भिडियो समाज मेरो परिवार मेरो कथा

घुमाउने बहानामा सपरिवारलाई भोटेकोशीमा हालिदिने योजना थियो, तर सकिनँ (भिडियोसहित)

सागर बुढाथोकी

घुमाउने बहानामा सपरिवारलाई भोटेकोशीमा हालिदिने योजना थियो, तर सकिनँ (भिडियोसहित)

 

‘मुर्ख र समझदारले केही गर्दैनन्, मात्र पागल र बुद्धिमान खतरनाक हुन्छन् ।’ जर्मनीको यो प्रसिद्ध उखान धेरैको जीवनसंग मेल खान पुग्छ । त्यस्तै मध्येका एक हुन्– बिष्णु गौतम । उनका परिवारमा खतरनाक घटना घट्यो । त्यसपछि उनले खतरनाक निर्णय मात्र गरेनन् । काम गरेर देखाए ।

गौतमको लक्का जवान दुई छोराहरु ९ महिनाको अन्तरालमा सवारी दुर्घटनामा बिते । २६ र २८ वर्षिय छोराहरु संसारबाट बिदा हुदाँ कुन बाउ नरोलान् ! कुन परिवार बिक्षिप्त नहोला ! बुढेसकालको लाठी नै भाचिँदा कुन बाउआमाले बाच्ने अर्को संसार देख्लान् ! त्यसैगरि गौतम परिवारले बाच्ने कुनै आधार देखेनन् । र, विष्णुले आफ्नो स–परिवार गाडीमा बसेर भोटेकोशीमा खसाल्ने निर्णय गरे ।

तर, उनको त्यो निर्णयले सार्थकता पाएन् । जहाँ साहश र सर्मपण हुन्छ, त्यहाँ राम्रो काम हुन्छ । उनले केही गरेर देखाउने हिम्मत गरे । मरेका छोराहरुलाई फेरि ब्युताउने साहश गरे । तर कसरी ? त्यसको लागि ठूलो त्याग र सर्मपणको आवश्यकता थियो । मुटुका घाउलाई समाजसेवाले मलम लगाउने उनको श्रीमती लक्ष्मीको चाहना थियो । उनी समाजसेवामा लागे । समाजसेवामा लाग्दालाग्दै आफ्नो सम्पति सकाए । लक्ष्मी प्रतिष्ठानको नाममा आफ्नो मृत छोराहरु जीवित रहेको आभास श्रीमती लक्ष्मीलाई देखाए । 

यसरी भयो घटना

बिष्णु गौतम पर्यटन व्यवसायमा भएकाले जेठा छोरा कुमारले बाऊको बींडो थाम्ने गरी पेशा अंगालेका थिए । उनी सुवान छि टुर्सको म्यानेजिङ डाइरेक्टर थिए । बिष्णुले संचालन गरेको यो ट्राभल एजेन्सीले चीनबाट सबैभन्दा बढी पर्यटक भित्राइरहेको थियो । अफिसको कामले चीन गएका कुमार नेपाल फर्किएका मात्र थिए । घर पुगे लगत्तै अफिसतर्फ लागे ।

‘यसलाई सधैंको हतार हुन्छ’ बिष्णुले मनमनै सोचे । साँझ कुरा भइहाल्छ भन्दै उनीपनि काममै लागे । ट्राभल ऐजेन्सीको व्यवश्थापकीय भुमिकामा रहेकाले कुमारको भेटघाट विभिन्न क्षेत्रका मानिससँग भइरहन्थ्यो । उनलाई संगीतप्रति रुचीपनि थियो । गायक दीप श्रेष्ठसँग उनको हिमचिम थियो । अफिसबाट उनी दीप श्रेष्ठलाई छोड्न गए ।

त्यसपछि घर फर्कदै थिए । त्रिभुवन विमानस्थल नजिकै सेतो रंगको कार अनियन्त्रित गतिमा आइरहेको थियो । विपरित दिशाबाट आइरहेको कार कुमारको मोटरसाइकलतर्फ सोझियो । कुमारले हठात साइड लगाए । उनको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन पुग्यो । कुमारको निधन भयो । घर पुग्न पाँच सय मिटरमात्र बाँकी थियो । तर, कुमारलाई दैवले घरभन्दा केही पर रहेको आर्यघाटतर्फ डोहोराइदियो । कुमार भर्खर २८ बर्षका भएका थिए ।

