खेल

नेपाली क्रिकेटको विवादको बैठकमा आईसीसीका ग्लोबल हेड काठमाडौं अाइपुगे

नेपाली क्रिकेटको विवादको बैठकमा आईसीसीका ग्लोबल हेड काठमाडौं अाइपुगे

फागुन–७ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनाराइट नेपाल आइपुगेका छन् । नेपाली क्रिकेटको विवाद समाधानलाई बनेको सल्लाहकार समितिसँगको बैठकका लागि उनी शुक्रबार साँझ काठमाडौं आएका हुन् । सेप्टेम्बर अन्तमा टिम एन्डरसनको स्थान लिएका ग्लेनराइट पहिलो पटक नेपाल आएका हुन् । उनीसँगै आईसीसीका लेखा शाखाका प्रमुख अमर शेख पनि आएका छन् । सल्लाहकार समितिको बैठक शनिबार र आइतबार सोल्टी होटलमा बस्ने कार्यक्रम छ । त्यस बाहेक आईसीसी टोलीले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित टोलीसँग भेट्ने कार्यक्रम छ । क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएको जनाउँदै आईसीसीले धारा २.९ मिचेको भनी वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले २०१४ को अन्तदेखि नै क्यानलाई दिँदै आएको सबै अनुदान थियो । नेपाली क्रिकेट टिमलाई भने आईसीसीका प्रतियोगिताहरु खेल्न छुट दिइएको छ । तयारीक्रममा रहँदा र खेल्दा लाग्ने खर्च आईसीसीले नै उपलब्ध गराउँदै आएको छ । ‘बैठकमा नयाँ बन्ने विधानबारे छलफल हुनेछ,’ सल्लाहकार समिति सदस्य रोहित दाहालले भने,‘वकिल नियुक्तिको निर्णय भने बैठकमै हुनेछ ।’ सल्लाहकार समितिले दुई वकिलको नाम प्रस्ताव राखिसकेको र त्यसमा छलफल हुने बताइएको छ । नेपाल र केन्याबीच हुन लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबारे आईसीसी टोलीले अनौपचारिक रुपमा सरोकार वालाहरुसँग पनि छलफल गर्नेछ । खेल फागुन २८ र ३० गते हुँदैछ । गत वर्ष नेपाली क्रिकेटको दुई समानान्तर संघ भएपछि विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आफ्नै रोहवरमा आयोजना गरेको थियो । क्यान पूर्ण रुपमा निलम्बन रहेको अवस्थामा आईसीसीले अहिले पनि आफैं आयोजक बनेर खेल आयोजना गर्न लागेको हो । –कान्तिपुर दैनिकबाट

आईसीसी क्रिकेट नेपाल हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनाराइट