समाचार अर्थ शेयर

धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्रीले दिए शेयरबजारबारे निर्देशन 

धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्रीले दिए शेयरबजारबारे निर्देशन 

 


ललितपुर । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई मौद्रिक नीतिमा हुने परिवर्तनको प्रभावबाट मुक्त गर्ने कदम चाल्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ । अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहीत गर्नुपर्ने उहाँले बोर्डलाई यस्तो निर्देशन दिनुभएको हो ।

 

नेपाल धितोपत्र बोर्डको २७ औँ बार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिनुभएको हो । मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उहाँले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सधै चनाखो हुनुपर्ने उहाँको भनाइ छ । 

 


उहाले बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा शेयर बजार बढ्ने र तरलता घट्दा शेयर बजार पनि घट्ने क्रमको अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो । स्वार्थमा निहित भए कुनै पनि नियामक निकायले काम गर्न नसक्ने हुदा बोर्डको संरचनामा नै सुधार गर्नु पर्ने अर्थमन्त्रीको भनाई छ । उहाले बोर्डलाई अझ व्यवसायिक, स्वतन्त्र र प्रभावकारी निकायको रुपमा विकास गर्न धितोपत्र बोर्ड ऐन, २०६३ संशोधनको क्रममा अगाडि बढेको जानकारी पनि दिनुभयो । 

 


मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गर्नुभयो । बैकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क उहाँले गर्नुभयो ।

 

 

कोमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

 

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भुमिका प्रभावकारी बन्न नसकेको गुनासो हुँदै आएको छ । 

 


कार्यक्रममा बोर्डले बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो भने अर्थमन्त्री खतिवडाले बोर्डको बार्षिक स्मारिका लोकार्पण गर्नुभएको थियो ।