समाज

महिला कार्यकर्तालाई च्याप्प पारेपछि शेरधन राई विवादमा, युवतीले लेखिन् यस्तो पत्र

महिला कार्यकर्तालाई च्याप्प पारेपछि शेरधन राई विवादमा, युवतीले लेखिन् यस्तो पत्र

प्रिय पाठक, म तपाईलाई मेरो अन्तरमनको कथा भन्दैछु । यो कथा भन्न मलाई धेरै सकस भएको छ । मुटुमाथि ढुंगा रोखेर म मेरो पृष्ठभुमीसहितको पीडा ओकल्दै छु ।

 

म माओवादी अति प्रभावित क्षेत्रबाट राजनीति थालेकी एमालेकर्मी हुं । पहाडको दुर्गम गाउंमा मैले राजनीति थाल्दा माओवादीको पूरै बोलवाला थियो । एमाले हुं भन्न समेत ठूलै जोखिम हुंने सो समयमा मैलै सक्रिय राजनीति थालें ।

 

विद्यालयमा शिक्षक थिएं । प्रध्यानाध्यापक माओवादी थिएं । व्यवस्थापन समितिका अध्यक्ष माओवादी । सबै माओवादी । म एक्ली एमाले थिएं । राजनीतिक कारणले म अफ्ठयारोमा पारिएं । मलाई लाग्यो माओवादीसंगको यो पेचिलो लडाइ शिक्षक भएर मात्र जित्न सम्भव छैन । मैले पूर्णकालिन कार्यकर्ता हुने निधो गरें । घरपरिवारले मलाई उच्च शिक्षा दिलाएको थियो । परिवारको चाहना मैले बिहे गरु र जागिर खाउं भन्ने थियो । मैले परिवारसंग विद्रोह गरे । राजनीतिक जीवनका लागि मैले पारिवारिक जीवन छोड्न तयार भएं ।

 

युवासंघप्रति मेरो आकर्षण भिन्दै थियो । कारण, माओवादी अतिवादका विरुद्ध युवासंघले संर्घष छेडेको थियो । पार्टीका साथीहरुले पनि मलाई युवा संघमै लाग्न सुझाउनुभयो । संघर्षको मैदानमा म खटिएं । एकपछि अर्को बाधा अवरोध छिचोल्दै केन्द्र तहमा पुगें ।

 

राष्ट्रपतिमा महिला निर्वाचित हुंदा

 

२०७२ साल मेरो जीवनमा विशेष रह्यो । भू-कम्पले घरगाउं पूरै सोत्तर बनायो । राजनीति गर्ने हामीहरुका लागि परिवारको जिम्मेवारी सम्हाल्नु चुनौतिपूर्ण हुने गर्दछ । परिवारको पीडा थाती राखेर म भू-कम्प प्रभावित क्षेत्रमा खटिए । पार्टीले युवा परिचालनको नीति लिएको थियो । हामीले उदाहरण प्रस्तुत गर्यौं ।

 

भुकम्पछि देशको राजनीतिमा उथलपुथल भयो । संविधान बन्यो । राष्ट्रपतिमा हाम्रै पार्टीको विद्या भण्डारी निर्वाचित हुनुभयो । राजनीतिक कारणले उहांले माइतीको चित्त दुखाउनुभएको थियो । संर्घषको भट्टीमा खारिएरै उहां देशको सर्वोच्व पदमा विजयी हुनुभएको थियो । त्यो क्षण मेरा लागि सबैभन्दा आर्दश र उर्जामय थियो । संसद भवनमा उहांलाई भेट्न सकिने स्थिति थिएन । हामी नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाइ दिन उहांको निवास बानेश्वर हाइट गयौं ।

 

खचाखच थियो त्यहा । सांझ झमक्क परिसकेको थियो । सबैको ध्यान राष्ट्रपतिमा केन्द्रीत थियो । एमालेजनमा विजयी भाव छचल्किएको थियो । हामी केही साथीहरु त्यहां संगै पुगेका थियाैँ । पार्टीको युवा फांट हेर्ने शेरधन राई पहिल्यै त्यहां पुगिसक्नुभएको रहेछ । उहांको उत्साह प्रष्टै देखिन्थ्यो ।

 

भोजपुरका राई राजनीतिमा एकाएक उदाउनुभएको थियो । दोस्रो संविधानसभाको पूर्वाद्धमा अशोक राईको नेतृत्वमा राई समुदायको ठूलो पंक्ति एमालेबाट अलग भएको थियो । विद्यार्थी राजनीतिबाट आएका शेरधनलाई अवसरको सहज वातावरण बन्यो । त्यसमाथि उहांलाई बिद्या भण्डारीको विशेष धाप थियो । राजनीतिक रुपमा आफुलाई संरक्षकत्व प्रदान गर्नुभएकी बिद्या राष्ट्रपति हुंदा हाम्रा इन्चार्ज थप उत्साहित हुनु नौलो थिएन ।

