कभर स्टोरी भिडियो

जीतबहादुर नेपालको संर्घषशील कथाः तरकारी पसलेदेखि चर्चित कलाकारसम्म (भिडियो सहित)

जीतबहादुर नेपालको संर्घषशील कथाः तरकारी पसलेदेखि चर्चित कलाकारसम्म (भिडियो सहित)


सिन्धुपाल्चोक ज्यामिरेको ठूलो परिवारमा उनी जन्मिए । ५ जना दाजु र एक दिदीका कान्छा भाइ उनलाई घरमा लाडप्याड नै थियो । पहाडको मध्यम बर्गीय परिवारमा खानलाउनको दुःख दिएन तर काम नगरी सुखै थिएन । खेतबारी र बनपाखाको काममा सानैदेखि जोतिनु सामान्य मानिन्थ्यो । उनी एक भारी घाँस काटेरमात्र विद्यालय जान्थे । जीतबहादुर नेपाल उनको प्रिय नाम थियो ।

एसएलसी पासको खुशी र घमण्ड


२०४७ सालमा चाल्पा माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । एसएलसी पास गरेपछि उनको सान अर्कै भयो । २५/२६ बर्ष अघि उनको गाऊँमा एसएलसी पास गर्नुपनि ठूलै कुरा थियो । त्यसमाथि घरको काम गर्दै एसएलसी गर्नु चानचुन मानिदैनथ्यो ।

‘घाँस काट्ने, गाई चराउने, कान्ला फाड्ने सबै काम गरेर जीतबहादुरले एसएलसी गर्यो, तिमीहरु भने....’ गाऊँघरकाले छोराछोरीलाई सम्झाउन वा गाली गर्न परे उनको उदाहरण दिन थालिसकेका थिए । छोटो कदका उनी छरिता थिए । चिनेजानेकाहरु उनलाई ‘जस्तो ज्यान, उस्तै बान’ भनेर जिरे खुर्सानी सँग तुलना गर्थे । आफुलाई तिख्खर छ भन्दा उनी भित्रभित्रै दंग पर्थे ।

उनले आफैंले भोगेका अनुभव नै उनको कलाकारिताका लागि कालान्तरमा मसला भने । जिरे खुर्सानी नामक टेलिसिरियलले जितु नेपालको परिचय व्यापक बनायो जहाँ उनी एसएलसी पास गरेको मुन्द्रेका रुपमा प्रस्तुत भए ।

jitu-nepal-nepalaaja-2 उच्च शिक्षा र काठमाडौं प्रवेश


एसएलसी पछि उच्च शिक्षाको लागि गाऊँ छाड्नै पर्ने भयो । मेलापात गर्दै, घर परिवार, साथीभाइ र छिमेकीसँग गफिदै पढ्न नपाइने भयो । कम्तिमा पनि चौतारामा डेरा लिएर बस्नुपर्ने भयो ।

उनले मन मनै सोचे, ‘क्याम्पस पढ्न गाऊँ छोड्नै पर्ने भयो, चौतरा बसेपनि काठमाडौं गएपनि भाडामा बस्नै पर्ने भयो । बरु काठमाडौं जान्छु ।’ गाऊँले परिवेशमै रमाएका जीतबहादुरले काठमाडौंका बारेमा अनेक सपना बुन्न थाले । काठमाडौं गएर केही गर्ने अठोट लिए । उनलाई यही बन्छु भन्ने केही थिएन । मात्र, केही गर्छु भन्ने थियो । यही अठोटका साथ उनी काठमाडौं हानिए जहाँ उनको कोही थिएन ।

काठमाडौंको सुरुवाती यात्रा


एसएसली पास गरेपछि उनले गाऊँमा एक हिसावले नाम कमाइ सकेका थिए । उनलाई पनि के के न गरेँ भन्ने परेको थियो । ‘यति पढेपछि काठमाडौंमा के को समस्या ?’ यही आत्म विस्वासले उनलाई काठमाडौं जाने हुटहुटी जगाएको थियो । एसएलसी पास भएको गर्वसहित उनी २०४८ सालमा काठमाडौं छिरे ।

काठमाडौं उनले सोचेजस्तो रहेनछ । जागिर खाने, कमाइ गर्ने र सँगै पढ्ने उनको सपना कठीन बन्दै गयो । ‘जाबो एसएलसी पास गरेकोलाई के को जागिर ?’ उनलाई पहिलो गासमै ढुंगा लाग्यो । गाऊँमा बैस्सरी गनिएको उनको पढाइ काठमाडौं पुग्दा नपुग्दै फुस्सा भइसकेको थियो । एकातिर पढाइ कम थियो । अर्को तिर हाइट कम भयो ।

