्तन गरेपछि उनी अलमिन भन्ने मानिसको सम्र्पकमा पुगिन् । अलमिनले नेपालबाट पठाएका चेलीहरु जम्मा गरेर बेच्ने गर्दो रहेछ । अलमिनको अफिसमा पुग्दा उनीजस्ता थुप्रै नेपाली चेलीहरु थिए । तर, त्यहाँ एक अर्कालाई बोल्न समेत दिदैन थियो । त्यहाँ जम्मा भएका चेलीहरुलाई अलमिनले पालैपालो बोलाउने गर्दोरहेछ । अलमिनले सुरुमै कवितालाई बोलायो । त्यहाँपनि कविताको अनुहार र ज्यान अरुकै भएको फोटो थियो । कविताको फेसबुक सर्च गरेर खोज्यो । सबै कुरा हेरेपछि अमिनले उनलाई गिद्धे नजरले हेर्न थाल्यो ।


नेपाली चेलीमाथि यौन शोषण

‘यति राम्रो मान्छे काम नगरेपनि पैसा कमाईन्छ । मसंग सेल्फी खिच ।’ यस्तो भन्दै अलमिनले उनलाई हातपात गर्न खोज्थ्यो । उनी प्रतिकार गर्थिन् । ‘जे काममा ल्याएको त्यही काममा पठाउनुँ, उनी यस्तै भन्थीन् । ‘यहाँ आउने प्रेत्येक नेपालीले मसंग रात बिताएको छ । तिमीले पनि बिताउनुपर्छ । मैले भनेको मानेन् भने नराम्रो घरमा पठाईदिन्छु । तिम्रो विचल्ली हुनेछ् ।’ अलमिनले यस्तै भनेर धम्क्यायो ।

अलमिनको कुरा उनले मानिनन् । त्यहाँबाट निस्केर माथी कोठामा भागिन् । अलमिनको अफिसमा नेपालबाट लगेका नेपाली दिदीबहिनीहरुलाई किन्न धेरै मान्छे आएको उनले प्रत्यक्ष देखिन् । किन्न आउनेहरुले सबै चेलीहरुलाई जम्मा पारेर फोटो खिच्थे । फोटो खिचेर मन परेकोलाई उनीहरुले किन्थे । उनीहरुको रोजाइमा बलिया, राम्रा र भाषा बुझ्ने चेलीहरु पर्थे ।त्यही प्रक्रियामा उनलाई एउटा परिवारले किन्यो ।

५ दिन अलमिनको अफिसमा बसेपछि उनी १३ सय डलरमा बेचिएकी थिइन् । उनी पुगेको घरको श्रीमान पुलिस थियो भने श्रीमती डाक्टर थिईन् । मासिक ४० हजार दिने भनिएपनि उनी ३५० ईराकी डिनारमा काम गर्न बाध्य भइन् । त्यहाँ पुगेको ३ महिनासम्म उनलाई ठिकै थियो । त्यसपछि उनले नसोचेको कष्ट पाईन् ।

दैनिक २० घण्टा भन्दा बढी काम गर्नुपथ्र्यो । घर सफा गर्ने भाँडा माझ्ने जस्तो काम जत्ति गरेपनि कहिल्लै सकिदैनथ्यो । अलिकति केही काम बिग्रियो भने सुरुदेखि नै गर्नुपथ्र्यो । न खानाको ठेगान थियो, न सुत्नकै । न घरपरिवारसंग सम्र्पक थियो, न कतै हिडडुल गर्न पाईन्थ्यो । उनी पिंजडाको चरी जस्तै भएकी थिईन् ।


यहाँबाट भाग्न खोजिस् भनि यतै कुहिएर मर्छेस भन्थे

उनी दैनिक यातना सहेर बस्न बाध्य थिईन् । कसैसँग गुहार माग्न सम्भव थिएन् । अलिकतीपनि मानबता नभएको ठाउको मान्छेहरुले उनको दुख बुझ्दैनन् थिए । उनी विरामी भईन् । हिड्न नसक्नेगरि खुट्टामा घाउ भएको थियो । तैपनि काम गर्नुपथ्र्यो । मर्ने लाग्दा पनि काममा दलाउथे तर, अस्पताल कहिल्लै लगेनन् ।

त्यहाँ पुगेको ९ महिना पुग्दा नेपालमा उनको दाईको मृत्यु भयो । उनी असाध्यै बिरामी थिईन् । उनले घर पठाईदिन काम गर्ने ठाउमाँ आग्रह गरीन् । ‘तँलाई १३ हजार डलरमा किनेको हो । १३ हजार डलर तिर् अनि कहाँ जान्छेस् जाँ । पुलिसका सबै हामीले चिनेका मान्छे छन् । तँ यहाँबाट निस्किस् भनि यतै कुहिन्छेस् । नेपाल जान पाउदिनस् ।’ उनलाई यस्तै तुच्छ वचन बोलेर नेपाल आउन दिएनन् ।

उनीसंग एक्लै भएको बेला रुनुुबाहेक केही विकल्प भएन् । उनले यू ट्युब मार्फत सिधा कुरा जनतासंग कार्यक्रम हेरेकी थिईन् । त्यो कार्यक्रममा आफ्नो कुरा राख्दा केही मदत मिल्थ्यो कि भन्ने आश उनलाई भयो । फेसबुकमा सिधा कुरा जनतासंगको पेजमा म्यासेज पठाईनन् । त्यसपछि स्काईपमा आउनु भन्ने प्रतिक्रिया आयो । उनले लुकेर कार्यक्रममा आफ्नो कुरा राखिन् । कार्यक्रममा बोलेपछि उनको रातभरी आशु थामिएन् ।

