Breaking News भिडियो

पहिलो पटक आकाशमा जहाज उडेपछि गाईबस्तु कराउन थाले, केटाकेटी रुन थाले (भिडियोसहित)

पहिलो पटक आकाशमा जहाज उडेपछि गाईबस्तु कराउन थाले, केटाकेटी रुन थाले (भिडियोसहित)


चैत २९ । सय काटिसक्नु भएकी हजुरआमा डम्बरकुमारी ढकाललाई आफ्नो उमेर ठ्याक्कै याद छैन । ७८ वर्षीया बुहारी अम्बिकादेवी ढकालका अनुशार उहाँले सय वर्ष पार गरिसक्नु भयो । ओखलढुंगामा जन्मनु भएकी डम्बरकुमारी ढकालका चार जना त जनातिनीहरु छन् । जनाति/जनातिनी भनेको नाति/नातिनीका पनि नाति/नातिनी हुन् ।

 


नेपालआज बृद्ध हजुरामा डम्बरकुमारी ढकालको निवास भक्तपुर बाल्कोट पुग्दा उहाँ छोरातर्फकी जनातिनीसँगै हुनुहुन्थ्यो । पाँच पुस्ता अघिकी डम्बरकुमारी ढकाल र पाँचौं पुस्ताकी पाँच वर्षकी जनातिनी काव्याबीच समयको खाडलमात्रै त्यहाँ देखिएन । ढकाल हजुरामाका एक एक कुरा सुन्दा यो बीच नेपाली समाजले फेरेको अनुहार पनि प्रष्ट देखियो ।

उहाँको कुराबाट नेपाली समाजले धेरै ठूलो छलाङ मारेको महशुस हुन्छ । पाँच सात वर्षको उमेरमा बालिकाहरुको बिहे हुन्थ्यो । अचेल त्यस्तो भयो भने अखबारमा समाचार बन्छ ।

 


ओखलढुंगामा जन्मनु भएकी उहाँको स्मरण बडो रोचक पनि छ । केही रोचक किस्सा यस्ता छन्ः

► पहिलो पटक ओखलढुंगाको आकाशमा हवाई जहाज उडेको देखियो । त्यस्तो अनौठो जिनिस के आयो भनेर सबैले आश्चर्य मानेर हेर । गाईवस्तु कराउन थाले । बालबालिका रुन थाले । सबै मानिसहरु काम छाडेर आकाश तिर हेर्न लागे । मलाई चाही मेरो बाले आकाशमा उड्ने जहाज मान्छेले बनाइसकेका छन् भन्नु भएको थियो ।

 

► छ आनाको सुका हुन्थ्यो । पाँच आनाको त्रिशूल भको डबल हुन्थ्यो । पाँच आना माना मेथी, नौनी घिउ पाइन्थ्यो । एक मोहोरमा बाख्राको पाठा, १२ पैसा जोर परेवा बिक्री हुन्थ्यो । त्यो बेला मान्छेसँग पैसा कम थियो । अचेल धेरै छ ।

 

►आठ वर्ष नकटाई छोरीको बिहे गरिदिनु पर्छ भन्थे । सबैको त्यस्तै उमेरमा बिहे हुन्थ्यो । मेरो ठाइँली नन्दको ११ वर्षको उमेरमा बिहे भयो । सबैले बुढी बेहुली भने । नानी पाउन नसकेर पनि कति मर्थे । अचेल सानैमा बिहे गर्ने चलन हरायो ।

 

► पहिले नै, सेर्नामा पति मरेपछि एक जना महिलालाई सति लगेछन् । उ त भागिछ रे । बयरको झाङमा लुकिछ । खोज्नेले भेटेनन् । मार्न पाएनछन् । पछि उसलाई घर बनाएर राखेको कुरा हुन्थ्यो । त्यो घरलाई सतिको घर भन्थे मान्छेहरुले ।

 

► छोरीले पढ्न हुँदैन, पढे बोक्सी हुन्छ भन्थे । बाले चाहिँ ‘छोरीले पनि पढ्न हुन्छ’ भनेर पढ्न बोलाउनु हुन्थ्यो । हामी त डरले भाग्थ्यौं । कापी कलम थिएन त्यो बेला । धुलोमा अक्षर चिनेको । कोदो भुटेर मसी बनाइन्थ्यो ।

 

► एउटा बाहुनले रक्सी खाएछ । रक्सी खाएको थाहा पाएपछि त्यसलाई समाजले काढेछ (बहिष्कार) । पछि थाहा भएछ त्यो मान्छे त धेरै ठूलो महाजनको छोरो रहेछ । अनि समस्या लिएर त्यो मान्छे मेरो बा भए ठाउँ आयो । बाले अतिरुद्री गर्नु, धेरै बाहुन बोलाउनु र म आएर तिम्रोमा भात खाइदिउँला भन्नु भयो । गएर खाई दिनु भयो । त्यसपछि बल्ल त्यसलाई समाजले स्वीकार गर्यो । अहिले त रक्सी पञ्चामृत भन्दा बढ्ता भयो ।

 

► देवी भागवतमा सबै जातका मान्छे एउटै हुन्छन् यो कलियुगमा भनेर लेखेको छ । नभन्दै हेर्नु त अहिले पानी चल्ने, नचल्नेसबै जात एकै भइ त हाले । शास्त्रमा लेखेको ठीक हुँदो रहेछ ।