फक्रर्दै गरेका हसिला कुमारलाई दैबले पनि आँखा लगायो । असह्य थियो पीडा । तर, बिष्णु र लक्ष्मीसँग सहनुको विकल्पपनि थिएन । कुराकानी सुरु गर्न नपाउंदै बिष्णुको आँखा आँशुले भरियो । बियोगको सो क्षण सम्झने सामाथ्र्यसमेत उनमा छैन । तर, विर्सनपनि सकिदैन । बिष्णुले ‘हुने हार दैव नटार’ भन्दै मन बुझाउने प्रयास गरे । कुमारलाई दैवले लगेपनि अरु छोराको मुख हेरेर चित्त बुझाउंन थाले । माइला छोरा बलरामले अमेरिकामा राम्रो व्यसाय थालेका थिए ।

दाजुको शोक परेका कारण घरमा दशैं थिएन । एक बर्ष अघिमात्रै आएर फर्केका बलराम बेलाबेला फोनमा बुबाआमासँग दाइको वियोग मेटाउने गरि गफिन्थे । २०६६ साल असोज १७ गते । कोजाग्रत पुर्णिमाको दिन । बिष्णु गौतम अमेरिका रहेका माइला छोरालाई आर्शिवाद दिनका लागि फोन गर्ने तरखरमा थिए । धान्य पूर्णिमामा जन्मिएका बलरामले राम्रो प्रगति गरेका थिए ।

अमेरिकाको अस्पतालमा सूचना प्रविधि अधिकृत रहेका उनले गणित विषयमा विश्वविद्यालय टप गरेका थिए । बिष्णुले अमेरिका फोन गर्न नभ्याउंदै उतैबाट फोन आयो । आर्शिबाद लिन बलरामले सम्झियो भन्ठानेर बिष्णु खुशी हुँदै फोन उठाए । तर, सो फोनमा बलरामको आवाज थिएन । २४ बर्षका कलकलाउँदा बलरामको मृत्युको खबर थियो । खबर सुन्दानसुन्दै बिष्णुको होश गुमिसकेको थियो । पूर्णिमा दिन औंशीमा परिणत भएको थियो । धान्य पूर्णिमा जन्मेको जुनजस्तो छोरा कोजाग्रत पूर्णिमामा अस्तायो ।

नचिताएको खबरले गौतम परिवारमा पीडाको पहाड तेर्सिएको थियो । ‘मैलै सुनेअनुसार बलरामले कार चलाएर आउदै रैछ, बीच बाटोमा मृग आएछ । त्यसलाई छलाउन खोज्दा कार अनियन्त्रित भएर उसको मृत्यु भयो । मृग बाच्यो ।’ यति भन्दा नभन्दै बिष्णु भित्तामा राखिएको कुमार बलरामको हसिलो तस्बिरमा घोरिए । एक तमासले हेरिरहेका उनका आँखामा छचल्किएको आँशुमा कुमार र बलरामको तस्बिरको छाँयाकपी देखिन्थ्यो ।

बलराम अमेरिकामा गएको पाचौ वर्ष भएको थियो । सन् २००८ मा गणीतमा अमेरिकी विश्वविद्यालय टप गरेपछि उनी नामी बनेका थिए । पढाइ सक्दा नसक्दै उनले वुडवार्ड हस्पिटलमा आईटी सिस्टम म्यानेजरको जागिरे भए । अमेरिका गएको चौथो वर्षमा एकपटक मात्र उनी नेपाल आएका थिए ।

‘अब कमाइ राम्रो हुन्छ । बेलाबेला आइरहन्छु । तपाईहरुले अब धेरै दुःख गर्न पर्दैन । आरामको जिन्दगी जिउंनुहोला ।’ यसो भन्दै छुट्टिएका बलराम कहिल्यै नर्फकने गरि बिदा भएका रहेछन् । बिष्णु नौ महिनाको अन्तरालमा महावियोग खेप्न विवश थिए । जीवनमा यो भन्दा ठूलो अर्को चोट सायदै केही होला ।

