अर्थ ओटोमोबाइल समाचार

१७ सय ५० ट्याक्सी दर्ता

१७ सय ५० ट्याक्सी दर्ता
Taxi असार २९ । नेपाल सरकारको गत असारकोे निर्णयअनुसार दर्ता गर्ने भनिएको १८ सय ५० नयाँ ट्याक्सी मध्ये करिब १७ सय ५० दर्ता भइसकेको यातायात व्यवस्था कार्यालय बागमतीले जनाएको छ । गत माघसम्म गोलाप्रथाद्वारा छनोट भएकालाई ०७३ असार मसान्तसम्म दर्ता हुनुपर्ने समयावधि तोकिएको थियो । कार्यालयका अनुसार मंगलबारसम्मको तथ्यांकअनुसार करिब १ सय ५० ट्याक्सी दर्ता हुन बाँकी छ ।

असार मसान्तसम्म दर्ता नभए त्यसपछि दर्ता हुन नपाइने व्यवस्था छ । बागमती अञ्चलमा १४ वर्षपछि सरकारले १८ सय ५० नयाँ ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु भएको थियो । नयाँ ट्याक्सी दर्ताका लागि १५ हजार ७ सयभन्दा बढीले आवेदन दिएका थिए । सर्वसाधारण र व्यवसायीतर्फ छुट्याइएको ७ सय र ६५० ट्याक्सी गत असोजदेखि नै दर्ताका लागि छनोट भइसकेका थिए । व्यवसायीतर्फ छुट्याइएको ६ सय ५० ट्याक्सीका लागि ६३८ ले मात्र आवेदन दिएकाले उनीहरू स्वतः छनोट भएका थिए ।

त्यस्तै सर्वसाधारणतर्फ ७ सय नयाँ ट्याक्सी दर्ताका लागि ७ हजार ८ सयभन्दा बढीले आवेदन दिएका थिए । उक्त संख्याबाट गोला प्रथा गरी गत असोज तेस्रो साता ७ सय जनाको नाम छनोट गरिएको थियो । यातायात व्यवस्था कार्यालय बागमतीले गत वर्ष २० साउनदेखि २ भदौसम्म नयाँ ट्याक्सी दर्ताको सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । सरकारले २०५७ पछि गत वर्ष बागमती अञ्चलमा नयाँ ट्याक्सी दर्ता खुला गरेको थियो ।

सरकारले त्यतिबेला बागमती अञ्चलमा १८ सय ५० पुरानोलाई विस्थापन गर्ने गरी नयाँ दर्ता गर्ने, ५ सय भूकम्प प्रभावितका लागि र थप १ हजार डिलक्स र सुपर डिलक्स नयाँ ट्याक्सी दर्ता गर्ने निर्णय गरेको थियो । तर १८ सय ५० नयाँ ट्याक्सीको टुंगो लागेको भए पनि भूकम्प प्रभावितलाई दिने भनिएको र डिलक्स तथा सुपर डिलक्स ट्याक्सीबारे हालसम्म निर्णय हुन सकेको छैन । कारोबार दैनिक

Taxi in nepal