मेरो परिवार मेरो कथा समाचार समाज

एमाले नेताकी माओवादी छोरीः फर्केर हेर्दा पार्वतीको आफ्नै जिन्दगी

एमाले नेताकी माओवादी छोरीः फर्केर हेर्दा पार्वतीको आफ्नै जिन्दगी

कर्णबहादुर थापा ०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट जारकोट ढिमे गाविसको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए । घरमा उनी सरुवाबढुवा, जागिर र टिकटका बिषयमा बुबा गफिरहेका हुन्थे । अर्कोतर्फ उनकी छोरी पार्वतीको विद्यालयमा माओवादीहरु आइरहन्थे र क्रान्तिको कुरा गर्थे । ‘शासकहरुकै सेवा गर्ने यो संसदीय व्यवस्थाले आम जनतालाई मुक्ति दिदैंन । मुठीभर व्यक्तिको रक्षा गर्ने संसदीय व्यस्थाका विरुद्ध बन्दुक नउठाइ हुंदैन ।’ यस्ता कुराले पार्वतीलाई जुरुक्जुरुक बनाउंथ्यो । घरकै वातावरणले संसदीय राजनीतिको चरित्र कस्तो हुन्छ भन्ने उनले बुझिसकेकी थिइन् । माओवादीका क्रान्तिकारी नाराले उनलाई तान्दै लग्यो । बुबासंग उनी बिचारका कारण टाढा हुंदै गइन ।

माओवादीसंग नजिकिएको थाह पाएपछि कर्णले उनको विहे गरिदिने सोच बनाए । छिमेकी केटासंग मगनीको सुरसार भयो । उनले जिन्दगी विवाहमा बन्दकी नराख्ने निर्णय गरिन् । उनले बुबासंग बिद्रोह गरिन । बिबाहको प्रस्ताव अस्विकृत भयो ।

घर नजिकै चौकी थियो । बुबाको ठांट राम्रै थियो । प्रहरी उनको घरमा आइरहन्थे । माओवादी द्वन्द्व चर्किएको थियो । माओवादीका नाममा पाँचकाटीया प्रहरी चौकीको ज्यादती सहिनसक्नु थियो । चौकीले केहीको ज्यान लिइसकेको थियो । चौकीमा ल्याएर निर्दोषहरुको समेत रामधुलाइ भएको उनले नजिकबाट देखेकी थिइन । उनी भुमिगत भइसकेकी थिइनन् । माओवादी विद्यार्थी संगठनमा आबद्ध भने भएकी थिइन । भिनाजु मोतीराम मल्ल पार्टी राजनीतिमा सक्रिय थिए । भिनाजुले उनलाई मुक्तिको बाटो यहीं हो भन्दै हौस्याउंथे । प्रहरी बुबालाई भेट्ने निहुंमा घर आइरहन्थ्यो । खाशमा उसको स्वार्थ बेग्लै थियो । पार्बतीमाथि निगरानी राख्नु थियो ।

एमाले नेताकी छोरी माओबादी, त्यसमाथि प्रहरी खोरमा

माओबादीले चर्को रुप लिइसकेको थियो । उनको घरमा पुलिसको आउजाउ भइरहन्थ्यो । उनको मनमा चिसो पस्न थालिसकेको थियो ः ममाथि निगरानी भइरहेको त छैन ? उनको मनले खाएकी साथी थिइन बसुन्धरा थापा आशा । एकदिन पार्वती थापा बसुन्धराकै घरमा सुतिरहेकी थिइन् । प्रहरीले दम्दाला जिउलामा रहेको घर घेरा हालेर उनीहरुलाई पक्राउ गर्यो । पांचकटिया प्रहरी चौकीमा लगेपछि उनीहरुलाई चर्को यातना दिइयो । बुबाले पनि उनलाई हिरासत मुक्त गर्न पहल गरेनन् । केही समय हिरासतमा बसोस् र माओवादीबाट टाढियोस् भन्ने बुबाको चाहना प्रष्ट देखिन्थ्यो । प्रहरीले उनीमाथि अनेक आरोप लगाउंदै मुद्धा बल्झाउंदै लग्यो ।

जव बुवासंग जम्का भेट भयो

उनलाई पांचकटियाबाट खलंगा लैजाने तयारी भयो । आमाले सो कुराको सुइंको पाएपछि मन थाम्न सकिनन् । उनले आंखाभरि आंशु झारेर छोरीलाई छोडिदिन आग्रह गरिन् । तर, प्रहरीले आमाको कुरा सुनेन । खलंगा लैजादै गर्दा उनलाई उनका गुरु पृर्थी बहादुर खत्रिले ५०० हातमा हालिदिए । सो रकमले उनको मनमा गहिरो छाप छाड्यो । बाले वेवास्था गरेपनि गुरुबाले गरेको माया मनमा कुरा खेलिरह्यो । बुवा स्थानीय निकायको निर्वाचनको टिकट लिन सदरमुकाम गएका थिए । उनी जिल्लाका भीआइपी थिए । उनको सुरक्षार्थ प्रहरी निरीक्षकको नेतृत्वमा १२ प्रहरी खटिएका थिए । अर्कोतर्फ उनकै छोरीलाई प्रहरीले गिरफ्तार गरी हातमा हतकडी र आंखामा पट्टी बांधेर खलंगातिर लगिरहेको थियो । छोरीसंग बुबाको जम्काभेट भयो । बुबा निशब्द थिए । छोरीको त्यो अवस्था देखेर उनी झस्किए । कतै छोरीलाई केही हुने त होइन भन्ने चिन्ता व्यक्त गरिरहेका थिए । बुबा प्रहरी सुरक्षाको घेरामा छोरी प्रहरीको हतकडीमा एक साथ भेटिदाको त्यो क्षण चलचित्रको दृश्यजस्तो लाग्थ्यो ।