त्यस कार्यक्रमपछि उनलाई उद्धार गर्न शक्ति महिला समुह अगाडी आयो । कार्यक्रममा बोलेको २ महिनापछि उनको सकुशल उद्धार भयो । कसैलाई केही भन्यो भने जेल हाल्ने र फासीँको सजाय दिन्छु भनेर उनलाई बेलाबेलामा धम्की आउथ्यो । तैपनि उनले हिम्मत गरीन् । हिम्मत गरेकै कारणले आफु नेपालमा सकुशल फर्केको बताउछिन् । उनी ईराकमा बिताएको १६ महिनाको दुख शब्दमा व्यक्त गर्न नसक्ने बताउछिन् । त्यो सम्झिदाँ आशु रोकिदैन् । प्रत्येक दिन एक्लै रुन्थे । सकिनसकि काम गर्थे ।’ उनले भनिन्–‘म ईराकमा नर्कमा थिए । बल्ल नर्कबाट मुक्ति पाएको छु ।’


चेली बेच्ने दलाललाई प्रहरीले पक्रेर किन छोड्यो ?

कविता ईराकमा हुदाँ उनलाई ईराक पुर्याउने साम्देन लामा जेलमा थिए । नेपाल फर्कदा साम्देन जेलबाट छुटिसकेका छन् । साम्देन अहिले सम्र्पविहिन छन् । साम्देनको विरुद्ध उनले उजुरी दिएकी छिन् । उनको अनुसार साम्देनले सिन्धुपाल्चोक लगायत धेरै जिल्लाहरुबाट ईराक लगायत भारतजस्तो देशहरुमा धेरै नेपाली चेलीहरुलाई बेचेको छ ।

उनी प्रश्न गर्छिन्–‘ नेपाली चेलीहरु बेच्ने साम्देनलाई प्रहरीले पक्रेर किन छोड्यो ? मैले किटानी उजुरी दिएको १ महिना बित्दापनि किन समातेन् ?’ ईराकबाट तिन दिनअघि नेपाल फर्केकी लाङची तामाङले पनि साम्देन विरुद्ध किटानी उजुरी जाहेरी गर्ने बताउछिन् । कवितालाई जस्तै उनलाई पनि साम्देनले नै ईराक पु¥याएको थियो ।

उनको चाहना छ जसरी हुन्छ साम्देनलाई कानुनको कठघरामा उभ्याउने । कविता र लाङ्ची जस्तैउनीहरुको गावीसबाटै साम्देनले २ दिदीबहिनीलाई पनि ईराक पुर्याएको छ । लाङ्ची भन्छिन्–‘ हामी जस्ता धेरैलाई साम्देनले नर्कमा पुर्याएको छ । भुकम्प पिडित जिल्लाको धेरै चेलीहरु ईराकमा छन् । उनीहरुको उद्धार र त्यहाँ पुर्याउनेहरुलाई कारवाही गर्नको लागि सबैसंग आग्रह गर्दछु ।’

उनको एउटै चाहना छ– उनीजस्ता हजारौ चेलीबेच्ने दलालले सजाय पाओस् । उनको जस्तै दुख भोगोस् । त्यसैले उनी साम्देनलाई पक्रन सहयोग गर्न सबैलाई आग्रह गर्छिन् । विदेशमा दुख पाएर बसेका चेलीहरु आफै पनि फर्कनको लागि शाहस गर्न आग्रह गर्छिन् ।


भविष्यको योजना र चाहना

कविताले १ वर्षको पैसा पाएपनि बाकी ६ महिना काम गरेको पैसा पाईनन् । फर्कदा उनी रित्त्तो हात फर्किइन् । तैपनि नेपाल आउन पाउदाँ उनी खुसी छिन् । उनले ईराकमा हुदाँ पार्थना गर्थिन् –‘हे भगवान नेपालमै मर्न पाउँ ।’ त्यो पार्थना अहिले पुरा भएको उनको भनाई छ ।

ईराकबाट उद्धार भएर आएपछिको जीवनलाई उनी पुर्नजन्म भएको मान्छिन् । विगतमा जे भयो त्यससलाई भुलेर अघि बढ्ने उनको चाहना छ । पढ्ने चाहनाले नै बेचिन पुगेकी उनी धेरै पढ्न चाहन्छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले काम नगरि उनलाई सुख छैन् । छोटो उमेर धेरै संर्घष गरेकाले उनले लक्ष्य पछ्याइसकेकिछिन् ।

उनी उनीजस्ता विदेशमा दुख पाएका चेलीहरुको उद्धार गर्न चाहन्छिन् । उनको जस्तो कसैले दुख नपाओस्, कोही नेपाली चेली विदेशीनु नपरोस् भन्ने चाहना छ । विदेशमा गएका चेलीहरुलाई नेपाल कसरी फर्कने ? उनी सिकाउदै छिन् । उनकै कारणले ३ दिनदिन अघि ईराकबाटै लाङची तामाङ नेपाल फर्केकि छिन् । उनले दवाव दिएको कारण लाङची तामाङ फर्कन सफल भएकी हुन् । लाङची जस्तै अन्य धेरै चेलीहरुले उनलाई नेपाल फर्काउन सहयोग गर्न आग्रह गरेका छन् । उनले सक्दो प्रयास गरिरहेकी छिन् ।

 

Iraq iraq saved females kabita tamang khadi muluk lanchhi tamang