राजनीति

अविश्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नः प्रधानमन्त्री ओली

अविश्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नः प्रधानमन्त्री ओली

साउन – ५ । बिहिबार बस्ने व्यवस्थापिका संसदको बैठकमा तनाव हुने संकेत देखिएको छ । कांग्रेस–माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि बिहिबार बस्ने बैठकमा छलफल हुने कार्यक्रम छ । तर, प्रधानमन्त्री केपी ओलीले उक्त बैठकलाई सहज रुपमा चल्न नदिने संकेत गरेका छन् ।

बुधबार कमलादीस्थित आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको छैटौं महाधिवेशन प्रतिनिधि परिषद्को बैठक उद्घाटन गर्दै ओलीले अविश्वासको प्रस्ताव संसदमा छिर्नै नदिने बताए । उनले भने ‘भोलि हामी ११ बजे के हुन्छ देखाउँला । बलजफ्ती गर्न नखोज्नु राम्रो हुन्छ । म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

अविस्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नौं ।’ उनले संविधानसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई कांग्रेस र माओवादीको इष्र्या र चिन्ताको प्रस्ताव भन्दै सो प्रस्तावको औचित्य नभएको बताएका छन् । उनले आफूलाई जसरी पनि हटाउने प्रपञ्च रचिएको भन्दै ‘जसरी पनि सरकार हटाउन खोजिएको छ । यो चाहिन्छ र उ चाहिन्छ भन्ने हो भने घरबाटै ल्याउनु ।’ ओलीले आफ्नो सरकारले मजदुर, किसानलगायत सबै वर्ग र पेशाका नागरिकको पक्षमा काम गरेकाले त्यही डाहाले प्रस्ताव ल्याइएको समेत दाबी गरे । उनले कांग्रेस र माओवादीलाई संकेत गर्दै प्रश्न गरे, ‘हल गोरु जसरी प्रस्ताव दर्ता गर्न जाने र पछि आएर राजीनामा माग्ने यो कस्तो तरिका हो ?

राजीनामा मागेको हो कि अविस्वासको प्रस्ताव दर्ता गरेको हो ?’ उनले आफ्नै सक्रियताले तराईमा आन्दोलन तथा नाकाबन्दी असफल भएको भन्दै माओवादी कांग्रेसको चर्को आलोचना गरे । कांग्रेस माओवादीले दुई तिहाईको घमण्ड देखाएको भन्दै त्यस्तो हो भने संविधान नै संशोधन गर्न चेतावनी दिए ।

KP Sharma Oli