कभर स्टोरी भिडियो सफलताको कथा

म पनि लाहुरेको छोरी हुँ, बिग्रेकी छु त ? (भिडियोसहित)

कञ्चन न्यौपाने

म पनि लाहुरेको छोरी हुँ, बिग्रेकी छु त ? (भिडियोसहित)

 

मिस नेपाल भन्ने बित्तिकै औसत मानिसको दिमागमा एउटै कुरा आउँछ । ‘सिटी गर्ल’, ‘ग्लामरस गर्ल’, सुन्दरता आदि इत्यादि । कतिपय समयमा यस्तो पनि हुन्छ कि मिस नेपाल भएर अनुहार पूर्ण रुपमा राम्रो भएन भने मानिसहरु कुरा काट्न थाल्छन्, ‘यस्ती पनि मिस नेपाल !’ ।

नेपालमा सुन्दरीहरुले गर्ने काम सिमित छन् । कोही मोडलिङ गर्छन्, केहीले चलचित्रमा पनि काम गरेका छन् । कोही कोही बिहे गरेर घरजम गर्छन । विदेश जाने, समाज सेवा गर्नेहरु पनि छन् । मिस नेपाल भइसकेकाहरुले गर्नै पर्ने र गर्नै नहुने कामको कुनै सूची छैन । तर ग्ल्यामरको दूनियाँ भएकोले धेरैले रोज्ने भनेको फिल्म, मोडलिङ आदि हो । मोडलिङ र फिल्मको दुनियाँबाट टाढै रहेकी र तुलनात्मक रुपमा कम चर्चामा आउन रुचाउने सुन्दरी हुन् सुबिन लिम्बु । सन् २०१४ मा नेपाल सुन्दरीको ताज पहिरिएकी ‘सिम्प्ली द बेस्ट गर्ल’ सुबिन लिम्बुको स्टाइल सरल र फरक छ ।

पूर्वको सुन्दर नगरी धरानकी रैथाने सुबिनले बाल्यवस्थामा जीवनमा यो वा त्यो बन्ने कुनै सपना बुनेकी थिइनन् । सर्लक्क परेको शरिर, सुन्दर अुनहारका कारण सुबिन बालबालिकामा पनि ‘क्यूट’ मै पर्थिन् । अनुहार त राम्रो थियो, सबैलाई थाहा थियो । अनुहार ब्यूटी भएर मात्रै जीवनमा धेरै गर्न सकिँदैन । पढेको पनि हुनु पर्छ । हिजो आज बौद्धिक र सुन्दर अनुहार भएकाहरुको तारिफ गर्दा ‘ब्यूटी विद ब्रेन (इन्टेलिजेन्स)’ भन्ने गरिन्छ ।

सुबिनकी आमाले पनि त्यही नै भन्थिन् । तर शैली भिन्न थियो । उनले भन्ने गर्थिन्, ‘बोक्रा मात्रै राम्रो भएर हुँदैन । गुदी पनि हुनुपर्छ ।’ अर्थात अनुहारले मात्रै पुग्दैन । पढ्नु पनि पर्छ ।

बुवा ब्रिटिस सेनामा थिए । सेनाका मान्छेलाई मार्सल आर्ट सिकाउने गरिन्थ्यो । बाबुको प्रेरणाले उनले मार्सल आर्ट पनि सिकिन् । एसएलसी सकेपछि काठमाडौं आइन् । विज्ञान पढ्ने इच्छा छाडेर धरान फर्किन् । व्यवस्थापन पढ्न थालेपछि धेरैले विज्ञान नछाड्न सुझाव दिएका थिए । त्यसैबीच उनी मिस नेपाल २०१४ मा सहभागी भइन । टाइटल नै जितिन् । उनको एक पहिचान बन्यो ।

सुबिन सुन्दर त छँदै छिन् । तर उनी आफै भने मिस नेपाल हुन सुन्दरताले मात्रै नपुग्ने बताउँछिन् । उनले भनिन्, ‘सुन्दर अनुहार मात्रैले मान्छेलाई पूर्ण भन्न मिल्दैन । ’ मिस नेपालमा बौद्धिकताको राम्रो मापन हुने सुबिनको अनुभव छ ।