सानो परिवार सुखी परिवारमा एकपछि अर्को बज्रपात निम्तिएको थियो । लक्ष्मी छोराहरुको निधनपछि अचेतजस्तै थिइन् । बहुराउने र कराउने गर्थिन । चेत खुलेको बेला बलिन्धर आँशु छुट्थ्यो । बिष्णुका ८४ वर्षको बुबा र ७८ वर्षिय आमा नातिहरुको निधनपछि सोकमा डुबेका थिए ।

‘हामी बुढाबुढीलाई नलगेर किन नातिलाई लगेको ?’ भन्दै दैवसँग प्रश्न गर्थे । सोकको समुन्द्रमा डुबेका बिष्णु आफैं बेहाल थिए । कान्छा छोरा र छोरी सानै थिए । ती दिनहरु सम्झिदै उनी भन्छन् ‘एउटा कोठामा एउटा मुर्छा पर्छ । अर्को कोठामा अर्को मुर्छा पर्छ । एउटालाई उठायो अर्को मुर्छा हुँने, अर्कोलाई उठायो अर्को मुर्छा हुँने ।’

दुई छोराको एकपछि अर्को काजक्रिया गर्ने अभागी बाऊ बिष्णुसँग प्रश्न सिवाह केही थिएन । ‘किन रच्यौं सृष्टि, किन चुड्यौं फूल ?’ उनी भगवानसँग प्रश्न गर्थे । प्रश्न अनुत्तरित नै रहन्थ्यो ।

आफैँप्रति भयानक षड्यन्त्र

‘आखिर लक्का जवान छोराहरु त मरे, हामी बाँचेर के हुन्छ ?’ उनी आफैंसँग प्रश्न गर्न थाले । मनमनै जवाफ खोजे । ‘बाँचेर केही छैन । एकपछि अर्को बियोग देख्न लेखेको रहेछ, यो भन्दा मर्न ठीक ।’ बिष्णुले निर्णय लिए, ‘गाडीमा परिवारलाई लिएर जाने र गाडी नै भोटेकोशीमा खसाल्ने ।’

आफैंप्रतिको यो भयानक षडयन्त्रका लागि उनले सबै योजना बुनिसकेका थिए । जलसमाधीलाई उनले मुक्तिका रुपमा बुझेका थिए । त्यति नै बेला गोरखामा ठूलो दुर्घटना भयो । कैयौंको ज्यान गएको सो दुर्घटना उनको जीबन मोड्ने माध्यम बन्यो । एक जना व्यक्ति वस दुर्घटनामा परेकाहरुको उद्धार र उपचारमा लागेको समाचार हेरे ।

ति व्यक्ति भन्दै थिए, ‘जस्लाई पनि यस्तो दुर्घटना पर्न सक्छ । अरुलाई पर्दा आफुले गर्ने हो, आफुलाई पर्दा अरुले गर्छन । सेवा नै धर्म हो ।’ पर्यटन व्यवसायका कारण उनलले देश विदेश घुमेका थिए । धनदौलत कमाएकै थिए । विश्वविद्यालयमा शिक्षा आर्जन गरेकै थिए ।

वियोगमा नपरुन्जेल उनले सफलताबाहेक अरु केही देखेनन् । वियोगमा परेपछि अन्धकारबाहेक केही भेटेनन् । उनले आफुलाई समीक्षा गर्न थाले । ‘छोरा मरेका कारण आफुसहित परिवारलाई मार्नु छोराहरुको आत्मालाई तड्पाउनु होे ।’ उनको मनकम्प हुन थाल्यो ।

गोरखाको बस दुर्घटनामा परेकाहरुको उद्धार र उपचारमा सक्रिय ती अपरिचतको बोली उनको कानमा गुञ्जिरह्यो, ‘सेवा नै धर्म हो ।’ उनले यो कुरा आफ्नी जीबनसाथी लक्ष्मीसँग भने । आँशुको आहालमा डुबेकी लक्ष्मीले सुक्सुकाउँदै भनिन् ‘हामीपनि त्यसै गरौं न । छोराहरुको आत्मालाई शान्ति मिल्ला ।’ यसरी नै खुल्यो २०६६ सालमा लक्ष्मी प्रतिष्ठान ।

