अर्थ

कम मूल्यको घर कसरी पाउने ?

कम मूल्यको घर कसरी पाउने ?
शहरमा घरजग्गा किन्न चाहने तर मूल्य धेरै तिर्न नसक्नेहरुलाई बैंकले लिलाम गरिरहेका घरजग्गा एउटा विकल्प हुन सक्छ । अहिले बैंकहरूले कर्जा उठाउन धितोमा रहेको यस्तो घरजग्गाको विक्री बढाएका छन् । बैंक तथा वित्तिय संस्थाले आफ्नो कर्जा असुलीको क्रममा ऋणीहरूबाट ऋण असुल नभए घरजग्गा लिलाम गर्छन् । कानुनले नै उनीहरूलाई यस्तो अधिकार दिएको छ । house_Clip_Art नेपालमा बैंक तथा वित्तिय संस्थाले यसरी घरजग्गा लिलामीमा विक्री गर्दा २ तरीका अवलम्बन गर्ने गरेका छन् । धेरैजसो निजी बैंकहरूले सूचना प्रकाशित गरेर तिर्न चाहेको मूल्य उल्लेख गरेर गोप्य खामबन्दी आवेदन हाल्न भनेका हुन्छन् भने अधिकांश सरकारी बैंकहरूले बोली बढाबढ (अर्थात् सबै बिडर्सहरू एक स्थानमा भेला भएर आफूले तिर्न चाहेको बोली लगाउने कार्य) गर्छन् । बैंकहरूले बजार मूल्यभन्दा करीब २०–२५ प्रतिशत कममा ती सम्पत्तिको मूल्य रिजर्भ (त्यस्ता सम्पत्तिको न्यूनतम विक्री मूल्य तोकेको) गरेको हुन सक्छ । यही मूल्यलाई नै आधार मानेर बोली लगाउने वा गोप्य खामबन्दी आवेदनमार्फत तिर्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन सक्छ । यस्तो कार्यलाई बिड लगाउने-बिडिङ गर्ने भनिन्छ । यसरी लिलामीमा भाग लिने लगानीकर्ताहरूलाई बिल्डर्स भनिन्छ । आवश्यक रकम साथमा हुनुपर्छ लिलाम बढाबढको क्रममा आफूले लगाएको बोली नै सो घरजग्गाको मूल्यको रूपमा कायम भएमा बैंक तथा वित्तीय संस्था र घरकिन्नेबीच सम्झौता हुन्छ । सो सम्झौतामा उल्लेख गरिएको मितिमै भुक्तानी दिनुपर्ने हुन्छ । भुक्तानी मिति लिलाम भएको समयपछि केही दिनको हुन्छ । त्यसैले, आफूसँग साथमा रकम हुनु अनिवार्य हुन्छ । बैंकहरूले प्रकाशित गर्ने सूचनामा लिलाम गर्न लागिएको घरजग्गाबारे विस्तुत जानकारी दिइएको हुन्छ । जस्तो कि, सो घरजग्गाको न्यूनतम मूल्य (रिजर्भ प्राइस), लिलाम हुने मिति, समय, स्थान र लिलाममा सहभागी हुन राख्नुपर्ने अग्रिम घरौटी (अर्नेष्ट मनी डिपोजिट) आदि । यस्तो सूचनामा प्रायः लिलामीबाट घरजग्गा खरीद गर्न चाहनेले आफ्नो बिड लगाउनुअघि त्यो घरजग्गाको अवलोकन गर्न सक्ने विषय पनि खुलाइएको हुन्छ । बिडर्सहरूले लिलामी गर्न लागेको बैंकमा आफूले तोक्न चाहेको रकम उल्लेख गरी आवेदन दिनुपर्दछ । यसरी रकम उल्लेख गर्दा त्यो रिजर्भ प्राइसभन्दा कम भने हुनु हुँदैन । साथै, बिल्डर्सहरूले अग्रिम घरौटी तिर्नुपर्ने हुन्छ । यस्तो धरौटी राख्दा रिजर्भ प्राइसको कम्तीमा १० प्रतिशत राख्नुपर्ने हुन्छ । यस्तो लिलामी प्रायः बैङ्कहरूले सूचना निकालेको ३० दिनभित्रमा सम्पन्न हुन्छ । त्यसैगरी, यो अवधिमा सो बैङ्कले लिलाम गर्न लागेको आफ्नो सम्पत्ति छुटाउन ऋणीले कर्जा चुक्ता गर्ने सम्भावना पनि रहन्छ । यदि ऋणीले यसरी आफ्नो घरजग्गा छुटायो भने लिलाम कार्य स्थगित हुन्छ । यसअघि तपाईंले राखेको धरौटी पनि फिर्ता हुन्छ । यदि लिलामी भयो र तपाईंको बिड छानिएन भने पनि तपाईंको रकम फिर्ता हुन्छ । तर यदि तपाईंको बिड छानियो भने सोही दिन रिजर्म मूल्यको करीब २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम बैंक र तपाईंबीच करार हुँदा कायम भएको अन्तिम भुक्तानी मितिसम्ममा तिरिसक्नुपर्छ । यदि तपाईंले सम्झौताअनुसारको मितिमा रकम बुझाउन सक्नुभएन भने अगाडि तिरेको रकम पनि फिर्ता हुँदैन । त्यसैले, आफूले लगाएको बिडअनुसार रकम तिर्न सक्ने अवस्था भएमा मात्रै लिलामीमा सहभागी हुनु ठीक हुन्छ । हुन त कतिपय बैङ्कहरूसँग कर्जा लिएर पनि यस्तो लिलामीमा सहभागी हुने गर्छन् । बैंकबाट कर्जा लिने हो भने लिलामी हुनुअघि नै लिइसक्नु पर्छ । किनकि, लिलाम भएका घरजग्गाको मूल्य तिर्ने समय छोटो हुन्छ । कुनै एक स्थानमा भेला भएर बोली लगाउँदा भने आवेगमा आउनु हँुदैन र यसलाई आफ्नो प्रतिष्ठासँग दाँजेर हेर्नु हुँदैन । किनभने, यसो गर्नाले तपाईंले तिर्न सक्ने रकम वा सो घरजग्गाको बजार मूल्यभन्दा बढी बोली लगाउने स्थिति बन्न सक्छ । यसबाहेक सो घरजग्गा खरीद गरेपछि अन्य केके दायित्व आफूले लिनुपर्ने हुन्छ, त्यसमा ध्यान दिनुपर्छ । जस्तो कि, टेलिफोन, विद्युत् केबल, खानेपानीलगायतका महशुल तिर्न बाँकी छ कि छैन । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूले यस्ता विषय पनि खुलाएर लिलामका सूचना प्रकाशित गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाले बाहेक अन्यले गरेको घरजग्गा लिलाममा भने यस्तो शूल्क तिर्न बाँकी रहेको छ भने पनि खरीदकर्ताले नै त्यसको दायित्व वहन गर्नुपर्ने चलन छ ।

house