 

एकदमै एक्साइटेड देखिएका राईले मलाई च्याप्प समाउंदै तान्नुभयो । खुशीले उन्माद भएका राईको व्यवहार अनौठो थियो । उहांले मलाई समातेर छेउतिर लग्नुभयो । उहांको हात चलमलाइरहेको थियो । म अक्क न बक्क परिरहेकी थिएं । यसअघि उहांले मलाई कहिल्यै यस्तो व्यवहार देखाउनुभएको थिएन । त्यसदिन अचम्मै भयो । उहाले मेरो पाखुरामा समातिरहदां औंला भने अन्तै पुगिसकेका थिए । म केही बोल्नै सकिन । के हो बुझ्नै सकिन । के हो कसो हो के भन्ने के नभन्ने ? म अलमलमा परे ।

 

त्यसपछिका दिनमा उहांको त्यो व्यवहार दोहोरिन थाल्यो । उहांले मलाई सांकेतिक सन्देश मोबाइलमा पठाउनुभयो । केही भन्न खोजेजस्तो तर नसकिरहेको जस्तो व्यवहार पटकपटक दोहोरियो । मन्त्री भएपछि शेरधनजीको व्यस्तता बढ्यो । भेट हुंदा उहा मलाई एकोहोरो हेर्ने र छटपटाए जस्तो गर्ने गर्नुहुन्थ्यो । मन्त्रालय आउन भनेर भन्नुहुन्थ्यो ।

 

जिल्लाको डेलिगेशनका साथ एक दिन म मन्त्रालय गएं । गोप्य कोठामा रहेका मन्त्री राई बाहिर निस्कनुभयो र मेरो अगाडि आएर उभिनुभयो । त्यहां उहांले मप्रति आशक्तयुक्त व्यवहार देखाउनुभयो । अस्वभाविक शैली देखेका मेरा जिल्लाबासीले उहां र मेरो सम्बन्धका बारेमा चर्चा चलाउन थाल्नुभयो । एक कान दुई कान मैदान भयो ।

 

प्रधानमन्त्रीको सचिवालयमा म !

 

जागिर थिएन । दाजुहरुसंग अलग भएर एक्लै बस्न थालिसकेकी थिइन् । भू-कम्पले आर्थिक स्थिति झन् जर्जर भएको थियो । संगठनकै साथीहरुको पहलमा म प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भए । बैशाख ९ गते म प्रधानमन्त्रीको टिममा परे । आर्थिक समस्या पनि हल हुने भयो, सम्पर्क पनि बृद्धि हुने भयो । म खुशीले गद्गद् थिए । मन्त्री राईसंग भेटघाट बढ्न थाल्यो । उहां जहिल्यै मन्त्रालयमा आउ, भेटौं भन्नुहुन्थ्यो । साथीहरुले उहांको नाम लिएर मलाई छेडछाड गर्थे ।

 

मलाई समस्या पर्दै गयो । उहांसंग मैले मप्रतिको अस्वभाविक व्यवहारको कारण माग्न थालें । मेसेज पठाउन थालें । उहांले मैले मागेको कारण दिनुहुन्थेन । उहांको विहे हुन थालेको चर्चा चल्न थाल्यो । मैले स्पष्ट हुन चाहे । मसंग गरिएका व्यवहारको भरपर्दो जवाफ नदिए राम्रो नहुंने भन्दै मेसेज पठाएं । उहांले जवाफ फर्काउनुभएन । एकदिन फोन गरेर उहांले को हो किन म्यासेज गरेको भनेर नचिनेजस्तो गर्नुभयो । मलाई साह्रै नराम्रो लाग्यो । त्यस्तोसम्म गरिसकेको व्यक्तिले यस्तो सम्म गर्न सक्दारहेछन् भन्ने मनमा खेलिरह्यो । उपयुक्त जवाफ नदिए आफुपनि चुप नलाग्ने भन्दै मैले म्यासेज गरें ।

 

सचिबालयबाट लत्याइए म !