जीवनको नयाँ अध्याय

‘दुनियामा एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ’ यो भनाई बिष्णुको जीवनसँग बास्तबमै मेल खान्छ । उनी भोटेकोशीमा सपरिवार हाम्फालेको भए गौतम परिवारको अस्तित्व मेटिने थियो । तर, फरक यात्राले बिष्णुको परिवारको फराकिलो परिचय बनेको छ । लक्ष्मी प्रतिष्ठानको कार्यालय उनले गौशला तिलगंगामा स्थापना गरे । पशुपति क्षेत्रमा रहेको प्रतिष्ठानबाट दाहसंस्कार गर्दै गरेको दृश्य देखिन्छ । सो दृश्यले ‘मरिलानु के नै छ रहेछ ?’ भन्ने सत्यवोध गराउँदछ ।

उनले कार्यालयको भित्रपट्टि मुस्कुराइरहेका कुमार र बलरामको तस्बिर राखेका छन् । तस्बिरबाटै बोलुंला झै देखिने उनीहरुले बिष्णुलाई समाजसेवामा प्रोत्साहित गराइरहेका हुन्छन् । बिष्णुको परिवार नै अहिले समाजसेवामा सर्मपित छ ।

कान्छा छोरा पनि समाजसेवामै लागेका छन् । शान्तियात्रामा रहेको गौतम परिवारको व्यापार व्यवसाय चौपट भएको छ । तरपनि उनलाई केही झैं लागेको छैन । ‘लक्काजवान दुई छोरा भन्दा ठूलो सम्पत्ति के हुन्छ ? उनीहरुलाई अमर राख्न भौतिक सम्पत्ति सकिएकोमा के को पीर ?’ उनी दृढ सुनिए ।

कमाउंदा जति मज्जा आउँछ, कमाएको पैसाले सेवा गर्दा सोभन्दा धेरै मज्जा आउने अद्भुत अनुभव बिष्णुको परिवारले गरेको छ । व्यवसायबाट आर्जेको धेरै सम्पत्ति उनले समाजसेवामा लगाइसकेका छन् । प्रतिफलमा उनले सन्तुष्टि र पहिचान पाएका छन् । देशविदेशकाले उनको कथा सुनेपछि उनलाई प्रतिप्रश्न गर्न सक्दैनन् । बरु सहयोगी बनेर प्रस्तुत हुन्छन् ।

पहिले पहिले उनी धारो बनाउने, पुस्तकालय बनाउने लगायतका केही काममा सीमित थिए । विस्तारै उनले सेवाको दायरा बढाउंदै लगे । समाजसेवाको क्षेत्र बढ्दै जाँदा उनीसहित परिवारको व्यस्ततापनि बढ्दै गयो । पीडा भुल्ने गतिलो माध्यम बन्यो । असाहयको साहरा बन्दा सन्तुष्टिपनि प्राप्त हुँदै गयो । ओइलाएको बिष्णुको परिवारले सेवामार्फत अमृतपान गर्न थाल्यो ।

समाजसेवा गर्ने क्रममा उनले धेरै बरोजगार युवाहरुलाई सिकर्मी ,डकर्मी ,पेन्टर पल्म्बर र ड्राईभर बनाए । सिप सिकेका ती युवाहरु काम गरेर जिवन चलाउन सक्ने भए । ‘म खानको लागि माछा हैन माछा मार्ने बल्झी दिनुपर्छ भन्ने ठान्छु । जीबनभर व्यक्ति आत्मनिर्भर बन्ने सिप र शिक्षा दिलाउंने काममा हामी बढी लागेका छौं ।’ बिष्णुले प्रतिष्ठानको काम बताउंदै गए ।

