शेयर

यसकारण बढ्छ सेयर बजार 

यसकारण बढ्छ सेयर बजार 

सेयर बजारमा कुनै बेला मन्दी छाएको त कुनै बेला हरियाली छाएको खबरले सेयर बजारमा जोडिएका लगानीकर्ताहरु तरंगीत भइरहेका हुन्छन् । सेयरको मूल्य वृद्धि हुनु वा नेप्स बढ्नुको मूलभूत विषयहरु जानकारीमा नआएको हुन सक्छ । त्यसकारण आउनुहोस्, एक पटक सेयर किन माथि उक्लिन्छ र किन तल ओर्लिन्छ भन्ने विषयमा केही कारणहरुमा चर्चा गरौं :

सेयर माथि उक्लिनुको कारण 

 

१. बैंकहरुको ब्याजदरः सेयर खरिद गर्नु भनेको पनि एक प्रकारको लगानी नै हो । जसरी मानिसहरु पसल खोल्न, उद्योग खोल्न लगानी गर्छन् त्यसै गरी सेयरमा पनि लगानी गरिन्छ । आज सेयरमा गरिएको लगानीले भोलि राम्रो प्रतिफल दिन्छ भन्ने आशा सबैले राखेका हुन्छन् । यसकारण लगानीका लागि पैसा चाहिन्छ । पैसा बैंकसँग हुन्छ । बैंकले सस्तो ब्याजमा ऋण दियो भने  सेयरमा पनि बढी लगानी हुन्छ । ब्याजदर बढी भयो भने लगानी पनि कम हुन्छ । यसकारण अन्य क्षेत्रमा जस्तै सेयर बजारमा पनि ब्याजको महत्वपूर्ण भूमिका हुन्छ ।  

 

२. टर्न ओवरः सेयर बजारमा कुनै पनि कम्पनी वा समग्रमा धेरै सेयर खरिद बिक्री भयो भने त्यसले बजारलाई माथि उठाउन मद्यत गर्दछ । तर कहिलेकाहीँ यस्तो पनि हुन्छ कि टर्नओभर धेरै हुन्छ तर बजार माथि उक्लेको हुँदैन । तर पनि टर्न ओवर बढी हुनुभनेको बजार माथि उक्लिने लक्षण नै हो । 

 

३. तरलताः तरलता भन्नाले अंग्रेजीमा लिक्विडिटी वा लगानीयोग्य पुँजी भन्ने बुझ्नु पर्छ । बजारमा लगानीयोग्य पुँजी छैन भने ब्याज पनि वृद्धि हुन्छ । सेयर बजारमा लगानी थपिन पनि सक्दैन । यसकारण बजारमा पर्याप्त तरलता कायम राखियो भने बजार माथि उक्लिन सक्छ । 

 

४. उपसर्ग प्रभावः  सेयर बजारमा रहेका वा अन्यत्र रहेका लगानीकर्ताहरु जहिले पनि राम्रो मुनाफा हुने क्षेत्रमा लगानी गर्न प्रतीक्षारत हुन्छन् । यदि लगानीकर्ताहरुले राम्रो अवसर भेटे भने उनीहरुले एक तिरको पुँजीलाई अर्को क्षेत्रमा सिफ्ट गर्छन् । यसलाई सब्टिच्युट इफेक्ट पनि भन्ने गरिन्छ । केही समय अघिसम्म नेपालको सेयर बजार १ हजार विन्दुमा थियो । त्यो बेला धेरैले जमिन बेचेर सेयरमा लगानी गरे । अहिले सेयर १३ सय विन्दुमा पुगेको छ । यो बेला सेयर बेचेर लगानीकर्ताहरु अर्को क्षेत्रमा आकर्षित हुन सक्छन् । 

 