मिस नेपाल भइसकेपछि उनले धेरै मानिसहरुको मनसाय नजिकबाट बुझ्ने मौका पाइन् । लाहुरेकी छोरी र बाबुआमा दुबै बेलायतमा भएकाले उनलाई अरुले बेलायतमा हुर्केर आएकी, अंग्रेजी राम्रो भइहाल्छ मिस नेपाल त भइहाल्छे नी भनेर धेरै टिकाटिप्पणी गरे । सुबिनको पढाई बेलायतमा होइन नेपालमै भएको थियो । मिस नेपाल हुने बित्तिकै मानिसहरुले मोडलिङ अथवा हिरोइन भनेर सोच्ने गर्छन् । तर, यो विषयमा सुबिनको विलकुल फरक मत छ । समाजमा फरक ढंगबाट केही दिन सक्छु कि भन्ने मनासायले नै आफू समाजसेवातिर लागेको उनले बताइन् । मोडलिङ र फिल्मका विभिन्न अफर आए पनि आफ्नो चासो र लगाव त्यो क्षेत्रमा नभएको कुरामा उनले जोड दिइन् ।

उनी अहिले ब्रिटिस गोर्खा काउन्सिल नाम गरेको गैर सरकारी संस्थाको अध्यक्ष छिन् । वीर गोर्खालीको यो देशप्रतिको योगदानलाई सधैं उजागर राख्नका लागि यो संस्थाको स्थापना भएको सुबिनले जानकारी दिइन् । ब्रिटिस गोरखा काउन्सिल भन्नेबित्तिकै त्यो लाहुरेकै छोरा छोरीको लागि हो भन्ने सोच आम जनतामा भएपनि यो संस्था सबै नेपाली जनताको लागि भएको उनले बताइन् । कलाकारिता, साहित्य, पत्रकारिता , संगीत र खेलकुदको क्षत्रलाई उक्त संस्थाले ब्रिटिस गोर्खा अवार्ड पनि दिने गरेको जानकारी गरिन् ।

लाहुरेको छोराछोरी धेरै बिग्रेको हुन्छन् भन्ने सामाजिक टिप्पणीको प्रश्न खस्न नपाउँदै उनले भनिन्, ‘कुनै सन्दर्भमा त्यो सम्भव होला तर सबै लाहुरेका छोराछोरी बिग्रेका हुँदैनन् । म पनि लाहुरेको छोरी हुँ । खै म बिग्रेको छु ?’

मिस नेपाल भइसकेपछि मिडियामा नछाउँदा मिस नेपाल हरायो भन्नेजस्ता प्रश्न पनि उठ्छन् । यो विषयलाई खुलस्त बनाउँदै उनले सबैलाई मिडियामा आउन मन नलाग्ने र आफ्नो आफ्नो ठाउँबाट केही न केही गरिरहेको हुने उनले बताइन् । क्यामराको अघिमात्र आएर काम गर्नुपर्ने आवश्यक नभएको उनको व्यक्तिगत धारणा छ ।

मिस नेपाल संघर्ष र संयोगले प्राप्त हुने उपाधि हो । यो उपाधिलाई मानिसहरुले हल्का रुपमा लिने गरेकोमा उनको गुनासो छ । विदेश जाँदा ट्रान्जिटमा रोकाइदिने, कार्यक्रम गर्न जाँदा सामानहरु धेरै हुने भएकाले त्यसको लागि अन्य खर्च पनि आफैंले जुटाउनुपर्ने जस्ता यावत समस्याहरु भएको उनले बताइन् । नेपाललाई विश्वसामु चिनाउँदा पनि राज्यले मिस नेपाललाई राष्ट्रिय स्तरको सम्मान नदिएकोमा उनले गुनासो पोखिन् ।

फुर्सदको समयमा पढ्न, कुकिङमा र एक्सर्साइज गर्न रुचाउँने सुबिन मानिससँग छिटै घुलमिल हुन्छिन् । मनोरञ्जन दिने फिल्म त्यति नरचाउने सुबिन डकुमेन्ट्री भने हेर्ने गरेको बताउँछिन् । सौगात मल्ल, दयाहाङ राई सुबिनका मन पर्ने कलाकार हुन् । राजेश हमालसँग एक पटक भेट्न मन लागेको उनले सुनाइन । सुबिनको मूल्यांकनमा पल शाह उदायीमान कलाकार हुन् ।

प्रेम सम्बन्धबारेको जिज्ञासामा उनले भनिन्, ‘म म अफेयरमा छु । पात्र चिनाउने बेला भएको छैन ।’ खेलकुदको चस्का पसेकोले सुबिन फिटनेसमा ध्यान दिन्छिन् । तर फेसनको मामिलामा उनी आफूलाई जिरो ठान्छिन् । किनमेलका लागि दरबारमार्गका ब्रान्डेड सामानदेखि असनका गल्ली सबै तिर उनी पुग्छिन् ।

 

miss nepal 2014 subin limbu