महिलालाई सिपमुलक तालिमदेखि दुर्गम गाऊँमा स्वास्थ्य सिविरसम्मका अनेक सूची कहंदै गए । सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेका धेरै मानिसहरु उनको स्वास्थ्य कार्यक्रमबाट लाभान्वित भए । कम्तिमा ६ सय जनाको उनले मोतिया विन्दुको उपचार गराइसकेका छन् । उनले काभे्रमा २वटा बिद्यालय र ११ वटा पुस्तकालय निमार्ण गरिसकेका छन् । ६ वटा विद्यालयमा शौचालय बनाएका छन् ।

सिन्धुपाल्चोक र ढाडखोलामा २ बर्षसम्म ईन्द्रावती सामुदायिक अस्पताल संचालन गरे । उनको समाजसेवा त्यतीकैमा रोकिएन । काभे्रका बक्रमदेवी मावीलाई आफ्नो ४ रोपनी ४ आना जग्गा दान गरे । त्यही स्कुलमा खानेपानी देखि पुस्तकालयसम्म उनले निमार्ण गरिदिए । डोटीको एउटा विद्यालयमा कम्पुटर पनि वितरण गरे । छोराको मृत्युका कारण लागेको मनको डेडेलो निभाउन उनले समाजसेवारुपी दमकल प्रयोग गरिरहेका थिए । समाजसेवा उनको नशा बनिसकेको थियो ।

 

समाचारले पारेको प्रभाव

विषालु च्याउ खाएर एकै परिवारका ८ जनाको मृत्यु, बुढी हजुरआमा र नाती बाच्न सफल शीर्षकको समाचारले उनको मुटु छियाँछियाँ पार्यो । घटनाका बारेमा उनले निधिखोजी गरे । चितवन जिल्लाको भण्डाराबाट ८ घण्टा हिडेर जानु पर्ने ‘कान्दा‘ गाऊँमा सो घटना भएको थियो । चेपाङ बहुल कान्दामा चेपाङहरुको खान्की भनेको कन्दमुल नै रहेछ । सुत्केरी र केटाकेटीसमेत कन्दमुलकै भर पर्दारहेछन् ।

कन्दमुल कहिलेकाहीं विषालु पर्दोरहेछ । र, ज्यान लिंदोरहेछ । यो सुनेपछि उनलाई त्यो ठाऊँमा नगई भएन । आफ्नो टिम लिएर उनी कान्दा हानिए । भण्डाराबाट उनको टिम उकालो लाग्यो । बाटोमा उनले लगभग ३० वर्षकी महिलालाई आरुको रुखमा देखे । ति महिला कलिलो आरु कपाकप खाइरहेकी थिइन् ।

उनले अचम्म मान्दै सोधे, ‘ए नानी यस्तो कलिलो काचो आरु खानु हुदैन , पेट दुख्छ ।’ उनी सुन्नेवाली थिइनन् । ठुलो स्वरमा फेरि भने ‘ए नानी किन नसुनेको, तिम्रै बारीको हो । पाकेपछि खाउन किन नटेरेको ।’

त्यती भन्दा पनि उनले नसुनेको झैं गरिन । उनको मनमा चिसो पस्यो । कतै खाने कुरा नभएर यसो गरेको त होईन ? उनले फेरि भने, ‘मसँग खानेकुरा छ, आऊ खान दिन्छु ।’ यति भन्न नपाउँदै उनी आरुको बोटबाट हाम्फालेर आइन् ।

उनी ५ दिनकी सुत्केरी पो रहिछन । शहरबाट नजिकै रहेको कान्दा जाँदै गर्दा अनेक दृश्य देखिए । १६र१७ वर्षको किशोर नाङगै बसेको थियो बाटो छेऊमा । उनीसँगै रहेका केहीले नदेखेजस्तो गरे । लाजै लाग्ने दृश्यमा ध्यान नदिएकै वेश । तर, बिष्णुको मनले मानेन ।

उनले हकारेको शैलीमा भने, ‘के गरेको यस्तो ?’ उनले उसको गुप्ताङ्ग आफ्नो ज्याकेटले छोपिदिए । केटो अत्तालिरहेको कामिरहेको थियो । उसले ‘त्यहाँ छ त्यहाँ छ’ भनेर माथितिर देखायो । उनले यसो माथितिर हेरे । धोएर १ जोर कपडा सुकाएको थियो ।

