कभर स्टोरी भिडियो समाज

अरुले यात्रा टुंग्याउँछन्, यहाँ पुग्नेले शुरु गर्छन् (भिडियोसहित)

अरुले यात्रा टुंग्याउँछन्, यहाँ पुग्नेले शुरु गर्छन् (भिडियोसहित)


जोरपाटीको नारायणटार चोकैमा रहेको नेपाल अर्थोपेडिक अस्पतालको गेट भित्र प्रवेश गरेपछि त्यहाँ एउटा सानो बंगला देखिन्छ । बाहिरबाट हेर्दा सामान्य लाग्ने भवन भित्र फरक लाग्छ । हुनलाई अस्पताल भए पनि भित्री सजावट आम अस्पतालको जस्तो लाग्दैन । भवनको बाहिर प्रांगणम झुण्ड्याइएको मुटु आकारको ठूलो निलो सेतो बोर्डमा निलो अक्षरमा लेखिएको छ –बिआइए फाउन्डेसन । अर्थात् ‘बोधिसत्भास इन एक्सन’ ।

यो भवनभित्र प्रवेशपछि इच्छाशक्ति र आत्मवलको एकमुष्ठ दृश्य देख्न सकिन्छ । बिआइए फाउन्डेसनको यस भवनभित्र धेरै मानिसहरु छन् जो शारीरिक रुपले अशक्त सरह छन् । तर आत्मविश्वासका कारण उनीहरुले त्यो अशक्ततालाई पराजित गरेका छन् । यहाँ दृष्टिविहीन, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका धेरै छन् ।

भित्ताभरी सजाइएको ट्रफी र हस्तकलाका सामानहरुले त्यहाँ जाने जो कोहीको ध्यान तान्छ । त्यहाँ भएका शारीरिक रुपमा अशक्त व्यक्तिहरु कुनै सामान्य मानिस भन्दा कम थिएनन् । कोही हस्तकला बनाउनमा व्यस्तत थिए, कोही धूप बनाउनमा या बाँसका डोका डाला बनाउनमा व्यस्त देखिन्थे । सबैका अलग अलग कला थिए । कलाअनुसार थियो काम गर्ने वातावरण पनि ।

कहिलेकहीँ मानिसहरुमा गुण र केही गर्ने क्षमता हुँदा हुँदै पनि आवश्यक अवसरहरु नपाउने रहेछन् । जतिसुकै काम गर्ने जोस र जाँगर भएपनि काम गर्ने ठाउँ र वातावरण बिना त्यो काममा खटिएको केही काम लाग्दैन । जोरपाटीको नारायणटारस्थित बिआइए फाउण्डेसनले भने शारीरिक रुपमा अशक्त त्यस्ता धेरै व्यक्तिहरुलाई सिपमूलक तालीम प्रदान गर्ने गरेको छ ।


सस्ंथामा सयजना भन्दा बढि व्यक्तिहरु उत्पादनमुलक काममा क्रियाशिल छन् । उनीहरुको लागि सिप सिक्न र उचित रुपमा सिपको प्रयोग गर्न उक्त संस्था एक गतिलो माध्यम बनेको छ । भनिन्छ, ‘खाली दिमाग नै सैतानको घर हो ।’ ‘शारीरिक रुपमा अशक्त मानिसहरु घरमा मात्र बसेर सिमित हुँदा दिमागमा अनावश्यक कुरा खेल्नु भन्दा यहाँ आएर उनीहरुले केही कुरा सिक्नुको साथै जीवनलाई नयाँ ढंगबाट सुरुवात गर्न सक्छन्’, बिआइएका सचिव छिरी शेर्पा भन्छन् ।

छिरी आफैँ पनि शारीरिक रुपमा अशक्त छन् । उनको मेरुदण्डको समस्याका कारण अहिले उनी ह्वीलचेरमै सिमित छन् । तर, उनी त्यसमै मात्र अल्झिएर बसेका छैनन् । यसर्थ उनी बिआइए फाउण्डेसनमा शारीरिक रुपमा अशक्त मानिसहरुलाई थान्का पेन्टिङ पनि सिकाउँछन् ।

उक्त संस्थाको स्थापना छोग्यल रिम्पोचेले गरेका हुन् । यो गैरसरकारी संस्था हो । शारीरिक रुपमा अशक्त र परिवार र समाजबाट बोझ मानिएका व्यक्तिहरुलाई यस संस्थाले आश्रय दिने गरेको छ । आश्रयको साथसाथै यस संस्थाले उक्त व्यक्तिहरुलाई उचित तालिम दिएर उनीहरुमा भएको क्षमताको विकास गर्ने काम पनि गरेको छ ।

संस्थामा अहिले आठ किसिमका व्यवसायिक तालिमहरु दिइन्छ । तिब्बतीयन थान्का, एप्लिक थान्का, मूर्ति, बेम्बो, इन्सेन्स, टेलरिङ, पस्मिना र अर्गानिक फार्मीङ ।

यो सबै तालिम पनि उनीहरु आफैले सञ्चालन गर्छन् । उनीहरुले उत्पादन गरेका सामानजस्तै धूप, थान्का, एप्लिक, बाँसका डोका डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु सबै बिआइएको भण्डारमा राखिन्छ र मानिसहरु आएर मन परेका सामानहरु खरिद गरेर लैजान्छन् । बाहिर बजारमा भने बिक्री वितरण गर्ने गरेका छैनन् ।

संस्थाबाट त्यहाँका मानिसहरुलाई ह्वीलचेयर डान्स, ह्वीलचेयर बास्केटबल, ह्वीलचेयर टेबल टेनिसजस्ता खेलहरुमा पनि सहभागी गराइने कुरा सचिव छिरि लामाले जानकार गराए । खेलहरुमा विजयी हासिल गरेर अहिले कार्यालयका भित्ता ट्रफी र मेडलले सजिएका छन् ।

यो संस्थाको स्थापना सन् २०१४ मा गुरु छोग्यल रिम्पोचेले गरे । संस्थाको स्थापना अघि रिम्पोचेले संसारका विभिन्न देशमा धेरै कार्यक्रमहरु गरे । उनले काम गरेका प्रोजेक्ट मध्येमा चाबहीलमा रहेको अनाथ आश्रम पनि एक हो । जुन उनले करिब १२ वर्ष अघि स्थापना गरेका थिए । उक्त आश्रम अहिले सोयम्बुमा छ । यसका साथै गुरु रिम्पोचेले भारतको कालीम्पोङमा रहेका असहाय बालबालीकालाई संगीत संस्थाको पनि स्थापना गरिदिएका छन् ।

यसका साथै उनले तिब्बतमा तिबेतियन मेडिकल संस्थाको पनि स्थापना गरेका छन् । बीआइएमा हाल तालिम प्राप्त गरेर सिपमूलक काममा कार्यरत भइरहेका धेरै शारीरिक रुपमा अशक्त व्यक्तिहरु रिम्पोचेको महिमा गाएर थाक्दैनन् । रिम्पोचेले काम पनि त त्यस्तै प्रेरणादायी गरेका छन् । त्यसकारण उनको प्रशंशा नगरुन् पनि कसरी । सामाजिक कार्य गर्नेहरुो लागि एक जीवन्त उदाहरण र प्रेरणाको स्रोत बनेका छन् छोयगल रिम्पोचे । उनलाई विशवास छ की त्यस संस्थामा कार्यरत सबैजना एकदिन अवश्य सफल कूचिकार बन्छन् ।

–कञ्चन न्यौपाने

bia foundation chogyal rinpoche