मनोरञ्जन

सरकारले दिने एउटा भिन्दै कार्ड – सेलिब्रेटी कार्ड

सरकारले दिने एउटा भिन्दै कार्ड – सेलिब्रेटी कार्ड
आमरुपमा चर्चामा रहने पात्रलाई सेलिब्रेटी भनिन्छ । कलाकारिता क्षेत्रका मानिसलाई धेरैले चिन्छन्, पछ्याउंछन् । त्यसैले उनीहरुलाई सेलिब्रेटी भनिन्छ । अब कसैले आफुलाई सेलिब्रेटी दाबी गर्दैमा हुंदैन । सरकारले नै सेलिब्रेटीको पहिचान दिन्छ । सरकारी सेलिब्रेटी कार्ड पाएपछि मात्र वैधानिक सेलिब्रेटी भइनेछ । यसका लागि सरकारले मापदण्ड तोकेको छ । ४० बर्ष कलाकारिता क्षेत्रमा योगदान गरेका व्यक्तिले सेलिब्रेटी कार्ड पाउनेछन् । तेह्र जनाले पाइसकेका छन् । ४० बर्षको अनुभवका कारण अधिकांश सेलिब्रेटी कलाकार यो कार्डबाट बञ्चित भएका छन् । celebrity card चलचित्र बिकास बोर्डको प्रस्तावमा सरकारले बरिष्ठ कलाकारहरुको सम्मानार्थ यो कार्ड ल्याएको हो । यो कार्ड एकपटक पाएपछि जीबनभर नबिकरण गर्न पर्दैन । ककस्ले पाए ? पहिलो चरणमा तेह्र कलाकारले सेलिब्रेटी कार्ड पाएका हुन् । अनुभव र योगदान हेरेर क्रमशः अरु कलाकारलाई पनि कार्ड उपलब्ध गराउने सरकारको योजना छ । हरिप्रसाद रिमाल, निर शाह, गेहेन्द्र प्रसाद धिमाल, भुवन चन्द, यादव खरेल, चेतन कार्की, बशुन्धारा भुषाल, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सकुन्तला गुरुङ शर्मा, सुभद्र अधिकारी, मञ्जु कुमार श्रेष्ठ र उद्धव पौडेलले यो कार्ड हात पारिसकेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले अन्य चलचित्रकर्मीलाइ पनि चाँडै नै परिचयपत्र प्रदान गरिने बताए । कार्डको उपयोगिता कार्डको पहिलो उपयोगिता राज्यले दिएको पहिचान हो । दोस्रो यो कार्ड भएपछि स–सम्मान सिंहदरबार छिर्न पाइन्छ । लाइन लाग्नुपर्ने ठाऊंमा लाइन लाग्न नपर्ने जनाइएको छ । तर, यसका बारेमा प्रष्ट खुलाइएको छैन । योग्यभन्दा पनि बुढो हुनुपर्ने नमरी स्वर्ग देख्न पाइन्न भनेझैं बुढो नभइ यो कार्ड पाइने छैन । ४० बर्ष कला क्षेत्रमा बिताउनलाई औषध ५५ बर्षको हुनुपर्छ । बर्ष गनेर दिइने कार्ड बृद्ध कार्डजस्तै भनि टिप्पणी हुन थालेको छ । यो कार्ड पाउनका लागि अहिलेका अधिकांश चर्चित कलाकारले अझैं २५ बर्ष कुर्नुपर्ने देखिन्छ । राज्यले सेलिब्रेटी भनि पहिचान दिएका अधिकांश कलाकार कार्ड पाएको मितिमा आमरुपमा भुलिइसकेका पात्र हुने देखिन्छ । अहिले कार्ड पाएकाहरुमध्ये अधिकांश अहिलेको पुस्ताका लागि अपरिचितजस्तै छन् । प्रस्तुतिः कञ्चन न्यौपाने