राजनीति

पार्टीको काम बालुवाटारमा आयोजना गरेर सरकारी ढुकुटी रित्याउने चलन अन्त्य गरे प्रचण्डले

पार्टीको काम बालुवाटारमा आयोजना गरेर सरकारी ढुकुटी रित्याउने चलन अन्त्य गरे प्रचण्डले

Prachanda copyभदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी ढुकुटीको प्रयोग पार्टी कामका लागि नगर्ने घोषणा गरेका छन् । सोही घोषणा अनुसार उनले आज पार्टी हेडक्वार्टरको बैठक बालुवाटारस्थित सरकारी निवासको साटो लाजिम्पाटस्थित निजी निवासमा गर्दैछन् । दिउँसो २ बजे कार्यालयको बैठक बस्ने उनका प्रेस सहयोगी मनहरी तिमिल्सेनाले जानकारी गराएका छन् ।

सरकारी निवासमा बैठकमात्र गर्दा पनि एकै दिनमा हजारौंको सरकारी बिल उठ्दछ । प्रचण्डले बालुवाटार प्रवेशमा नेता कार्यकर्तालाई समेत कडाइ गरेको बताइन्छ । उनले पार्टी नेता कार्यकर्तासँग निजी निवास वा पार्टी कार्यालयमै भेट्ने व्यवस्था मिलाउन सचिवालयलाई निर्देशन दिएको खबर छ ।

यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डले सरकारी निवासमै पार्टी बैठक गरेका थिए । अरु प्रधानमन्त्रीले पनि त्यसै गर्दथे । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको खाजा खर्चमात्र ६१ लाख देखिएको थियो । ९ महिनाको बालुवाटार बसाइमा ६१ लाखको खाजा खाएपछि ओली आलोचनामा परेका थिए ।

प्रचण्डले आफ्नो घोषणालाई अन्तिमसम्म कायम राख्न सके एउटा विधि स्थापित हुँने अपेक्षा गरिएको छ । नेता कार्यकर्ता प्रधानमन्त्रीको सरकारी निवासमा भेला हुँने र सरकारी ढुकढीमा मोजमस्ती गर्ने परम्परा रहँंदै आएको छ । जाँदाजाँदै पूर्वप्रधानमन्त्री ओलीले सोल्टी होटेलबाट झिकाइएको खाजाखर्च वापतको १८ लाखको बिल पेश गरेका थिए ।