५. सुधार नीतिः कुनै पनि बजारमा त्यहाँका पूर्वाधारहरु राम्रा छन् भने लगानीकर्ताहरु आकर्षित हुन्छन् । सेयर बजारमा पनि यस्तै हो । उदाहरणका लागि केही अघिसम्म आइपिओ भर्न बैंकमै पुग्नु पथ्र्यो, अब अनलाइनबाटै आवेदन गर्न सकिन्छ । सेयर खरिदको भुक्तानी पनि अनलाइनबाटै गर्न सकिन्छ । यसले समय र झन्झटक कम गरेको छ । जसका कारण लगानीकर्ताहरु लगानी गर्न इच्छुक हुन्छन् । 

 

६. स्टक मैत्रीः स्टक बजार मैत्री वातावारण सरकारले निर्माण गरेमा पनि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव पर्छ । जसका कारण उनीहरु लगानी गर्न उत्साहित हुन्छन् । 

 

७. हल्लाः बजारमा चल्ने हल्लाले पनि सेयर बजार प्रभावित पारिरहेको हुन्छ । यस्ता हल्लाहरु कतिपय अवस्थामा प्रायोजित पनि हुन्छन् । बजार घट्ने र बढ्ने हल्लाका कारण लगानी प्रभावित भइरहेको हुन्छ । 

 

८. कम्पनीहरुको प्रदर्शनः कुनै पनि कम्पनीले राम्रो मुनाफा आर्जन गरिरहेको छ भने त्यस्तो कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताहरु इच्छुक हुन्छन्् । कम्पनीहरुको ब्यालेन्स सिट, मुनाफा आदि हेरेर लगानी निर्धारित भइरहेको हुन्छ । 

 

९. इपिएसः अर्निङ पर सेयर अर्थात प्रति कित्ता सेयरले कति आर्जन गर्दैछ ? भन्ने विषयले पनि लगानीमा प्रभाव पार्छ । कुनै पनि कम्पनीको सेयरले राम्रो कमाई गर्ने निश्चित हुन्छ भने त्यो बेला लगानी वृद्धि हुन्छ । राम्रो आय नदिने सेयरमा लगानी गर्न कोही पनि इच्छुक हुँदैनन् । 

 

१० . सरकारी व्ययः यदि सरकारले गर्नुपर्ने खर्च गर्न सकेन, वा बजेट बचत हुन थाल्यो भने पैसा बजारमा पुग्दैन । जसका कारण लागनी प्रभावित हुन्छ । 

 

११. निर्वाचनः निर्वाचनको बेला धेरै पैसा बजारमा पुग्छ । जसका कारण लगानी वृद्धि हुने सम्भावना बढ्छ । 

 

१२. विदेशी लगानीः सेयर बजारमा यदि विदेशी लगानी आयो भने त्यसले बजारलाई माथि उचाल्न सहयोग गर्दछ । 

 

१३. क्यालेन्डर प्रभावः सामान्यतः धेरै जसो कम्पनीहरुले साधारणसभा एक निश्चित महिनामा गर्छन् । त्यसअघि उनीहरुले विभिन्न चरणमा प्रगति प्रतिवेदन सार्वजनिक गरिरहेका हुन्छन् । त्यस्तो रिपोर्टहरुलाई आधार बनाएर पनि लगानीकर्ताहरुले लगानी गरिरहेका हुन्छन् । यस्ता क्यालेन्डरले पनि बजारलाई प्रभावित पार्छ । 

 

१४. क्यापिटल ग्रोथः कुनै पनि कम्पनीहरुले दिने बोनस, हकप्रद सेयर आदिका कारण बजार माथि पुग्छ । अझ नेपाली लगानीकर्ताहरु बोनस र राइट सेयर पाउने आशामा लगानी गर्छन् । कम्पनीहरुले पनि पुँजीवृद्धिका लागि यस्ता औजारहरु प्रयोग गर्छन् । जसका कारण बजार उक्लिन्छ । 

प्रस्तुतिः प्रभाष दाहाल