आम उपभोक्तालाई सहुलियतमा खाद्यान्न बेच्दै खाद्य संस्थान

  • बुधबार, १४ चैत २०७४ गते मा प्रकाशित
आम उपभोक्तालाई सहुलियतमा खाद्यान्न बेच्दै खाद्य संस्थान

काठमाडौं । सरकारी संलग्नतामै उपभोक्तालाई आवश्यक खाद्यन्न आपूर्तिको व्यवस्थापन गर्दैआएको नेपाल खाद्य संस्थानप्रति उपभोक्ताको विश्वास बढ्दो छ । संस्थानले देशका विभिन्न भूभागमा उत्पादन भएका गुणस्तरीय खाद्य सामाग्री सर्वसुलभ मूल्यमा उपभोक्ताले प्राप्त गर्न थालेपछि संस्थानप्रति आम उपभोक्ताको विश्वास बढेको हो ।

 

असमान रुपमा खाद्य उत्पादनले गर्दा देखिएको समस्यालाई व्यवस्थापन गर्दै खाद्य संस्थानले सर्वसाधरणको माग र अापूर्तिलार्इ केही हदसम्म समाधान   गर्दैआएको बताउँछन् संस्थानका प्रवक्ता शंकर सापकाेटा । संस्थानको गोदाममा जनकपुरमा उत्पादित वासमती चामल लगायत खाद्यन्न साथै कर्णाली अञ्चल (७ नम्बर प्रदेश)मा उत्पादित सिमी, फापर, उवा, चिनो सहज मुल्यमा बिक्री गर्दैआएको उनले बताए ।

 

खाद्य संस्थानले अञ्चल कार्यालय थापाथलीस्थित गोदामबाट १२ प्रकारका चामल, गहुँ, कर्णालीको सिमी, तितेफापर, उवा (करु) लगायत खाद्यन्न बिक्री वितरण गर्दैआएको नेपाल खाद्य संस्थान बागमती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । न्यौपानेका अुनसार काठमाडौंस्थित थापाथली गोदामका साथै देशैभर रहेका गोदामबाट संस्थानले १८ प्रकारका खाद्य वस्तु सर्वसाधरणका लागि सहुलीयत दरमा उपलब्ध गराउँदैआएको छ ।

 

उद्योग बार्णिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत नेपाल खाद्य संस्थान गैरनाफामुखी संस्था हो । सरकारको नियन्त्रणमा रहेर संस्थानले आवश्यकता अनुसार कृषकसँग उचित मूल्यमा आवश्यक खाद्यन्न खरिदसमेत गर्छ ।

 

संस्थानले खरिद गरेका खाद्यन्न जनताको खाद्यान्नमाथिको पहुँच र अधिकारलाई प्रत्याभुत गर्दै खाद्यन्न मागलाई आपूर्ति गर्छ । साथै, संस्थान संघीय संरचनाअनुसार नै आफ्ना कार्यलयलाई सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ । अहिले उपभोक्ताको खाद्य अवश्यकता परिपूर्ति गर्न विभिन्न जिल्लामा ९५ वटा खाद्य डिपोहरु सञ्चालनमा ल्याएको छ । संस्थानले २६ शाखा कार्यालय, ८ अ‌ंचल कार्यालयबाट सेवा दिनुका साथै एउटा अाधुनिक मिल सञ्चालनमा छ ।

 

संस्थानको गोदामबाट जनकपुरमा उत्पादित वासमती चामललगायत खाद्यन्न तथा कर्णाली अञ्चलमा उत्पादित सिमी, फापर, उवा बिक्रीवितरण भइरहेकाले संस्थानको गोदाममा सम्पर्क गर्न नेपाल खाद्य संस्थानले उपभोक्तालाई अनुरोध गरेको छ ।

 

नेपाल खाद्य संस्थान 
प्रधान कार्यलय, भद्रकाली, काठमाडौं
०१४२२८३६५/०१४२४८८८३