ताजा खबर मेरो परिवार मेरो कथा समाज

'बम' राखिएको शब कुर्दै गाउंवासी डांडामा रात बिताउन बाध्य भए, युद्धको त्यो कालरात्री !

'बम' राखिएको शब कुर्दै गाउंवासी डांडामा रात बिताउन बाध्य भए, युद्धको त्यो कालरात्री !

माओबादीद्वारा मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी १५ बर्ष यता न्यायका लागि धाइरहेका छन् । न्यायको नामोनिशाना भेटेका छैनन् । यस्तैमा सत्यनिरुपण तथा मेलमिलाप आयोगले उजुरीको आह्वान ग¥यो । द्वन्द्वपीडितका उजुरीको चाङमा उनको उजुरीपनि मिसिएको छ । उजुरी दिने म्याद असार २९ सम्ममा उनको उजुरीमाथि अझ ठूलो खात लाग्ने निश्चित छ । न्याय पाउंने भर नभएपनि सुमनले आस मारि सकेका छैनन् ।

अधिकारी पत्नी इन्दिरा, छोरा सुमन र छोरी सबिताले मुक्तिनाथ अधिकारीलाई अपहरण, शारीरिक र मानसिक यातनापछि हत्या गरिएको भन्दै उजुरी दिएका हुन् । माओवादी जिल्ला नेता देवेन्द्र पौडेल, धु्रव अधिकारी, प्रभु घिमिरेसहित १२ जनाविरुद्ध उनीहरुले किटानी उजुरी दिएका छन् । सुमनले हत्याराको आरोप लगाएका देबेन्द्रलाई जिल्ला शान्ति समितिको अध्यक्ष बनाइएपछि उनलाई न्यायको आशा मरिसकेको थियो । जो माथि अनुसन्धान हुनुपर्ने हो उसैलाई शान्ति समितिको अध्यक्ष बनाइएपछि उनको मन नराम्रोसंग भांचिएको थियो । उनी भन्छन् ‘ राजनितिक दल तथा सरकारले न त अदालतको कुरा सुने न त पीडितको पीडा बुझे । अनुसन्धान भएमा आफैं परिन्छ भन्ने डर नेताहरुमा छ । त्यसैले आयोगको पनि भर छैन ।’

Nepal1 copy

सुमनलाई आयोग स्वतन्त्र छैन भन्ने लागेको छ । पीडितको प्रतिनिधित्व नगराइएको आयोगले पीडा बुझ्न सक्ला भन्ने उनलाई लागेको छैन । अधिकारी भन्छन्, ‘ आयोग पीडितमैत्री छैन । यस्तो अवस्थामा आयोगले छानविन गर्ला,सत्य पत्ता लगाउला भन्ने मलाई लाग्दैन । यो झारा टार्ने नियतले बनेको देखिन्छ ।’ आयोगले न्याय देला नदेला तर उनी उजुरी दिन छुटाउन नहुने तर्क गर्छन । सरकारी अभिलेखमा रेकर्ड रहने र भोलिका दिनमा भएपनि खोजी हुनसक्ने उनी बताउंछन् । सुमन भन्छन्, ‘न्याय नपाएसम्म हामी युद्ध पीडित चुप लाग्दैनौं, सन्तान दरसन्तालेपनि न्यायका लागि आवाज उठाउन छाड्ने छैनन् ।’

को हुन मुक्तिनाथ अधिकारी

मुक्तिनाथ अधिकारी लमजुङ जिल्लाको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक थिए । तर उनी विद्यालयको प्रधानाध्यापक भएको धेरै समय भएको थिएन । नयाँ जिम्मेवारी पाएपछि उनी विद्यालयको स्तर उकास्न जोडतोडले लागेका थिए । सबैसँग सद्भावपूर्ण व्यवहार र अहिंसात्मक विचार राख्ने उनी गाउँकै प्यारा थिए । द्वन्द्वरत पक्षलाई काटमार नगर्न सम्झाउँथे । त्यस बेला उनी एम्नेस्टी इन्टरनेसनल–७९ का स्थानीय संयोजक पनि थिए । उनी निमित्त प्रधानाध्यापक रहँदा माओवादीले शिक्षकको २५ प्रतिशत दसंै पेस्की माग गरेका थिए । अधिकारीले त्यसमा असहमति जनाएपछि माओबादीहरु रुष्ट भएको छोरा सुमन बताउछन् ।

कसरी मारिए

२०५८ माघ ३ गते दिउँसो १ बजेतिर मुक्तिनाथ अधिकारी कक्षा ९ मा विज्ञान पढाउँदै थिए । त्यती नै बेला माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे । सशंकित विद्यार्थीले सरलाई छाडिदिन आग्रह गरे तर माओबादीले मान्दै मानेनन् । उनलाई गाउँको गोरेटो बाटो हुँदै आधा घन्टा हिडाएर बारीको कान्लामा लिएर गए ।

गाउँको उकालोमा पुर्याएपछि उनीहरूले अधिकारीलाई बन्दुक सोझ्याइसकेका थिए । तर गाउँका महिलाहरुलाई देखेपछि उनीहरू केही हच्किए । अधिकारीलाई सरासर डाँडामा लिएर गए । अनि एउटा रुखछेउ रोकिए । अधिकारीकै गलबन्दीको पासो हालेर उनलाई अँठ्याउँदै रुखमा कसे । अनि गोली ठोके । त्यतिले पनि चित्त नबुझेर छुरा रोपे । मुखमा बुजो कोचिएकाले अधिकारीको चित्कार गाउँसम्म पुग्न पाएन ।

साँझपख गाउँबासी माथि पुग्दा अधिकारीको हत्या भैसकेको थियो । हत्या गरी उनलाई उत्तिसको फेदमा बाँधेर ठड्याइएको थियो । माओवादीले ‘बम छ, कसैले नछुनू’ भनेका कारण त्रसित गाउँबासीले मृतशरीर छोएनन् । लासछेउ आगो बाली जागराम बसे ।

यि सबै घटनाक्रम सुनाउंदा सुमनको भक्कानो थामिएन । उनका आंखामा आंशु छचल्किएको थियो । आफुजस्तै पीडितको आंशुले एक न एक दिन दोषिलाई छुने उनको विश्वास छ ।

प्रस्तुतिः सागर बुढाथोकी

Amnasty International Janayodda Maosist Muktinath Adhikari Nepal Army Sumnan Adhikari truth reconciliation commission nepal