नेपाल टेलिकमले ल्यायो सस्ताे अफर

  • सोमबार, २२ माघ २०७४ गते मा प्रकाशित
ntc-logo-nepalaaja

काठमाडौं। नेपाल टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न छुट योजना सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा टेलिकमको भद्रकाली प्लाजास्थित प्रांगणमा सोमबार आयोजित कार्यक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुट योजनाको घोषणा गरेकी हुन्।

 

घोषणाअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

 

कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ ।

 

यस्तै माघ २३ देखि माघ २९ सम्म रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५००र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

 

यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २‍.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ ।

 

सो अवसरमा सम्बोधन गर्दै प्रवन्ध निर्देशक राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् ।

 

उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।