समिटबारे भ्रम फैल्याइयो – युनिभर्सल पिस फेडेरेसन (प्रारम्भिक प्रतिवेदनसहित)

  • मङ्गलबार, १० पुष २०७५ गते मा प्रकाशित
समिटबारे भ्रम फैल्याइयो – युनिभर्सल पिस फेडेरेसन (प्रारम्भिक प्रतिवेदनसहित)

काठमाडौं । एसिया प्यासिफिक शिखर सम्मेलन आयोजना गरेको युनिभर्सल पीस फेडेरेसनले प्रारम्भिक प्रतिवेदन जारी गर्दै फेडेरेसनका सहसंस्थापक डा हाक जा हान मुनले दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाइ प्रचार गरिएकोमा आयोजकले गम्भीर आपत्ति प्रकट गरेको छ । डा मुनले आफू इश्वरीय छोरीको रूपमा मानव कल्याण, विश्व शान्ति र विश्व भ्रातृत्वको विकासका लागि त्रियाशील रहेको भनी दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाइ दुषप्रचार गरिएको प्रति आयोजकले आपत्ति जनाएको हो ।

 

सम्मेलन कुनै अमुक धर्मको प्रचार गर्न नभई वर्तमान विश्वका गम्भीर चुनौतिहरूको सामनाका लागि विश्व समुदायलाई मार्ग दर्शन गर्न र विशुद्ध धार्मिक सहिष्णुता एवं विश्व शान्ति र भ्रातृत्वको विकासका लागि गरिएको तर मुनले कहीँ कतै पनि आफू जिससको छोरी भनेर प्रस्तुत नगरेको आयोजकले जानकारी गराएको छ ।

 

शान्ति तथा पारिवारिक महोत्सवमा असल परिवार, समृद्ध राष्ट्र र विश्व शान्तिको कामनाका लागि सहभागीले सुन्तलाको जुस पिएकोमा यस विषयलाई अन्यरूपमा लिएर अनर्गल प्रचार गरेको प्रति पनि आयोजकले खण्डन गरेको छ । सो समारोहमा डा मुनसँग अन्य ७ धर्म संस्कृतिका अगुवाहरूसमेत उपस्थित भएर सहभागीहरूको सुख, शान्ति र असल परिवारका सम्बन्धको कामना गर्दै आशीर्वाद दिएको आयोजकले स्पष्ट पारेको छ ।

 

गत मंसिर १४ देखि १७ सम्म काठमाडौंको होटल ह्यात रिजेन्सीमा सम्मेलन सम्पन्न भएको थिये । वर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यतालाई मूल विषय वस्तु बनाएर सम्मेलन भएको थियो ।

 

यसै वर्षको जनवरी महिनामा अफ्रिकी राष्ट्र सेनेगलबाट सुरुवात भई संसारका विभिन्न राष्ट्रहरूमा संचालित सम्मेलन नेपाल संस्करणको सातौँ हो । सम्मेलन युनिभर्सल पीस फेडेरेसन, शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय संघ, एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलगायत संस्थाहरूको संयोजनमा सम्पन्न भएको आयोजकले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

आयोजकले सम्मलेनमा पाँचवटा सत्रहरू संचालन गरेर विभिन्न विषयमा छलफल चलाएको थियो । पहिलो सत्रमा शान्ति विकास र सुशासनमा सांसदहरूको भूमिका, दोस्रो सत्रमा वर्तमान विश्वका गम्भीर चुनौतीहरूको सामनामा अन्तर-धार्मिक नेतृत्व एवं नागरिक समाजको भूमिका, तेस्रो सत्रमा वर्तमान विश्वका गम्भीर चुनौतिहरूमाथि सम्बोधनः जलवायु परिवर्तन रहेका थिए । त्यसैगरी चौथो सत्र वर्तमान विश्वका गम्भीर चनौतीहरूको सामनामा आमसञ्चार क्षेत्रको भूमिका र पाँचौँ सत्रमा नेपालको शान्ति प्रत्रिया तथा विश्वभर सञ्चालित शान्ति पहलकदमीहरू रहेका थिए ।

 

साथै आयोजकले विशेष सत्रमा प्रधानमन्त्री ओलीलाई लिडरसिप एन्ड गुड गभर्नेस अवार्डबाट सम्मानसमेत गरेको थियो । सम्मान ग्रहणलगत्तै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको अवार्डको राशी प्रतिभाशाली बालबालिका तथा युवाको क्षेत्रमा लगाउने घोषणा गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले मात्र नभई विगतमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि आफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कार्जाई, बलायतकी पूर्वप्रधानमन्त्री मार्गेरट थ्याचरलगायत विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिले उक्त सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ ।

 

सम्मेलनमा ४५ देशका १५०० पाहुनाको सहभागिता रहेकोमा विभिन्न ४५ देशबाट आएका ५६७ जना विशिष्ट व्यक्ति तथा पाहुना रहेका थिए । सम्मलेनमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य ६ राष्ट्रबाट आएका वर्तमान राष्ट्र तथा सरकार प्रमुख, १० राष्ट्रका भूतपूर्व राष्ट्र तथा सरकार प्रमुख र पाँच राष्ट्रका सभामुख तथा उपसभामुखको सहभागिता रहेको थियो । त्यस्तै सम्मेलनमा पाँच जना प्रथम महिला, दुई जना उपप्रधानमन्त्री १५ जना मन्त्रीलगायतको उपस्थिति रहेको आयोजकको भनाइ छ ।