समाचार स्वास्थ्य

चेपाङ बस्तिका बालबालिका कुपोषणको सिकार

चेपाङ बस्तिका बालबालिका कुपोषणको सिकार
जेठ, ९, जोगीमार धुसराङको चेपाङ बस्तिमा ज्याला गरेर पनि परिवार पाल्न धौ धौ हुने चेपाङ परिवारका बालबालिका कुपोषणको सिकार भएकाछन् ।
RSS
आमाले खाने पौष्टिक तत्व त परै जाओस अहिले चेपाङ गाउँमा हरियो सागसब्जी पनि केही छैन । घरमा खाने अन्नको दाना छैन । आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ । जोगीमारा–७, धुसराङ निवासी ४० वर्षीया विष्णुमाया चेपाङले पाँच महिनाअघि जन्माएको छोरा अति कुपोषणको सिकार भएको छ । छोराले आमाको दूध चुस्न नपाएपछि बढ्न नसकेको उनकी आमा विष्णुमायाको भनाइ छ । विष्णुमायाले नौ शिशु जन्म दिइन, हाल पाँच शिशु मात्र जीवित छन । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको अनुभव विष्णुमायासँग छ । साधारणतया जन्मनेबित्तिकै शिशुको तौल तीन किलोग्रामको हाराहारीमा हुन्छ । विष्णुमायाको पाँच महिना पुगेको शिशुको तौल दुई किलोग्राम ५०० ग्राम मात्र छ । यस अवधिमा बच्चाको तौल करिब पाँच वा छ केजीसम्मको हुनुपर्ने हुन्छ । अलि ठूलो टाउको तथा ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । ख्याउटे शिशु बिरामी भएर आँखा मात्र हेरिरहेको अवस्थामा विष्णुमायाको शिशु भेटिएको पोषणसम्बन्धी काम गर्ने संस्था एसडिपिसीका जिल्ला संयोजक पूजा गुभाजुले जानकारी दिनुभयो । इन्टरनेसनल मेडिकल कर्पसको सहयोगमा एसडिपिसीले कडा कुपोषण भएको शिशुलाई उपचार र पोषणयुक्त खानेकुरा खुवाउने कार्यमा सहयोग गर्दै आएको छ । कुपोषित अवस्थाका बिरामीलाई सहयोग गरेजस्तै विष्णुमायाको पाँच महिनाको शिशुलाई उद्धार गरी उपचारमा राखिएको छ । उसलाई एफ ७५ र एफ १०० उपचार विधिबाट उपचार गरिँदै गरेको गुभाजुले जानकारी दिनुभयो । रासस