हिरासतमा सात महिने गर्भे तारा

सदरमुकामको हिरासत अझ बढी डरलाग्दो थियो । केरकारका नाममा दिइने यातनाका कारण वरपरको वातावरण चित्कारले थर्किन्थ्यो । ‘म सात महिनाकी गर्भे हुं, मेरो पेटको बच्चालाई जन्मन देआओ । त्यसपछि मलाई जे गर्नुछ गर । यसलाई नमार ।’ चिनेको स्वर पार्वतीको कानमा ठोक्कियो । गर्भे महिलामाथि यस्तो यातना † पार्वतीलाई असह्य भयो । उनको शरीरमा कांडा उम्रिएर आयो ।

छिमेकी गाउकी तारा रहिछन् गर्भे बन्दी । महिला त्यसमाथि चिनिराखेकी तारा † पार्वतीले मन थाम्न सकिनन् । उनी चिच्चाइन्, ‘असत्ति हो तिमीहरुको घरमा दिदीबहिनी छैनन् । एउटी गर्भे महिलामाथि यस्तो यातना ? पशुलेपनि यस्तो गर्दैन ।’ पार्वतीले प्रतिकार गरिन् । नरभंक्षी सिंह झैं प्रहरीहरु पार्वतीमाथि जाइलागे । सिस्नुपानीले यौनाङ्गमा हान्न थाले । बन्दुकको कुन्दाले संवेदनशील ठाउमा कोप्न थाले । हातका नङमा पनि ठोक्न थाले । त्यसपछि के भयो उनलाई थाहा छैन । उनी बेहोश भइन् । हल्ला चल्यो पार्वती मारिई । एक कान दुई कान मैदान हुंदै यो खबर पांचकटियासम्म पुग्यो । घरमा रुवावासी चल्यो ।

बुबाको बलमा छुटिन्

पार्बती माओवादीबाट अलग होस भन्ने कर्णको चाहना थियो । तर, छोरी जिन्दगीबाटै अलग हुने स्थिति निम्तियो । कर्णले छोरीलाई तत्काल नछाडे आफुले गाविस अध्यक्षको टिकट फिर्ता गर्ने र भुमिगत हुने चेतावनी दिए । गाउघरमा राम्रै प्रभाव भएका उनको चेतावनीले जिल्लाको सुरक्षा र राजनीतिक नेतृत्वलाई गम्भीर हुन बाध्य बनायो । पार्वती हिरासतमुक्त भइन् ।

पार्वतीको खुट्टा सुनिएर हात्तीपाइले रोग लागेजस्तो भएको थियो । हिड्नपनि सक्दिनथिन् । धरमराउथिन् । उनका बाबुले तागतले उनी घर फर्कन सकिनन् । तर, गर्भे तारा हिरासतमै यातना खाएर बसिरहेकी थिइन् । उनी घर फर्केपछि पनि ताराकै चित्कार उनको कानमा गुन्जिरहन्थ्यो । उनी एकतमासले टोलाइरहन्थिन । बाबा गन्यमान्ने नेता भएपनि आफुमाथि अन्याय भएको कुराले उनलाई झन बिंझाउंथ्यो । राज्यले चाह्यो भने जेपनि हुंदो रहेछ । यस्तो राज्यसत्ता परिवर्तन नगरी हुंदैन । उनको मनमा झनै जोडले हुरी मच्चिन थाल्यो । शरीर केही तंग्रिएपछि उनी भुमिगत भइन ।

प्रश्नैप्रश्नको चाङमा पार्वती

कलिलो अबस्थामा माओवादी राजनीति र भुमिगत जीबन थालेकी जाजरकोटकी पार्वती थापा आफुलाई आस्था भन्न रुचाँउछिन । आस्थाकै कारण उनी बुबाबाट टाढा भएकी थिइन । मृत्युयात्रा पार गरेकी उनी अहिले जम्बो माओवादी केन्द्रकी सदस्य छिन । उनी पद र पैसाका लागि राजनीतिमा लागेकी थिइनन् । त्यसो हुंदो हो त उनी बुबाकै छत्रछांयामा एमालेको नेता हुने अवसर छाडेर माओवादी किन बन्थिन् र ?

अहिले माओवादी केन्द्र र एमालेका बीचमा खाशै फरक केही छैन । एमाले माओवादीभन्दा व्यवस्थित र संगठित छ । क्रान्तिकारी भनिएको माओवादीमा केन्द्रदेखि तलसम्म भद्रगोल छ । पार्टीले क्रान्तिकारी कार्यदिशापनि लिन सकेको छैन, कार्यकर्ताको संरक्षणपनि गर्न सकेको छैन । अध्यक्ष प्रचण्ड बेलाबेलामा एमालेसंग पार्टी एकता गर्न सकिने भन्दै भाषण गर्छन । आस्थाका कारण एमालेको छहारी छाडेर मृत्युपथ रोजेर माओवादी भएकी पार्वतीको मस्तिष्कमा यक्ष प्रश्न तेर्सिन्छ, ‘हिजो बुबालाई तड्पाएर माओवादी भएकी म आज बुबाकै पार्टी एमालेमा किन एकीकृत हुने ?’

प्रस्तुतिः भौतिक मल्ल

Pabitra