अनी बेलीबिस्तार मा कुरा बुझ्दा थाहा भयो केटाको भोलिपल्ट बिहे रहेछ । बिहेमा लगाउन भएको एकजोर उसले धोएर सुकाएको रहेछ । जाडोका कारण घाम ताप्न बाहिर निस्केको रहेछ । खाशमा उनी त्यहाँ बाँचेका हजुरआमा र नातिको उद्धार गर्न गएका थिए । तर, गाऊँ नै पूरा उद्धार गर्नुपर्ने अवस्थामा रहेछ । सबैका समस्या उस्तै र साझा थिए । उनले सो गाऊँको मुहार फेर्ने वाचा गरे । काठमाडौं फर्किए ।

अनेक उपाय लगाएर लगाउन मिल्ने धोएको १०३ बोरा कपडा जम्म पारे । ९५ बोरा चामल जम्मा गरे । प्रत्येक परिवारलाई २ वटा नयाँ ब्लाङकेंट बन्दोबस्त गरे । प्रावीमा पढ्ने ८६ जना बच्चालाई एकसरो नया ड्रेस ,जुत्ता र झोला जुटाए । अनी फेरी कान्दा गाऊँतर्फ लागे । जहाँसम्म गाडी पुग्थ्यो, त्यहीसम्म लिएर गए । ८ घण्टा बोकेर पुर्याउने आट उनमा थिएन ।

कान्दाले फेरेको काचुली

त्यो बेला त्यो गाउको शिक्षक बालकृष्ण थपलियाले उनलाई धेरै सहयोग गरे । सामान लिनको लागि गाउको सबैजनालाई उनले बोलाईदिए । सामान वितरण गरेर फर्केपछि उनलाई झनै चैन भएन । एकदुई हप्ताको गुजाराले पुग्दैन भन्ने कुरा उनको मनमा खेलिरह्यो । कुपोषणले करङ हड्डी प्रष्ट देखिने केटाकेटी, शरीरभरी घाऊ पाकेर घिनाएका केटाकेटी, पढ्ने उमेरमा सिंगान तान्दै धुलोमा खेल्ने केटाकेटी, कन्दमुलका लागि भीरपाखा धाउंने सुत्केरी उनको मानसपटमा नाँचिरहे ।

सो गाऊँका बारेमा कलम चलाउने पत्रकार एकल सिलवालसँग उनले समन्वय गरे । सिलवाललाई लिएर उनी कान्दा पुगे । यो क्रम निरन्तर जारी छ । उनले कान्दामा तत्कालीन र दिर्घकालीन अन्नबाली तथा फलफूलको कार्यक्रम सुरु गरे । आलु तथा सिमी चाँडै फल्ने भएकाले तत्कालका लागि त्यसैमा जोड गरे । दीघकालीन हिसवाले फलफूलमा जोड दिए । सुरुमा ३२ वटा घर बनाईदिए । बालबालिकाहरुका लागि होस्टेल बनाईदिए ।

छोटो समयमा नै ‘कान्दा’ गाऊँले काँचुली फेर्यो । वेवास्तामा जीवन बिताईरहेका कान्दालीहरु निन्द्राबाट व्यँुझिए । केही गर्नुपर्छ भन्ने सपना जागृत भयो । देश विदेशमा रहेका नेपाली र सहयोगीले उनको अभियानमा साथ दिए । कान्दाको कहर धेरै हदसम्म कम भएको छ ।

अहिले फलफुल, अन्नबाली तरकारी कान्दामै फल्छ । उनको अभियान अझै जारी छ । २०७२ बैशाकमा होस्टेल तयार भयो । बैशाकमा महाभुकम्प आयो । तर उनको होस्टेललाई केही भएन । असार महिनामा उनले होस्टेलको शिलान्यास गरे । होस्टेलमा अहिले १३४ जना बालबालिका र १७ जना स्टाप बस्छन । यही बैशाकबाट २० जना बालबालिका थप्ने योजनामा छन् उनी ।

