कभर स्टोरी परिवार

‘यसैलाई ईच्छापत्र मानेर तपाई नयाँ जीबन शुरु गर्न सक्नुहुन्छ’

‘यसैलाई ईच्छापत्र मानेर तपाई नयाँ जीबन शुरु गर्न सक्नुहुन्छ’
satya-pahadi-and-shakti-basnet-nepalaaja अपरिचितका लागि झट्ट हेर्दा उनी साधरण आइमाई मात्र हुन् । अझ भनुँ मात्र केटी । छोटो जिऊडाल, साधरण शैली, सुशील लवज र मेकअपबिनाको मुहारका कारण उनी पहुँच र प्रभावरहित साधरण महिला झैं देखिन्छिन् । तर, जब उनको वास्तविक परिचय खुल्छ, अपरिचतहरु अवाँक हुन्छन् । उनी अर्थात माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य, पूर्व शान्तिमन्त्री, पूर्व सभासद् एंव साहित्यकार सत्य पहाडी । साथी जस्तै छिन् उनकी छोरी संगम । कक्षा बाह्र पास गरिन् । श्रीमान सहयोद्धा हुन् । निवर्तमान गृहमन्त्री शक्तिबहादुर बस्नेतकी जीबन साथी सत्य पहाडी माओवादी जनयुद्धले जन्माएकी एक संर्घषशील नेतृ हुन् । जनयुद्धसँग उनको राजनीतिक सम्बन्ध मात्र छैन, पारिवारिक साइनो पनि छ । जनयुद्धकै शिलशिलामा डोल्पाकी सत्यको जाजरकोटका शक्तिसँग भेट भयो । लुकिछिपी विवाह भयो । भुमिगत अवस्थामा सुत्केरा परिन् । काखे छोरी छाडेर युद्ध मोर्चामा पुनः हाम्फालिन् । जेल परिन् । बाहिर सिमसिम पानी परिरहेको थियो । भैंसेपाटीस्थित निवासको पहिलो तलामा सत्य साहित्यिक शैलीमा जीबनका पोका खोल्दै थिइन् । उनले शुरुमै भनिन्, ‘हाम्रो दाम्पत्य जीबन मार्गदर्शक बन्ला कि नबन्ला तर शिक्षाप्रद जीबन चाहीं पक्कै छ ।’ राजनीतिक जीबनको प्रारम्भ डोल्पा लिकुका उपाध्याय ब्रहामणकी क्षेत्री छोरी हुन सत्य । बुबा गोपीप्रसाद पहाडीले क्षेत्रीसँग अन्तरजातिय विवाह गरेपछि सत्यको स्तर वर्ण व्यवस्थामा खस्कियो । बर्णाश्रम व्यवस्थामा जगल्टिएको त्यो जमानामा क्षेत्रीसँग बिबाह गर्नु बुबाको बिद्रोह थियो । सत्यलाई बिद्रोही पारिवारिक वातावरणले बनायो । माइलो बुबा मोती पहाडी पंचायतकालमा मन्त्री थिए । उनको हैकम गाऊँमा जबरजस्त थियो । सानै उमेरकी किन नहुन्, सत्य माइलाबाको हैकमका बिरुद्ध खुलेर बोल्थिन् । ‘२ कक्षा पढ्दा मैले माओको जीबनी पढेकी हुँ ।’ अध्ययनशील स्वभावकी सत्यले पठन संस्कृतिलाई उजागर गरिन् । दुर्गम ठाऊँकी भएपनि सत्यलाई चेतना विस्तार गर्ने अवसर पारिवारिक माहोलले बनाइदियो । साइला दाइ हरिप्रसाद पहाडी बुढानिलकण्ठ हाइस्कुल, काठमाडौंमा पढ्ने भएकाले नयाँ नयाँ किताब घरमा पुगिरहन्थे । माइलो दाइ नैन पहाडी दाङ पढ्ने । उनको संगत मशालका सँग थियो । नैन दाइले घरमा लगेका माओ, माक्र्ससँग सम्बन्धित किताव उनले अक्षर चिन्दानचिन्दै चिन्न पाइन् । ठूल्दाइ बीरप्रसाद बिद्रोही स्वभावका थिए । गाऊँमा एउटा निवेदन लेखेकै हजार रुपैयाँसम्म ठटाउने चलन थियो । निवेदन लेखिदिने र न्यायको फैशला गर्ने दुबै माइलो बुबा मोती पहाडी हुन्थे । बीरप्रसादले नि:शुल्क निवेदन लेखिदिन थाले । माइलाबा च्याठ्ठिदै चेतावनी दिन्थे, ‘बीरे बढी जान्ने हुंने होइन, बुझिस ?’ ठूल्दाइको बिद्रोह, माल्दाइको माक्र्सवादी अध्ययन र संगत तथा साल्दाइको तेजिलो पढाइले सत्यको बाल्यकाल प्रभावित बन्दै गयो । दौरा सुरवाल र इष्टकोट तथा ढाका टोपी लगाएर हिड्ने उनी केटाजस्तै देखिन्थिन् । ‘मेरो स्वभाव केटाको जस्तै थियो । डाङडुङ बोल्ने, बिरोध पनि गरिहाल्ने ।’ बाल्यकालको स्मरण गर्दै सत्यले भनिन्, ‘घरमा घोडा, बाख्रा, भैंसी टन्नै थिए । म घोडा चढ्न पनि साह्रै मन पराउँथेँ ।’ २०३४ साल असोज ७ गते जन्मिएकी सत्य ९/१० बर्षकै उमेरमा विद्यार्थी संगठनको सदस्य भइन् । १० कक्षामा उनी राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी थिइन् । २०४७/०४८ तिर पाटनमा भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुंन आएकै बेला उनले पहिलो पटक प्रचण्डलाई भेट्ने मौका पाइन् । ‘डोल्पाबाट आएकी फुच्ची केटी’को चर्चा सम्मेलनमा चल्ने नै भयो । प्रचण्डले बोलाएरै भेटे । मख्ख पर्दै फर्किएकी उनमा भिन्दै उर्जा थपियो । सोही बर्ष उनी एसएलसी दिंदै थिइन् । अचानक ठूलो दाइ बीरप्रसाद बेपत्ता भए । केही दिनपछि जीबनमरणको दोसाँधको अवस्थामा पाटन (डोल्पाकै) मा फेला पारियो । भारतको लखनऊमा उपचार हुँदाहुँदै जेठा दाजुको निधन भयो । ‘ त्यसको थाप्लोमा नाम्लो नहालिदिनुहोला, पढ्नमा तेज छ ।’ आफूलाई औधी माया गर्ने दाजुले जाँदाजादै आफ्ना बारेमा भनेको कुरा सम्झदा सत्य भावुक बनिन् । ठूल्दाजु बितेकै दिन उनको एसएलसी शुरु भएको थियो । उनी रुँदैरुँदै परीक्षा दिन गइन् । नतिजा आउँदा उनी दोश्रो श्रेणीमा उत्तिण भइन् । ‘त्यस्तो अवस्थामा परीक्षा दिएर पनि पास हुनुभयो है ?’ उत्प्रेणात्मक प्रश्नले उनलाई उत्साहित बनायो । जोशिदै उनले भनिन्, ‘म कविता, बादबिबाद र निबन्ध प्रतियोगितामा जिल्लामा सधैँ पहिलो हुंने । एकपटक थला परेर जिल्ला अस्पतालमा हप्तौं बसेँ । त्यति नै बेला स्वास्थ्यसम्बन्धी जिल्लाव्यापी निबन्ध प्रतियोगिता भयो । मलाई बिद्यालयले त्यतैबाट सहभागी हुनु भन्यो । मलाई अफ्ठयारो लागिरहेको थियो । तर, मै पहिलो भएँ ।’ पहिलो भएवापत उनले १० हजार पाइन् । ५ हजार विद्यालयलाई दिनुपथ्र्यो । बाँकी ५ हजारबाट उनले उपचार खर्च तिरिन्, उब्रेको पैसाले घरमा उपहार लिएर आइन् । त्यतिबेलाको ५ हजार भनेको धेरै हुन्थ्यो । एसएलसीपछि उनले एकाध वर्ष गाऊँकै विद्यालयमा पढाइन् । ठूल्दाजुको रहस्यमय निधनले उनलाई झनैं बिद्रोही बनाएको थियो । माओवादीले ग्रामिण बर्गसंर्घष थालेको थियो । घरमा नेताहरुले उनलाई राजनीतिमा सक्रिय बन्न उक्साइरहन्थे । बिद्यार्थी राजनीतिलाई निरन्तरता दिनकै लागि उनी चितवनमा आइए भर्ना भइन् । तर, पढ्न भने गइनन् । पार्टीले निर्वाचन (२०५१ सालको मध्यावधी निर्वाचन) बहिष्कार गर्ने नीति लियो । उनीसहित ६ जना शिक्षक राजीनामा दिएर भण्डाफोर अभियानमा लागे । ०५२ को विद्यार्थीको सम्मेलनबाट उनी केन्द्रीय सदस्य भइन् । त्यसपछि उनी पूर्णरुपमा राजनीतिमा होमिइन् । satya-pahadi-1-nepalaaja शक्तिसँगको भेट २०५०/०५१ ताका शक्ति बस्नेत डोल्पा पुगेका थिए । खाली खुट्टामा थिए शक्ति । बाटोमा चप्पल चुडिंएछ । नयाँ चप्पल किन्ने पैसा पनि रहेनछ । ‘पछि थाहा भयो, उहाँले दाइलाई छाडेको चिटमा आफूले चप्पल किनेको र पैसा तिर्न बाँकी रहेकाले तिरिदिनुहोला ।’ सत्यले शक्तिको पोल खोलिदिइन् । त्यतिबेला शक्ति र सत्यका बीचमा खाशै बोलचाल भएन । ०५२ सालमा पार्टीले सत्यलाई पश्चिम जाजरकोट खटायो । मायाप्रसाद आचार्यसहितको टिममा उनी एक्ली केटी थिइन् । मायाप्रसादले जुक्ति निकाले, ‘ब्वाइज कट कपाल काट्ने र ट्रयाकसुट लगाउने ।’ त्यसो गर्दा सत्य पनि केटाजस्तै देखिन्थिन् र सुरक्षा चुनौति कम हुन्थ्यो । उनलाई देखेपछि जाजरकोटबासी भन्थे, ‘सानो सानो भाइकन मुद्दा लगा’छन् । काँग्रेसको सरकार ठहरै लाग्ला र ।’ अर्थात यस्तो सानो बाबुलाई पनि मुद्दा लगाको छ । यो काँग्रेस सरकार ठहरै होस् । सत्य डोल्पाको डिसिएम (जिल्ला समिति सदस्य) थिइन् । शक्ति जाजरकोटको डिसिएस (सचिव) । विद्यार्थीको केन्द्रीय सदस्य भएकाले सल्यान, जाजरकोट र डोल्पाको विद्यार्थी हेर्ने जिम्मा सत्यकै थियो । उता शक्तिले जाजरकोट र डोल्पाको पार्टी हेर्थे । पार्टी र विद्यार्थी हेर्ने क्रममै दुईले एकअर्कालाई हेर्न थाले । चिनवनमा महिलाको राष्ट्रिय सम्मेलन हुँदै थियो । सबैको सिटको व्यवस्थापन भएको थियो । सत्यले सिट पाइनन् । झोक्की स्वभावकी सत्यले शक्तिलाई सोझै सोधिन्, ‘मेरो सिट खोइ ?’ शक्तिले भुलेझैं गरे र आफूसँगै बस्न भने । घण्टौंको यात्रा उनीहरुले बोल्दै नबोलि पार गरे । चितवनबाट फर्कने बेलामा शक्तिले तपाईसँग कुरा गर्नुछ भने । सत्य, कमला रोका र उषा (ओनसरी घर्ती) सँगै थिए । तीनै जनाले एकै स्वरमा जवाफ फर्काए, ‘के छ ? यही भन्नु न ।’ शक्ति लज्जालु र संयमित स्वभावका थिए । केही भन्न खोजे जस्तो पनि गर्ने तर रोकिने । यसो गर्दागर्दै उनीहरु फर्केर जाजरकोट पुगे । चितवनको सम्मेलन सकिएपछि जाजरकोट पुग्दा नपुग्दै माओवादी संर्घष तीब्र बन्यो । ‘सामन्तको सफया’ गर्नु पूर्व माओवादीहरु सामुहिक भोज र कासन गर्थे । बाख्रो काटेर खाने कार्यक्रम थियो । कमरेडहरु हौसिरहेका थिए । यस्तै मेसोमा शक्तिले सत्यसँग मनमा गुम्साइराखेको सत्य बोले, ‘म तपाईलाई कस्तो लाग्छ ?’ एक कदम अघि बढदै उनले भने, ‘तपाईसँग बिहे गर्न चाहेको ।’ घर सल्लाह गरेर जवाफ फर्काउने सत्यको जवाफ थियो । त्यसपछि आलटालमै २÷३ बर्ष बित्यो । सत्यले दाइ नन्दप्रसाद न्यौपाने (फुपुका छोरा जो सहिद भए) र नैन दाइसँग विवाहका बारेमा कुरा गरिन् । नैन दाइले भावुक हुँदै भने, ‘ १९/२० की बहिनी सानै छौ भन्ठानेको बिहेको कुरा गर्न थाल्यौ ।’ शक्तिका बारेमा दाइहरुको बुझाइ सकारात्मक थियो, सानै भएपनि बहिनी अन्माउन दाइहरु राजी भए । २०५३ साल साउन १३ गते जाजरकोटको मैदेमा उनीहरु जीबनसाथीमा परिणत भए । नेता कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा तीन लालजोडीको सामुहिक जनवादी बिबाह भयो । तीन जोडी मध्ये राजेन्द्र र शिशिर ( यमकुमारी खड्का) दुबै सहिद भए । खुमा सुबेदीले श्रीमान नन्दप्रसाद न्यौपाने गुमाइन् । दुबै बाँचेको भाग्यमानी जोडी शक्ति र सत्यको हो । विवाहपछि उनीहरु तीन दिन सँगै बसे । आक्कल झुक्कलबाहेक त्यसपछि भेट भएन । गर्भवती सत्यको सुरक्षा चुनौति थियो । पार्टीले उनलाई सुर्खेतमा सेल्टर राख्यो । ०५४ कात्तिक ३ गते संगमको जन्म भयो । केही समयपछि उनलाई बाँकेको ढकेरी पुर्याइयो । ढकेरी तुलनात्मकरुपमा सुरक्षित ठाऊँ थियो । त्यहाँ सुत्केरी भएका अन्य कमरेड पनि राखिएका थिए । शक्ति भेट्न आउँने खबर आयो । साथीहरुले रुकुमेली संर्घषकी छोरी सत्यको काखमा राखिदिए । संगम लुकाइदिइसकेका थिए । satya-pahadi-2-nepalaaja शक्ति असमञ्जमा परे, उनले तलदेखि माथिसम्म नियाँलीरहे । कालो बर्णकी नवजात शिशुलाई शक्तिले घोरिएर हेर्दैगर्दा साथीहरुले हाँसो थाम्न सकेनन् । शक्तिले चाल पाइहाले । सेल्टर सार्दासार्दै १८ महिना बित्यो । त्यतिन्जेल संगम तोते बोल्न थालिसकेकी थिइन् । सत्य पार्टी काममा लाग्नुपर्ने भयो । ‘बच्चा कहाँ छाड्ने ?’ समस्या आइलाग्यो । अन्ततः जाजरकोटको खलंगास्थित घरमै छाड्ने निधो भयो । परिवारलाई सुरक्षाका दृष्टिकोणले कठिनाइ नहोस् भन्नका लागि धम्कीपत्रसहित संगमलाई घरको आँगनमा छाडियो । पत्रमा लेखिएको थियो, ‘तपाईहरुको सन्तान भएकाले हेरदेख गर्नु तपाईहरुको कर्तव्य हो । पार्टीले तपाईहरुको जिम्मा लगाएको छ । तलमाथि भए जवाफदेही हुनुपर्छ ।’ पार्टीका साथीहरु संगमलाई छोड्न जाँदा शक्ति र सत्य परै बसेका थिए । ‘उहाँका आँखा रसाएका थिए ।’ छोरीको काख टुटाउँदाको समय सम्झदै गर्दा सत्य भावुक भइन् । शक्तिको छोरी घरमा छोडिएको खबर निमेषभरमै फैलियो । सुरक्षाकर्मीको जत्था उनको घरमा पुग्यो । फौजले छोरीलाई लैजाने र बालमन्दिरमा राख्ने प्रस्ताव ग¥यो । आमाले बच्चा दिंदै दिइनन् । आमा र फौजका बीचमा खोसाखोस नै भयो । संगमको लवज र कुराकानीका आधारमा सुरक्षाकर्मीले पत्ता लगायो, सत्यको सेल्टर सुर्खेतमा छ । छोरी छाडेपछि सत्य र शक्ति छुट्टिए । उनी सुर्खेत जाँदै गर्दा सल्लीबजारबाट पक्राउ परिन् । सुर्खेतमा पार्टीको उपक्षेत्रीय ब्यूरोको प्रशीक्षण थियो , नौमूले आक्रमणको समीक्षा कार्यक्रमपनि थियो । पोष्टबहादुर बोगटी दिवाकरको उपस्थितिमा हुंने सो प्रशीक्षण महत्वपूर्ण थियो । सत्यसहित ३ जना पक्राउ परेपछि कार्यक्रम स्थगित भयो । सत्यको रामधुलाई शुरु भयो । खाडल खनेर गाड्ने र मुन्टोमा ताकेर बन्दुक पड्काउने गर्थे । एघार दिनका दिन जाजरकोट पुर्याइयो । उनको शरीरमा यातनाका कारण रगत जमेर तीनवटा ट्युमर बन्यो । यातानाको कुनै सीमा थिएन । तर पनि उनी गलिनन् । ‘शान्तिमन्त्री हुँदा मलाई यातना दिने इन्स्पेक्टरसँग झापामा जम्काभेट भयो । डिएसपी भइसकेको रहेछ । उसले तलमुन्टो लाइरह्यो ।’ सत्यले यसो भनिरहँदा उनको जीबनको तीब्र गति प्रष्ट हुन्थ्यो । शक्तिसँगको संर्घषपूर्ण सम्बन्ध सत्य जेलमा थिइन् । पार्टीका प्रभावशाली नेता यानप्रसाद गौतम आलोक यौन काण्डमा परे । जनयुद्धको प्रारम्भमै अर्का शक्तिशाली नेता रामबहादुर थापा बादल पनि यौनकाण्डमा मुझिएका थिए । माओवादीमा बाह्य यौन बर्जित थियो । तर, जैविक आवश्यकताको आपूर्ति लुकिछिपी भइरहेका घटना सार्वजनिक भइरहन्थे । सत्यको मनमा आँधीतुफान आउन थाल्यो । ‘म जेलमा छु । शक्तिको पनि मन न हो । यदि उसले जैविक आवश्यकता पूर्ति गर्न विकल्प रोजेमा कारबाहीको भागिदार हुनेछ । एउटा होनहार युवा यौनकाण्डमा जेलिने छ ।’ उनको मनमा कुरा खेलिरहन्थ्यो । आफू छुट्ने कहिले हो, कुनै अत्तोपत्तो थिएन । उनले जुक्ति निकालिन् र शक्तिलाई पत्र लेखिन्, ‘जैविक आवश्कताका लागि बाह्य विकल्प आवश्यक परेमा यसैलाई ईच्छापत्र मान्नुहोला । मेरो यो पत्रलाई आधार मानेर तपाई नयाँ जीबन शुरु गर्न सक्नुहुन्छ ।’ यस्तो कठोर पत्र लेख्न सत्य किन विवश भइन् ? के शक्तिमा उनले यौन कमजोरी भेटेकी थिइन् ? प्रश्न भुँइमा खस्न नपाउँदै उनले जवाफ फर्काइन, ‘होइन, एउटा नेता बचाउँनलाई मैले त्यागको भावसहित पत्र लेखेकी थिएँ । म संकालु स्वभाको त छु तर शक्तिप्रति अविस्वास छैन । नारीजन्य नजर त मैले श्रीमानप्रति राखेको स्वभाविक नै ठहर्ला ।’ लज्जालुभाव सहित सत्य मुस्कुराइन् । दोस्रो वार्ताका क्रममा उनले जेलबाट छुटकारा पाइन् । ३ बर्षपछि बाहिर निस्कदा संगम स्कुल जाने भइसकेकी थिइन् । जेलबाट निस्के पनि उनको दाम्पत्य जीबन सहज भएन । सधैँजसो दुबैको भुगोल अर्कै परिरह्यो । उनले दैलेखको कमाण्ड सम्हालिन जहाँ माओवादीका बिरुद्धमा प्रतिकार अभियान चलेको थियो । कहिले उनी प्रवासमा रहिन् । ‘हामी काखे छोरी छोडेर हिडेका थियौँ, एक अर्काको साथ छोड्न हामी तयार हुनै पथ्र्यो । टाढा रहँदा कहिलेकाही विकर्षण हुँदो रहेछ । विवाद पनि बढ्दोरहेछ । हामीले सबै अनुभव गरेका छौँ ।’ फरासिली स्वभावकी सत्यले सत्य लुकाउँन सकिरहेकी थिइनन्, ‘हामी नेता भएपनि आम नेपालीजस्तै दम्पत्तिपनि हौँ । हाम्रा बीचमा खटपट र मेलमिलाप दुबै हुन्छ ।’ युद्धकालमा सर्वाधिक खोजी हुंने मध्येको एक जोडी थियो सत्य र शक्तिको । दुबैको जन्म र कर्म थलो पश्चिम नेपाल थियो जहाँ युद्धको राप र ताप अन्यत्रको भन्दा कडा थियो । यो जोडी कहिले कहाँ सदाका लागि छुट्टिने हो, कुनै ठेगान थिएन । ‘दैलेखको सल्लेरीमा सेनासँग आमनेसामने भएपछि अब सकियो भन्ने लागेको थियो, संयोगले बाँचियो ।’ धैरै पटक मृत्युलाई सामुन्ने देखेकी सत्यका लागि सल्लेरीको घटना बढी सघन लाग्दछ । युद्धको उत्कर्षमा संगमलाई पोखरा ल्याइयो । सत्य र शक्तिपनि भिन्दाभिन्दै ठाऊँबाट पोखरा पुगे । दुई रात त्यहीं बिताए । धेरै लामो समयपछि परिवारका सबै सदस्यले रात बिताएको दुर्लभ दिन थिए ति । ०६१ सालतिरको प्रसंग हो । त्यसपछि शक्ति गण्डक अभियानमा लागे । सत्य प्रवास हानिइन् । शान्ति प्रक्रिया शुरु भएपछि सत्य फर्किइन् । फर्कदा छोरी ९ बर्षकी भइसकेकी थिइन् । आफ्नै आमालाई को हो भनेझैँ ट्वाल्ट्वाल्ती मुखमा हेर्थिन । घर जाँदा थाहा भयो संगमले काकीलाई आमा भन्दिरहिछन् । satya-pahadi-3-nepalaaja शान्ति प्रक्रिया पछिका दिन शक्ति कार्यकर्तालाई बढी समय दिन्छन् । घण्टौँ अरुका दुःख सुन्छन् । कहिलेकाही सत्यलाई अरुले कुरा लाइदिन्छन् । सत्य शक्तिसँग प्रश्न गर्न थाल्छिन् । उनी मनमनै गम खान्छिन्, ‘मलाईपनि शक्तिले यसैगरी केरकार गरिदिए हुन्थ्यो ।’ शक्ति उनलाई यस्ता कुरामा प्रश्न गर्दैनन् । सायद, शक्तिले प्रश्नको तगारो हालेको भए सत्य आफैं पनि सभासद् र मन्त्रीसम्मको यात्रा तय गर्न सक्ने थिइनन् । सक्रिय राजनीतिमा व्यस्त भइरहने उनी देशविदेश चहार्न सक्ने हुन्नथिन् पनि । शान्तिप्रक्रिया पछि सत्यको परिवार सँगै बस्न थाल्यो । ‘सँगै बसेपछि शक्तिसँगको संर्घष र मिलन कस्तो रह्यो ?’ उनले जवाफ फर्काइन्, ‘हामी खुला र स्पष्ट छलफल गर्छौँ । उहाँलाई पार्टी काम बाहेक केहीमा ध्यान छैन । मलाई लाग्छ परिवारलाई पनि ध्यान दिनुपर्छ । म पनि नेता हुँ । मैले परिवारको काम गर्छु भने तपाईले नगर्ने भन्ने हुन्छ ? म प्रश्न गर्छु ।’ उनीहरुका बीचमा भाँडा माझ्नेदेखि खाना बनाउँनेसम्मका बिषयमा विवाद हुन्छ । सत्य आफुलाई कतिपय विषयमा शक्तिभन्दा योग्य ठान्छिन् । ‘नारी हुनुका नाताले मैले केही विशिष्ट क्षमता पाएकी छु जुन उहाँमा छैन । म कुशल व्यवस्थापक हुं । घरदेखि पार्टीको कामका लागि समय मिलाउन सकेकी छु ।’ उनले नारित्व र मातृत्वमाथि गर्व गर्दै भनिन् । नेताकी श्रीमती हुँदा धेरैले सुखमात्र देख्छन् । तर, श्रीमान र आफु दुबै नेता हुँदै गर्दाका विवशता धेरैले देखेका छैनन् । आफु भोकै बसेर भएपनि नेता कार्यकर्तालाई खुवाउँन बानी परिसकेको बताउने सत्य मन्त्री हुँदासमेत किचेनदेखि घरको सरसफाइमा जुट्ने गर्थिन । राजनीति गर्नेहरुका लागि बैबाहिक जीबन कहिलेकाहीँ भारी पर्ने उनको ठम्माइ छ । ‘बिबाह अर्को संर्घषको मोर्चा हो । मैले विवाहपछि ५० प्रतिसत समाज बुझे । बिबाहले नातासम्बन्ध जोड्छ । जिम्मेवारी थप्छ । श्रीमानले मात्र बुझेर भएन अरु सबैले बुझ्न पर्यो । धन्न हामी जनयुद्धमा थियौँ । बुहार्तन भन्ने ठ्याक्कै भएन । बुहार्तन सम्हालेरपनि राजनीति गर्न कम्ता चुनौति छैन ।’ उनले महिला राजनीतिकर्मीको साझा पीडा बिसाइन् । शक्ति र सत्य दुबै टोटल वार अर्थात समग्र समाजको समग्र परिवर्तन गर्ने युद्धमा होमिएका थिए । उनीहरुले सायदै सोचेका थिए दुबै मन्त्री भइएला । ४० पुग्दा नपुग्दै काठमाडौंको राजनीतिको धाबक बनिएला भन्ने उनीहरुमा छँदै थिएन । दीर्घकालिन जनयुद्धमा ज्यानै जानसक्छ भन्ने आत्मस्विकृति सहित उनीहरु युद्धमा होमिएका थिए । युद्ध सोचेजस्तो, नापेजस्तो र तौलेजस्तो हुँदैन । भएन पनि । युद्ध थालेको एक दशकमै उनीहरु काठमाडौंको दौडधुपमा हुत्तिए । काठमाडौं प्रवेश गरेको एक दशक बित्न नपाउँदै दुबैजना सभासद् र मन्त्री भइसके । राजनीतिको सग्लो जीबन अझै बाँकी छ । भविश्य आशालाग्दो छ । एकीन छैन । उनको साहित्यमा दम छ । नेता भएका कारण साहित्यिक पाटो ओझेलमा परेको छ । चार कृति बजारमा आइसकेका छन् । दैनिक जीबनलाई दैनिकीमा उतार्ने सत्यको एउटा बाकसमा डायरीमात्र छन् । पार्टी र जीबनका कैयौँ अन्तरसंर्घष ती डायरीमा सुरक्षित छन् । भन्छिन्, 'बाहिर ल्याउँदा धेरै खाले अफ्ठयारापनि आइलाग्न सक्छन् ।' (सार्वजनिक जीबनमा रहेका व्यक्तिहरुको फरक पाटो समेट्ने श्रंखलाको आजको अंकमा सत्य पहाडीको युद्धकालिन संर्घष र दाम्पत्य जीबन समेटिएको हो । सम्पादक) प्रस्तुतिः नारायण पौडेल

shakti basnet and satya pahadi shaktilai satyako patra