खेल मुख्य समाचार ताजा खबर

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसले जित्यो

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसले जित्यो

 

काठमाडौँ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक प्रतियोगिताको उपाधि उचालेको हो । 
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो ।

 

पवन सर्राफ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीको ब्याटिङ लाईन धरासायी बनाएका थिए । ओपनर राजु रिजाल र सोमपाल कामीले आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसपछि लगातार विकेट पतन सुरु भएपछि आर्मी सस्तैमा समेटिएको थियो ।

 


राजुले ३२ र सोमपालले ३५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन  । रोहित पौडेल १८ र भिम सार्की २० रन बनाएर आउट भए ।

 

पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे ।

 

१ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेलेका थिए । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए ।

 

कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे । आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए ।

 

प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । पहिलो संस्करणको उपाधि एपीएफ र आर्मीले संयुक्त रुपमा बाँडेका थिए । उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो ।

उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

ADVERTISEMENT