सेवाग्राहीलाई राहत : टेलिकमले ल्यायो अफरै अफर

  • बुधबार, २३ जेठ २०७५ गते मा प्रकाशित
सेवाग्राहीलाई राहत : टेलिकमले ल्यायो अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीलाई दृष्टिगत गरी दर्जनभन्दा बढी अफर ल्याएको छ । एनटिसी प्रयोगकर्तालाई आफ्नो सेवा सुविधाबाट खुसी बनाउने उद्देश्यले टेलिकमले विभिन्न अफर ल्याएको हो । एनटिसीले ल्याएका अफरहरू २०७५ वैशाख २६ गतेसम्मका लागि थियो । तर, त्योसँगै अरू ९० दिनका लागि पनि उक्त अफरहरू रहिरहने टेलिकमले जानकारी दिएको छ ।    

 

एनटिसीले ल्याएका आकर्षक अफरहरू: 


विकेन्ड प्याक


सातामा आइत, शुक्र र शनिबार प्रतिदिन एक जिबीका दरले विकेन्ड प्याक लिन सकिने  सुविधा रहेको छ । उक्त दिनमा अधिकांश कर्मचारीको छुट्टी हुने गर्छ । अफिस, कलेजले दिने गरेका छुट्टीको दिनमा एनटिसी प्रयोगकर्ताहरूलाई यसबाट सञ्चारको दुनियाँमा रमाउन टेलिकमले सजिलो बनाएको छ । यसबाट प्रयोगकर्तालाई ठूलो राहतको महसुस हुने  टेलिकमले बताएको छ । यसको प्रयोगका लागि WEEKEND टाइप गरेर १४१५मा सेन्ड गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।


अल टाइम डाटा


अल टाइम डाटा प्याकमा एनटिसी प्रयोगकर्ताले १० देखि ५ सय रुपैयाँमा ३ दिनदेखि २८ दिनसम्म डाटा र बोनस डाटा खरिद गरेर इन्टरनेट चलाउन सक्ने सुविधा आएको छ । यो सुविधा अन्य दूर सञ्चार सेवा प्रदायक कम्पनीभन्दा निकै नै सस्तो हो । यसले एउटा कोठा भाडामा लिएर बस्ने र घरबाहिर जानु परेको अवस्थामा इन्टरनेट चलाउन सहज हुने भएको छ । यसको प्रयोगका लागि DATA टाइप गरी आफूलाई आवश्यक एमबीसहित १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।


नाइट डाटा प्याक


टेलिकमले नाइट डाटा प्याकमा बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मका लागि सस्तो मूल्यमा मोबाइल डाटा खरिद गर्न सक्नेछन् । नाइट डाटा प्याक अन्य डाटा प्याकभन्दा निकै सस्तो छ । नाइट डाटा प्याक कम्तिमा १५ देखि बढीमा तीन सय रुपैयाँसम्मको खरिद गर्न सक्ने व्यवस्था नेपाल टेलिकमले गरेको छ । नाइट प्याकमा १५ रुपैयाँमा १ सय ५० एमबी खरिद गर्दा ७५ एमबी डाटा बोनस प्राप्त गर्न सकिन्छ । कुल २ सय २५ एमबी डाटालाई ३ दिनमा समाप्त गर्नुपर्ने समयावधि तोकिएको टेलिकमले बताएको छ ।


अनलिमिटेड नाइट डाटा 


टेलिकमले बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मका लागि अनलिमिटेड नाइट डाटा प्याकको अफर ल्याएको छ । १५ रुपैयाँमा एक नाइट र ४० रुपैयाँमा ३० नाइटसम्मको यो अफर दिएको हो  । यसले रातीको समयमा एनटिसी प्रयोगकर्तालाई इन्टरनेटमा रमाउन ठूलो सहयोग गर्ने गरेको छ ।  


सोसल मिडिया प्याक


नेपाल टेलिकमले  सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपका लागि छुट्टाछुट्टै प्याक पनि ग्राहकलाई उपलब्ध गराएको छ । टेलिकमले आइओएस र एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि कम्तिमा १२ देखि अधिकतम दुई सय रुपैयाँसम्मको सामाजिक सञ्जाल प्याक उपलब्ध गराएको हो ।


डाटा स्ट्रिमिङ प्याक 


टेलिकमले डाटा स्ट्रिमिङ प्याकअन्तर्गत युट्युब प्रयोगकर्ताका लागि पनि गजबको अफर दिएको छ । ग्राहकले वाउ टाइम एपबाट सस्तो रेटमा युट्युब भिडियो र लाइभ टेलिभिजन स्ट्रिमिङको मज्जा लिन सक्ने भएका छन् । १० रुपैयाँदेखि एक सय १५ रुपैयाँसम्मको प्याकेज लिन पाइने स्ट्रिमिङ प्याकमा ५० प्रतिशत बोनस पनि प्राप्त गर्न सकिने टेलिकमले बताएको छ । यसको प्रयोगका लागि आफुलाई आवस्यकता अनुसार YT100MB टाइप गरेर १४१५ मा एसएमएस पठाउनुपर्ने प्रावधान छ । 


