कभर स्टोरी मेरो परिवार मेरो कथा समाचार समाज

गोली हानी खाडलमा पुरिएका मोहन यसरी बाँचे

गोली हानी खाडलमा पुरिएका मोहन यसरी बाँचे

ब्युँझदा शरीर पुरै निदाएको थियो । ढुँगाले खुट्टा च्यापिएको रहेछ । तर दुखिरहेको थिएन । उठन खोजे उठनै सकिन । शरीरमाथि सोतर स्याउला र माटो थियो । पुरै शरीर रगतले लतपतिएको थियो । देब्रे हात गलिसकेको जस्तो लाग्यो । ‘शरीर आफ्नो हो कि अर्कैको ?’ मन झसङ्ग भयो । त्यसपछि मलाई घटनाको याद भयो । गोली हानेर पुरिएको थियो । वरपर साथी थिए । तर, उनीहरु सबै लास भइसकेका थिए ।

आँखाभरी आँशु राख्दै कहाली लाग्थो आत्मकथा कहने मोहन बिसी माओवादी पूर्व लडाकु हुन् । ०५८ सालमा माओवादीमा पूर्णकालिन बनेका बिसी द्वन्द्वकालमा सेनाको आक्रमणमा परेका थिए । उनीसहित ४ जना जाजरकोटे कमरेड पार्टी कामको शिलशिलामा जुगाथापाचौर पुगेका थिए । त्यहीं उनीहरुलाई सेनाले छोप्यो । उनीहरुको आँखामा पट्टि बांधियो । त्यसपछि कहां लगियो ? केही थाहा भएन । यातनाको के कुरा भयो र ? आफूलाई दिइएको यातनाभन्दा सँगै पक्राउ परेकी प्रेणालीमाथि बलात्कार हुँदा असह्य हुन्थ्यो । प्रणालीको चित्कारले उनको मुटु छियाछिया हुन्थ्यो ।

मृत्युयात्रा

मोहनलाई छिटो मर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गोली हाने पनि बरदान दिएजस्तो हुने भइसकेको थियो । बन्दुकको कुन्दाले उनको शरीर थिलो-थिलो परेको थियो । पछि-पछि त चोट भन्ने महशुुुससमेत हुन छाड्यो । उनीहरुले लख काटे सीमा गाविसको जङ्गलमा पुर्याइयो । र, सजिलै अन्दाज गरे ‘मार्नलाई ल्याइयो ।’

मान बहादुर कठायत ध्रुब, प्रेम बहादुर अधिकारी प्रदेशी, मोहन बिसी र प्रणाली घर्ती मगरलाई लाइनमा राखियो । उनीहरुमाथि क्रमशः गोली दागियो । तेस्रो नम्बरमा रहेका बिसी पनि ढले । ‘मर्ने बेलामा डर भन्ने हुंदोरहेनछ ।’ उनले अदभुत अनुभव सुनाए ।

गोली लागेपछि उनको होस गुम्यो । होसमा आउंदा उनी खाडलमा स्याउला र माटोले पुरिइसकेका थिए । छेवैमा लहरै राखिएका साथी हलचल नगरी लम्पसार परेका थिए । मोहनलाई लाग्यो, ‘न सेना वरपर छ भनेर मरेको बाहना गरिरहेका छैनन् ?’ होइन रहेछ साथीहरु वास्तवमै मरिसकेका रहेछन् ।

साथीहरुको शरीर हेर्नै नसक्ने गरी क्षतपिच्छेद र रगतपच्छे भएको थियो । प्रेरणाको शरीरमा त उनले आंखा लगाउन पनि सकेनन् । उनी एकोहोरो रोइरहे । जब मन शान्त भयो । उनको मनमा डर पलायो । ‘ला  फेरि सेना आयो भने ?’ उनी जुरुक्क उठेर सुइकुच्चा ठोक्न खोजे । तर, शरीर उठाउनै सकेनन् । शरीर नै ज्यानका लागि भारी भइसकेको थियो । घिस्रिएर उनी खाडलबाट बाहिर निस्किए ।

२०५९ साल कात्तिक १८ गते मानबहादुर बिसी उर्फ मोहन बिसीले नयां जन्म पाए ।

अरु तीनजनाजस्तै उनलाई पनि छातीमा गोली हानिएको थियो । तर, सेनाको निशाना केही चिप्लियो । छातीमा ताकेको गोली बाँया हातको काँधमा लाग्यो र नाँच्दै बाहिरियो । उनी डङरङ्गै भुइमा पछारिए । शरीरभरी रगत फैलियो । सेनाले मरेकै सम्झियो । सबैलाइ एकै ठाँउमा पुर्यो । आफ्नो मिसन पूरा भएपछि सेना फर्कियो, संगै मोहनको जीवन पनि बांकी रह्यो ।

 गोली हान्नु पहिला मात्र आमालाइ सझेँ

उनी क्रान्तिका लागि मर्न समेत तयार भएका थिए । तर, मर्नै लाग्ने बेलामा उनले आमालाई सम्झिए । आमा सम्झिएपछि उनको आँखा रसायो । झनै पीडा भयो । बरु चाँडो गोलि हाने हुंने भनेजस्तो भयो । उनी एक तमासमा टोलाइरहे । ढ्याङ्ग एम १६ को २ राउन्ड गोली उनको छातीतर्फ सोझियो । आमाको आर्शिबाद निशाना थोरै भएपनि चुक्यो । त्यसपछि उनलाई झन सकस भयो । सेनाको लिष्टमा उनी मरिसकेका थिए । बाँचेको थाहा भए फेरि मारिन्थे । जसोतसो उपचार गरेर उनी बाँचे र पार्टी काममा सक्रिय भए । नाफाको जिन्दगी पाएका उनी फेरि माओवादी लडाकु भए ।

मृत्यु त जितियो, राज्यसत्ता कसरी नजितिएला भन्ने उनको विश्वास थियो । साथीको रगतको आहलमा घण्टौं पछारिएका उनलाई सहिदको रगतले उर्जा दिइरन्थ्यो । तर, परिस्थिति बदलियो । माओवादी शान्ति प्रक्रियामा आयो । उनी ब्यारेकमा सिमित भए । पछि सेना समायोजनको प्रक्रिया शुरु भयो । उनको हैसियत बन्यो–बर्हिगर्मित लडाकु ।

 लडाकु पसले

मृत्यु जितेर फर्केका मोहनले कहिल्यै सोचेका थिएनन् सुर्खेतको छिन्चुमा कोल्डस्टोर चलाएर जिन्दगी गुजारा गरिएला । मृत्यु वा मुक्तिको लडाइमा होमिएका मोहन बिसीले अहिले लडाकु पसलेको पहिचान बनाएका छन् । नेताहरुले जे भनेका थिए, त्यो पूरा भएन । उनीहरुले बाटो बदले तर कार्यकर्तालाई बीच बाटोमै छाडे । पसले हुनलाई उनले मृत्युकाे बाटो रोजेका थिएनन् । प्रणाली बलात्कृत भएको र मारिएको राज्य प्रणाली परिवर्तनका लागि थियो । उनलाई विगत सम्झदा झनै भाउन्न छुट्छ । आफूजस्तै हजारौं युवामाथि धोका भएको उनको ठहर छ ।

प्रस्तुतिः भौतिक मल्ल

ladaku pasale ladaku yodhya