समाचार

 रेड पाण्डाको छालासहित ४ पक्राउ

 रेड पाण्डाको छालासहित ४ पक्राउ

साउन - २६ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार कपनबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा उदयपुर बलम्ता–८ का २३ वर्षका सुशील राई, बाग्लुङ भिमगिठी–१ का २४ वर्षका मुस्कान थापा, खोटाङ दुवेकोल–८ घर भई कपन बस्ने २६ वर्षका जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का ३२ वर्षका लालबहादुर थिङ रहेका छन् । रेड पाण्डाको छाला बिक्री हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले कपनस्थित जीवन गुरुङको डेरामा छापा मारेको थियो । उनीहरुलाई रेड पाण्डाको ९ वटा छालासहित महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलीले बुधबार पक्राउ गरेको हो ।

कपनमा रहेको गुरुङको कोठामा तीन चार दिन अघि रेड पाण्डाका छाला ल्याई पाँच लाख ५० हजारका दरले उनीहरुले बिक्री गर्न लागेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।

Red Panda