समाचार प्रदेश २

‘हरेक खेतमा पानी, हातहातमा काम, प्रादेशिक सरकार सुचनाको आधार’

प्रदेश दुई सरकारको महत्वकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक

‘हरेक खेतमा पानी, हातहातमा काम, प्रादेशिक सरकार सुचनाको आधार’

धनुषा । प्रदेश २ सरकारले आइतवार प्रदेशसभामा आर्थिक वर्ष २०७६/०७७को नीति  तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा प्रदेश २ सरकारको तर्फवाट  आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

१ सय ९१ बुँदे २१ पृष्ठ लामो नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतमा राख्ने गरी आकर्षक नाराका साथ योजनाहर समावेश गरिएका छन् । नीति तथा कार्यक्रममा छात्राहरुलाई विद्यालय र पढाई प्रति आकर्षित गर्न कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई दैनिक विद्यालय आगमनका लागि आकर्षित गर्ने,  छात्रवत्ति वापत प्रति महिना पाँचसयको दरले छात्रवत्ति प्रदान गर्ने, एक पालिका एक पोखरी सौन्दर्यकरण गराउने लगायतका कार्यक्रम समेटिएको छ ।

प्रदेशको कोशी तटवाट कंकालनी माता मन्दिर हुँदै सिमरौनगढ स्थित महागढीमाई सम्मको प्रदेशका आठवटै जिल्लाका सवै चर्चित धार्मिक स्थलहरुको पर्यटकीय विकासका लागि पर्यटकीय सडक निर्माण गर्ने कार्यक्रम समेत समावेश गरिएको छ । नीति तथा कार्यक्रमको सुरुवातमैँ गत बैशाख १७ गते पर्सा र बारामा आएको टोर्नाडो नामक आँधीवाट भएको धनजनको क्षति प्रति दुःख व्यक्त गरिएको थियो । 


यता सत्ताधारी राजपा नेपालकै प्रदेशसभा सदस्य मनिष सुमनले नीति तथा कार्यक्रममा ठोस कार्यदिशा र सरकारले आफैँ गर्ने नीति नदेखिएको बरु पहल गरिने जस्ता शब्दहरु धेरै देखिएको टिप्पणी गरेका छन् । मुख्य प्रतिपक्षी नेकपाका सांसदहरु भने गत वर्ष समेत सुन्दा यस्तै राम्रो नीति तथा कार्यक्रम आएपनि बजेट सो अनुसार नआउँदा कार्यान्वयन हुन नसकेको तर्फ ध्यानाकर्षण गराएका छन् । 


नीति तथा कार्यक्रमको तर्जुमा गर्ने प्रदेशका नीति आयोगका सदस्यहरु आयोगवाट आर्थिक मामिला तथा योजना मन्त्रालय हुँदै मन्त्री परिषदवाट पारित हुँदै प्रदेशसभामा नीति तथा कार्यक्रम लानुपर्ने ऐनमा प्रावधान रहेपनि आयोगका अध्यक्ष रहेका मुख्यमन्त्री कार्यालयले आफुहरुलाई बाइपास गरेको आरोप लगाएका छन् ।