ती २० बालबालिकाहरुको लागि लत्ताकपडा र युनिफर्ममै ठूलो रकम खर्च हुन्छ । कान्दाको बालबालिकाको लागि वार्षिक १ करोड ३४ लाख खर्च हुने बिष्णु बताउछन् । उनी भन्छन ‘ निश्चित व्याक्तिले अनुदान दिएर यो चलिरहेको छ । जेनतेन हामीले काम गरिरहेका छौँ ।

ठूलो डोनर नभएर हामी समस्यामा छौँ । अहिले हामी २० लाख माइनसमा छौ । एक जना बच्चाको लागि वार्षिक ८१ हजार खर्च हुन्छ । तरकारीहरु किन्नुनपर्ने भएकाले ३० हजार त्यसमा माईनस हुन्छ ।’ बालबालिकाहरु पढाउन उनले ‘साथीको लागि साथी’ ‘फुड फर डे’र अन्य डोनेशनहरुबाट सस्था चलाइरहेका छन । दाताहरुले कान्दाको बालबालिकारुको लागि ती अभियानहरुमा सहभागी भएर सहयोग गर्न सक्नेछन् ।‘

बालबालिकाको भविष्यको लागि धेरै सहयोग आवश्यक छ । काम गर्नको श्रोतको लागि अभाव छ ।’ उनले भने–‘ सबैले सानो सहयोग गरेमा उनीहरुको भविष्य बन्छ । उनीहरुले देशको मुहार फेर्न सहयोग गर्नेछन् । कान्दामा काम गर्दै जादा उनले चेपाङहरुकै लागि अर्को सपना देखिरहेका छन् । उनको सपना गज्जबको छ ,‘ओडार देखी रिर्सोटसम्म ’ । अर्थात चेपाङ वस्तीमा पर्यटक लैजाने, गिठ्ठा भ्याकुर बेचेर चेपाङवस्तीका लाई डलर आर्जन गर्ने सक्ने बनाउने उनको लक्ष्य छ ।

उनी भन्छन ‘ती असल मानिसहरुको उन्नती गर्नको लागि होमस्टेको अवधारण अघि सारेको छु । गाउमै उत्पादन भएको गुन्द्रुक, ढिंडो र जंगलमा पाउने गिठ्ठा भ्याकुरले पर्यटकलाई रामै्र आर्कषण गर्छ ।’ समाजसेवाका लागि सहयोगीबाट आउंने सहयोग मुख्य स्रोत हो । उनले पछिल्लो समय काभे्रमा भएको जग्गामा खेतीपाती र बाख्रा पालन गरेका छन ।

काभे्रको अनेकोटमा रहेको रिर्सोट, सुन्धारामा रहेको स्वान्जी ट्राभल्स र रियलस्टेटबाट कमाएको सम्पत्ति सकिसकेको उनको भनाइ छ । भुकम्पपछि उनी सहयोग अभियानमा जुटे । देशविदेशबाट उनको प्रतिष्ठानमार्फत सहयोग आएको थियो । नेपालीहरु मनकारी रहेको उनले समाजसेवामा लागेपछि महशुस गरेका छन् । उनले काभ्रेको शिवालय गाविसमा भुकम्प पीडितका लागि ३१ वटा घर बनाइसकेका छन् । घर निमार्णको नेतृत्व मञ्जु संग्रौलाले गरिहेकी छिन् । उनको प्रतिष्ठानमा स्वयंसेवा गर्न आउने युवायुवती देख्दा उनलाई लाग्छ, ‘नेपालीको हृदय विशाल छ । मात्र यसलाई राज्यले संगठित गर्न सकेको छैन ।’

वियोगबाट शुरु भएको उनको कथा सन्तुष्टिमा पुगेर सकियो । आँशु ओभाइसकेको थियो । मुहारमा मुस्कान छाउँदै गरेको प्रष्ट देखिन्थ्यो । बिष्णुले आफुलाई मैनबत्तीसँग तुलना गरे । ‘पेलिएर मैन बन्छ । मैन आफु जलेर अरुलाई उज्यालो दिन्छ । मपनि एउटा मैन हुँ ।’ बिष्णुवाणी पछिसम्म गुन्जिरह्यो ।

 सागर बुढाथोकी

bishnu gautam kandha laxmi pratisthan social worker