मान्छेले उनलाई गन्दै नगन्ने । ‘यस्तो फुच्चेले के जागिर गर्ने ?’ यस्ता प्रश्नले उनलाई च्वास्स घोच्ने गथ्र्यो । उनको एक मनले सोच्यो ‘दुनियाँ टेन्सन लिनु भन्दा गाऊँ जानु बेश ।’ अर्को मनले भन्यो, ‘फर्कदा गाऊँमा भएको इज्जत पनि जान्छ । यहाँ बरु जे सुकै होस् ।’ अन्ततः उनी काठमाडौंमै संर्घष गर्ने निधो गरे । केही नगरी नफर्कने अठोट लिए ।

संघर्षको सुरुवात


रोजे र खोजे जस्तो काम नपाएपछि उनको जीबनले अर्कै मोड लियो । भीषड संघर्षका दिन सुरु भए । बाबुआमासँगै आफ्नै खेतीबारीमा काम गरेजस्तो काठमाडौंमा एक्लै संर्घष गर्नु सहज थिएन । तरकारी पसल खोले । काठमाडौं सुतेकै हुन्थ्यो । उनी साइकल टिपेर कालीमाटी पुग्थे । छोटो कदका उनी आफुभन्दा अग्लो भारी साइकलमा हालेर फर्कन्थे ।

तरकारी पसल एक्लै चलाउन उनलाई हम्मे हम्मे भयो । त्यसपछि जागिर खोज्न थाले । गार्मेन्ट कारखाना, पसलको पाले आदि इत्यादि सबै काम गरे । उनी के खोजिरहेका थिए, उनलाई नै पत्तो थिएन । मन पनि स्थिर भइरहेको थिएन । यस्तैमा उनी चाबहिल चुच्चेपाटीस्थित सुफतमूल्य पसलमा काम गर्न थाले । कलेज नजिकै भएकाले सुपथ मूल्य उनका लागि सहज भएको थियो । तर, यही पसल नै उनको कलेज छुटाउने माध्यम र कलाकारितासँग जोड्ने माध्यम बन्यो ।

कलाकारिताको यात्रा


सुपथ मूल्य पसलकी साहुनी सरस्वती शर्मा नेपाल टेलिभिजनमा काम गर्थिन । टेलिभिजनको पहुँच गाऊँघरतिर विस्तार हुँदै थियो । जितबहादुरको गाऊँ ज्यामिरेपनि टेलिभिजन पुगेको थियो । टेलिभिजन हेरेको भनेपछि भिन्दै शान हुने समय थियो । त्यस्तो बेला उनी टेलिभिजनमै काम गर्ने साहुनी उनले जो पाएका थिए । उनीसँग चिनाजानी भएपछि फरासिला जीतबहादुरले आफूलाई पनि टेलिभिजनमा देखिने रहर भएको जनाए । ‘गाऊँमा भर्खर टिभी पुुगेको छ म पनि टिभीमा देखिन चाहन्छु कसैलाई भनिदिनु न’ जीतबहादुरले साहुनीसँग आग्रह गरे ।

सरस्वतीले त्यतिबेलाको चर्चित टेलिश्रृखंला हिजोआजका कुराका निर्देशक तथा निर्माता सन्तोष पन्तसँग कुरा राखिदिइन् । २०४९ सालको अन्त्यमा उनले काँचको पर्दामा पाँच सेकेण्ड देखिने मौका पाए । जीतबहादुरमा खुशीको सीमा रहेन । यही पाँच सेकेण्ड जीतबहादुरका सन्दर्भमा कलाकारिताका लागि खोलिएको खाता भयो । त्यसयता उनले सो खातामा हजारौँ घण्टा डिपोजिट गरिसकेका छन् । बाँकी जीबन नै सर्मपित गरेका छन् ।

Jitu_Nepal

उनी कलाकार हुनलाई टेलिभिजनमा देखिएका थिएनन् । गाऊमा देखाउनलाई मात्र खोजेका थिए । कहिलेकाहीं सानो तिनो भुमिका पाइहाल्थे । कहिले पाउँदैनथे । भुमिका पर्खेर बस्नुपथ्र्यो तरपनि मज्जै थियो । नेपाल टेलिभिजनमै ट्वाक्क टुक्क भन्ने कार्यक्रम सुरु भयो । त्यसमा उनले काम गर्ने राम्रो अवसर पाए । त्यहीँ काम गर्ने क्रममा उनले दिनेश डिसी लगायत धेरैलाई भेटे ।

