समाचार प्रदेश ७

सुनभन्दा महंगो यार्सागुम्बा खोज्न पाटनतिर

सुनभन्दा महंगो यार्सागुम्बा खोज्न पाटनतिर

दार्चुला । काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरू । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो  दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो । अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् । पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ । दुधेबालक सँगै लिएर जाने उनी एक्ली पात्र भने हैनन् । सुनभन्दा महङ्गो मूल्यमा बिक्री हुने यार्सामा जीवनकै बाजी थाप्नेहरूको ताँती अहिले पहाड उक्लिदैछन् । यस क्षेत्रका अधिकाँश महिलाहरू यसरी नै दुधेबालक च्यापेर हरेक वर्ष यार्सा सङ्कलनमा जाने गर्छन् ।

 

यो क्षेत्रका ६ देखि ६० वर्ष उमेर समूहका झण्डै चार हजार जनसङ्ख्या यार्सा खोज्न पाटन जाने गर्छन् । त्यहाँ एक महिना सङ्घर्षपूर्ण जीवन बिताउँछन् । यहाँका नागरिकको आय र खाद्यान्न जोहोको प्रमुख स्रोत नै यही एक महिनाको खटन हो । हेर्दा रहरैले गएको जस्तो देखिन्छ । त्यहाँको पीडा र कठिनाइ ती दुधे बालक लिएर जाने महिला र बालबालिकाले मात्रै भोगेका हुन्छन् । गाउँ पाश्र्वचित्रमा देखाइएको तथ्याङ्क अनुसार अपि हिमाल गाउँपालिकाका एक हजार २०८ घरधुरीमध्ये १३३ घरधुरीको तीन महिनासम्म खान पुग्दैन । करीव ३ देखि ६ महिनासम्म खान पुग्ने परिवारको सङ्ख्या ६३९ परिवार छ । यस्तै, ६ देखि ९ महिनासम्म खान पुग्ने परिवार ४०५ छ र  वर्षभरि खान पुग्ने परिवारको सङ्ख्या ३१ छ ।

 

बहुमूल्य यार्साको बजार र उपयोगिताको चर्चा जति लोभलाग्दो छ, त्यति नै कठिन छ यसको सङ्कलन पनि । घाँसे मैदानमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजीमा जानेले ज्यानको बाजी लगाउनुपर्छ । कतिपयको लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान जाने गरेको छ ।

 

सङ्कलकहरूले पाटनमा एक इञ्च ठाउँ पनि खाली नराखी भुइँमा घस्रँदै यार्सा खोज्छन् । “दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि हात पर्दैन,” सङ्कलक गौमती कार्कीले भनिन् । यार्सासँग सम्बन्धित घटनामा गएको वर्ष मात्र चार जनाले ज्यान गुमाए । हरेक वर्ष यार्सा खोज्ने क्रममा केटाकेटीहरूले हिउँमा चिप्लिएर वा भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् ।

 

अपि हिमालको घुसा, खण्डेश्वरी, व्यासको छांगरु, तिंकर र राप्लाका अधिकांश स्थानीय बासिन्दा यसबेला लेकतिर उक्लिएका छन् । विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन क्षेत्रमा एकदेखि डेढ–दुई महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को दिनदिनै देखिन्छ । घुसा र खण्डेश्वरीमा अहिले मान्छे भेट्टाउनै नसक्ने अवस्था आइसकेको छ । “यार्सा सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो सातादेखि लेक खुल्यो, अहिले गाउँ रित्तिँदैछन्,” स्थानीयवासी कल्याणसिंह बोहराले भने । 

 

गाउँमा कुनै घरमा बूढाबूढी बाहेक अरु मान्छे भेटिँदैन । अधिकांश स्थानीय बासिन्दा गाई, गोरु, भेडाबाख्रा र लालाबालासहित लेकतिर हिँडेका छन् । क्षत्ति, घाजिर र पाथा गाउँतिर ढोकामा ताला लगाएर स्थानीय बासिन्दा पाटन गएका छन् । सङ्कलन अवधिभरका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लिएर सङ्कलकहरू लेक पुगेका छन् । रोजगारी र अध्ययनका लागि गाउँ भन्दा बाहिर रहेका युवा, महिला सबैजसो यार्सा टिप्ने योजनासहित लेकतिर पसेका छन् । पढ्न जाने र गाउँबाट शहरमा बसोबास गर्नेहरू पनि गाउँ फर्किएका छन् ।

यार्सागुम्बा दार्चुला