 

असार दोस्रो साता म प्रधानमन्त्री ओलीको निजी निवास बालकोट गएको थिएं । प्रधानमन्त्रीलाई भेट्ने भीड लागेको थियो । प्रधानमन्त्रीकै सचिवालयमा रहेपनि हाम्रो भुमिका जागिर र चिया खानेमात्रै थियो । भेटघाटमै व्यस्त रहने प्रधानमन्त्रीसंग सचिवालयका जागिरे हाम्रो सम्पर्क उतिसारो हुंदैनथ्यो । बालकोटमा मलाई उहांले बोलाउनुभयो । शेरधनलाई के म्यासेज लेखेको भनेर सोध्नुभयो । मैले उहांसंग जवाफ मागेको र तपाईकै उपस्थितिमा उहांसंग छलफल गर्न चाहन्छु भन्ने जवाफ फर्काएं । उहांले मलाई सचिवालयबाट राजिनामा दिन सुझाव दिनुभयो ।

 

प्रधानमन्त्रीय प्रणालीमा उहांकै सचिवालयमा मैले उहांको अनिच्छामा काम गर्ने स्थिति थिएन । म बाहिरिएं । यतिसम्म ठीकै थियो । तर, शेरधनजीले मेरो बदनाम गर्ने प्रयास गर्नुभयो । मैले लेख्दै नलेखेको कुरा समेत लेखेको भनेर प्रधानमन्त्रीलाई कान भर्नु भएको रहेछ । आफ्नो निकट रहेकालाई हल्ला फिंजाउन लगाउनुभएको रहेछ । उहां निकट रहेका केटाहरु मलाई अश्लिल व्यवहार गर्न हौसिन्थे । गुरु गुण चेला चिनी भनेजस्तो उहांका आसपासे मलाई हरतरहले बदनाम गर्न लागिपरे । समूहमा आउंने र छामछुम गर्न खोज्थे । मलाई मानसिकरुपमा विक्षिप्त बनाउन तथा हतास बनाउन उनीहरु खटिएका थिए ।

 

अबको मेरो बाटो

 

युवा संघको केन्द्रीय तहमा पुगेकी ममाथि यस्तो अत्याचार भएको छ । देशमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला हुनुहुन्छ । तर, एउटा मन्त्रीले महिलालाई खुलेआम अत्याचार गर्न र बदनाम गराउन छुट छ । मलाई सम्हालिन गाहे भयो । बाहिर कुरा उठाऊं, पार्टीभित्रको कुरा । पार्टीमा कुरा उठाउं म शक्तिहीन, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नै पीडकको पक्षमा ।

 

यो लडाइ पार्टीभित्रको सवालमात्रै होइन । पुरुषत्वको मातमा महिलामाथि गरिने अत्याचारको विषय हो भन्ने ठहर मेरो मनले गर्यो । केयौं दिन मैले साथीहरुसंग सल्लाह गरेर बिताएं । सबैको सल्लाहमा मैले पार्टीभित्रका मैमत्त युवा नेता र मन्त्री भइसकेका मत्ता शेरधनको शैली सार्वजनिक गर्ने निधो गरें । यहां शेरधनजस्ता धेरै शेरहरु महिलालाई शिकारजस्तो झम्टिन्छन् भन्ने उदाहरणका रुपमा मैले मेरो घटनाक्रमलाई लिएकी छु । मेरो सबैभन्दा प्यारो संगठन युवा संघ अहिले मलाई बाघ र बाख्रा संगै राखिएको खोरजस्तो लाग्न थालेको छ । न्यायका लागि गरिएको यो सार्वजनिक याचनामा तपाईहरुको साथ पाउंने अपेक्षा लिएकी छु ।

 

(सबै सन्दर्भ र विषय बताइएकाले यो पत्र पढीसकेपछि पीडित युवतीलाई सम्बन्धित पक्षले चिनिसक्नुहुनेछ । पात्रलाई थप पीडित नबनाउने उद्देश्यका साथ उहांको औपचारिक नाम र ठेगना खुलाइएको छैन । उहांसंग नेपाल आजले दुई पटक अन्तरवार्ता गरेको छ । एक पटक अडियो अन्तरवार्ता र अर्को पटक भिडियो अन्तरवार्ता । कानूनी प्रक्रियामा आवश्यक परेमा वा पीडित पक्ष सार्वजनिक हुन चाहेमा सो अन्तरवार्ता हामीले सार्वजनिक गर्नेछौं । अन्तरवार्तामा गरिएको कुराकानीमा आधारित रहेर यो पत्र तयार पारिएको हो । यसबारेमा मन्त्री राईसंग सम्पर्क गर्ने हाम्रो प्रयास सफल भएन । उहांले समय उपलब्ध गराएमा र प्रतिक्रिया दिन चाहेमा उहांको भनाइ जस्ताको तस्तै प्रस्तुत गर्नेछौं)

युवा संघ शेरधन राई