दिनेश डिसीले उनको नाम लामो भएको भन्दै छोट्टाएर राखिदिए, ‘जीतु नेपाल’ । नाम परिवर्तनसँगै उनको मन पनि परिवर्तन भयो । ट्वाक्क टुक्कमा काम गर्दै जाँदा उनले काम सिक्ने र धेरै मान्छेहरुसँग चिनजान गर्ने मौका पाए । कलाकारितामै केही गर्ने मन बन्दै गयो । रहरले जोडिएको कलाकारितामा उनको लगाव बढ्दै गयो । विस्तारै उनी हास्य कलाकारका रुपमा चिनिन थाले । ५/७ बर्ष बित्दा नबित्दै उनी कलाकारिताबाट अलगिन नसकिने गरी लिप्त भइसकेका थिए ।

सक्रिय कलाकारिता


जोडी कलाकार जमेको बेला थियो त्यो । मदनकृष्ण र हरिबंशको जोडी धेरैका लागि आर्दश बनेको थियो । कलाकारितामै सर्मपित हुने र यसैबाट जीबन चलाउँने निधो गरेपछि जितुका लागि केही नयाँ नगरी भएको थिएन । यस्तैमा उनको संगत दमन रुपाखेतीसँग बाक्लियो । यी दुईको जोडीपनि जम्न थाल्यो । सँगै गाईजात्रा र विभिन्न स्टेज कार्यक्रम गर्न थाले । आर्थिक स्तर पनि केही उकासिन थाल्यो । छाकको चिन्ता दूर हुँदै थियो । जसो तसो आइए सम्मको पढाइ पनि पूरा भयो । कलाकारिताका लागि दौडधुप बढ्यो । पढाइको क्रमपनि भङ्ग भयो । उनी कलाकारितामै घोरिन थाले ।

‘बेइमान चालक’ भन्ने टेलिफिल्मको सहायक निर्देशक भए । त्यही टेलिफिल्मबाट उनी विधिवतरुपमा जितु नेपाल भएका हुन् । एक पछि अर्को टेलिसिरियलमा देखिएपछि विज्ञापनमा खेल्ने अफर आउन थाल्यो । पैसापनि आउन थाल्यो । संगीतिक कार्यक्रम ‘गिताञ्जली’ मार्फत जीतु र दमनको जोडीले ठूलै चर्चा बटुल्यो । पछिल्लो समय टेलिभिजन गाऊँ गाऊँ पुग्यो । वैदेशिक रोजगारमा जानेहरुले घरघरमा ठूल्ठूला रंगीन टिभी पठाइदिए । टेलिभिजन नेपालीको अभिन्न पाटो बन्यो । इन्टरनेटले गर्दा टेलिभिजनलाई विश्वव्यापी बनाइदियो । यही मेसोमा उनी जिरे खुर्सानी टेलिसिरियलमार्फत व्यक्त भए । मुन्द्रेको भुमिकामा उनको परिचय र पहिचान स्थापित भयो । ज्यामिरेका जीतबहादुर देशकै नामी कलाकार जीतु नेपाल बन्न सफल भए ।

दमन रुपाखेतीसँगको सम्बन्ध


जीतुले कलाकारिताको सुरुवाती दिनमा नै कलाकार दमन रुपाखेतीसँग जोडी बाँधेर स्टेज कार्यक्रम गर्न थालेका हुन् । करिब दश वर्षसम्म यो जोडीले सँगै रहेर दर्शकलाई मनोरञ्जन दिने काम गर्यो । तर दश वर्ष पछि एकाएक यो जोडि फुट्यो । के कारणले छुट्यो ? अहिले पनि जीतुलाई देशविदेश जाँदा दर्शकले सोध्ने गर्दछन् । यो जोडी एक हल भइ हिडेको हेर्न चाहनेको संख्या धेरै रहेको जीतुले नजिकबाट बुझेका छन् ।

दमनसँग छुट्टिएपछि जीतुलाई एक किसिमको इख पलायो । उनले गाऊँघरमा सुनेका थिए, ‘इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’ जीतुलाई केही नगरी भएको थिएन । उनले दिनरात मेहनत गरिरहे । संयुक्तरुपमा निर्माण भएको छबी एक्लै हुँदा जेपनि हुनसक्छ भन्ने डर पनि थियो, अर्कोतर्फ एकल पहिचान बनाउने अवसर पनि । उनी अवसर छोप्न माहिर दरिए । दमनको एकल काटे स्वभावका कारण सँगै काम गर्न नसकेको जीतुको प्रष्टिकरण छ । एक दशकपछि यो जोडीले एक साथ गाईजात्रा प्रस्तुत गरेर सहकार्यको संकेत गरेको छ ।