फोर जी डाटा प्याक


एनटिसीले ग्राहकलाई सस्तो मूल्यमा फोर जी लिफ्ट सेवा उपलब्ध गराउँदै आएको बताएको छ । अहिले  काठमाडौं र पोखरामा सञ्चालन रहेको फोर जी सेवा मोबाइलमा स्टार ४४४ एच डायल गरी सञ्चालन गर्न सकिने टेलिकमले बताएको छ । यसका लागि भने ग्राहकको मोबाइल फोर जी नेटवर्क सपोर्ट गर्ने हुनुपर्छ । यस्तै टेलिकमका अनुसार उक्त मोबाइल प्रयोगकर्ता फोर जी वा लिफ्ट नेटवर्कको उपलब्धता भएको स्थानमा हुनुपर्ने छ ।  


टेलिकमले ३० प्रतिशत बोनससहित १२ रुपैयाँदेखि पाँच सयसम्मका विभिन्न प्याक लिन सक्ने बताएको छ । यी डाटा प्याक मूल्यअनुसार ३ दिनदेखि २८ दिनसम्म चलाउन सकिने टेलिकमको भनाइ छ । एनटिसीले प्रदान गरेका डाटा प्याकेज पनि अन्य नेटवर्कको भन्दा धेरै सस्तो भएको टेलिकमको दाबी छ । फोर जीबाट हाई स्पिडमा इन्टरनेट चल्ने भएकाले यसबाट उच्च गुणस्तरको भिडियो अवरोधबिना हेर्न सकिने टेलिकमले बताएको छ । 


भ्वाइस प्याक


टेलिकमले ग्राहकलाई सस्तो दरमा अलटाइम भ्वाइस प्याकको सुविधा दिँदै आएको छ । टेलिकमका जीएसएम र सिडीएमए प्रयोगकर्ताले भ्वाइस प्याक लिन सक्ने छन् । भ्वाइस प्याक लिनका लागि १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमले जानकारी दिएको छ । भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा एक दिनका लागि ११ मिनेट  कुरा गर्ने सकिने छ ।


नाइट भ्वाइस प्याक


ग्राहकलाई नाइट भ्वाइस प्याकको सुविधा पनि दिएको टेलिकमले बताएको छ । ग्राहकले सस्तो दरमा राती १० बजेदेखि बिहान ६ बजेसम्म नाइट भ्वाइस प्याकको मज्जा लिन सक्ने छन् । नाइट भ्वाइस प्याकका १० रुपैयाँले ३ दिनसम्मका लागि ७० मिनेट कुरा गर्ने सुविधा रहेको छ ।


‘सियुजी प्याक’


टेलिकमले सियुजी अफरअन्तर्गत भ्वाइस डाटा र फ्रि एसएमएससहितको सियुजी प्याक उपलब्ध गराएको छ । सियुजी प्याक एनटिसीकोे जिएसएम र सिडिएमए प्रयोगकर्ताले लिन सक्छन् । सियुजी प्याकमा २ सयदेखि १६ सयसम्मको प्याकेजमा भ्वाइस कल, डाटा र फ्रि एसएमएसको सुविधा उपलब्ध छ ।


दुई सय रुपैयाँमा ६५ मिनेट भ्वाइस कल १२५ एमबी डाटा र २५ एसएमएस गर्न सकिन्छ भने १६ सयमा ७ सय ५० मिनेट भ्वाइस कल, २७०० एमबी डाटा र २ सय ५० एसएमएस गर्न पाइने टेलिकमले बताएको छ ।


एनी टाइम्ड याफटिटीएच अफर


टेलिकमले एनी टाइम्ड याफटिटीएच अफर पनि ल्याएको छ । जसअन्तर्गत ७ सयले एक महिना र ५५ एमबीका दरले १६ हजारले १२ महिनासम्म इन्टरनेटको मज्जा लिन सकिने टेलिकमले बताएको छ । यो अफरमा इन्डिभिजुएल युजरहरूका लागि रहेको छ ।


यस्तै याफटिटीएच अफरअन्तर्गत कर्पाेरेट युजरहरूका लागि ३ महिनामा १० एमबीका दरले ९ हजार रहेको छ भने २० एमबीका दरले १७ हजारमा इन्टरनेट चलाउन सकिने टेलिकमले बताएको छ ।


इन्डिया आउट गोइङ कल अफर


नेपाल टेलिकमले इन्डिया आउट गोइङ कल अफरअन्तर्गत सस्तो मूल्यमा डेली प्याक, विक्ली प्याक, मन्थ्ली प्याक पनि दिँदै आएको छ । डेली प्याकअन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कुरा गर्न सकिन्छ  भने मन्थ्ली प्याकअन्तर्गत ५ सयले २ सय २५ मिनेट कुरा गर्न सकिने छ । यो अफर लिनका लागि DINDIA टाइप गरेर १४१५ मा एसएमएस पठाउनुपर्ने नेपाल टेलिकमले जनाएको छ ।