हास्य विधाको बेफाइदा


नेपालमा हास्य कलाकार भयो भन्दैमा यसको जीवनमा हाँसो मात्र हुन्छ भन्ने सोच आम मानिसमा हुन्छ । जितु नेपालमा पनि त्यो धारणा धेरै मानिसहरुले राखे । ‘यतिसम्म हुन्छ की राती फोन गरेर मानिसहरु आज घरमा एकदम तनाव भयो, एकपटक हसाँईदे न भाइ भन्छन् ।’ हास्दै उनले अनुभव सुनाए । आफ्नो वास्ताविक जीवनमा दुःख परेको समयमा पनि सबै पीडा भुलेर दर्शक हसाउँनु पर्ने उनले बताए । तर स्टेजमा जाँदा भने बाहिरको कुनै पनि कुरा सम्झिदैनन् उनी ।

हाइट सानो भएर हुन नसकेको माया पिरती


जितु उचाईमा सानो छन् । ‘कतिजनासँग प्रेम गर्नुभयो ?’ उनले हास्दै एकतर्फी मात्र प्रेम गरेको सुनाए । ‘त्यो समय कसैसँग दुई तर्फी प्रेम हुन सकेन । सबै प्रेम एकतर्फी मात्र भयो । मेरो हाइट सानो भएको र गाऊँको दुःख गर्ने म जस्तो केटासँग प्रेम गर्नेहरु भेटिन गाह्रो थियो । ’ प्रेम नपरेकोमा उनलाई कुनै पश्चताप छैन । भन्छन्, ‘आफूलाई मन परेकाहरु आफ्ना भएनन् । मागी विवाह हुन लेखेको रहेछ । भाग्यले मुना जस्ती श्रीमती पाउँन लेखेको रहेछ ।’

कलाकारिताबाट गुमाएको वस्तु


कलाकार जितु नेपाल कलाकारितामा सक्रिय भएर लागेको करिब डेढ दशक जति भइसक्यो । यसमा निरन्तर लागिरहँदा उनलाई एकमात्र चिज गुमाएको भान हुन्छ । उनी भन्छन्, ‘मैले पढाई गुमाएँ । यदि निरन्तर पढेको भए सुनमा सुगन्ध हुन्थ्यो होला । मेरो अंग्रेजी अलि कमजोर छ । पढेको भए अंग्रेजी पनि राम्रो हुने थियो ।’

सानो कद तर उच्च स्वाभिमान


उनी शारीरिक रुपमा छोटो भएपनि व्यवहारमा छिटो छरितो छन् । जे काम पनि टाकटुक मिलाएर गरिहाल्ने उनको बानी छ । उचाई सानो भएपनि उनको स्वाभिमान सधैँ उच्च रहँदै आएको छ । महत्वकांक्षा सदा उच्च छ । काठमाडौंको सुरुवाती दिनमा उनलाई खाजा खाने पैसा समेत हुँदैनथ्यो । मन लागेको चिज खान पाउने र लगाउन पाउने कुरा त परको कुरा थियो । यो सब हुँदा पनि उनले आफ्नो स्वाभिमान गिराउने काम कदापि गरेनन् । ‘नराम्रो काममा कहिल्यै । दुःखका दिनहरुले थप संघर्ष गर्न सिकायो ।’ विगत सम्झदा उनी प्रफुल्ल देखिए ।

काठमाडौंको जडीबुटि नरेफाँटमा उनको आफ्नै घर छ । आफ्नै गाडी छ । देशविदेशमा रहेका नेपालीको माया पाएका छन् । नयाँ ठाऊँमा जाँदा पनि जितु र मुन्द्रे भनेर चिनिहाल्छन् । उनी जति बुढो उती तरुने देखिएको चर्चा हुने गर्दछ । उनीसँगैै गाउँमा गोठालो जाने र स्कुल पढेका साथीहरु अहिले सबै बुढा भइसकेका छन् । ‘के सारो तरुनो देखिनुभाको ?’ प्रश्न सुन्न नपाउँदै उनी आफ्नै पारामा मज्जाले हाँसे, ‘हाइटमा सानो छु, ज्यान पनि धेरै लागेको छैन, त्यसैले पनि होला अलि फुच्चे देखिन्छु ।’ उनले गाऊँको सम्झना गर्दै भने, ‘मलाई गाऊँमा सबैले जीतबहादुर भनेर बोलाउँछन्, बसकी बस भनेर माया गर्छन् । जहाँ गएपनि जरो बिर्सनु हुँदैन भन्ने लाग्छ ।’

interview with jitu nepal nepaaaja with mundre