कभर स्टोरी

मेरो बारेमा जथाभावी बोल्ने द्वारिकालाल चौधरीसँग कुरा गर्न खोज्दा फोन उठाएनन् (भिडियोसहित)

मेरो बारेमा जथाभावी बोल्ने द्वारिकालाल चौधरीसँग कुरा गर्न खोज्दा फोन उठाएनन् (भिडियोसहित)

पर्शुराम बस्नेत, युवा संघ नेपालका उपाध्यक्ष हुन् । तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि दुवै पार्टीका युवा संगठनहरुबीच पनि एकता प्रक्रिया शुरु भइसकेको छ । तर दुवै तिरका संगठनहरुको पुरानो संरचना भने यथावत छ । नेकपा एमालेका कार्यकर्ता मात्रै नभएर विशेषत प्रधानमन्त्री केपी ओलीनिकट समेत भनेर चिनिने बस्नेत चर्चामा आइरहने युवा नेता हुन् । बस्नेतालाई कुनै बेला पत्रकार कुटपिटको आरोप लागेको थियो । केही मिडियामा उनी गुण्डा नाइकेका रुपमा चित्रित पनि भए । बस्नेतकै शब्दमा भन्ने हो भने यस्ता लाञ्छनाहरु कुनै पनि अदालतबाट प्रमाणित भएनन् । प्रस्तुत छ, युवा नेता बस्नेतसँग गरिएको कुराकानीको मुख्यमुख्य कुराहरुः 

 

दुई संगठन एकता प्रक्रियामा त छन्, तर दुवै संगठनका नेता कार्यकर्ताहरुमा मनमा तुष छ भन्ने कुरा आइरहेको छ । संगठनको नाममा पनि विवाद भन्ने कुरा छ । कसरी अगाडि बढिरहेको एकता प्रक्रिया ? 
 
नयाँ संगठनको नाम युवा संघ राख्दा आफूहरुको प्रतिनिधित्वि नभएको जस्तो देखिने भयो भन्ने उहाँहरुको कुरा छ । तर संगठनको नाम टुंिगसकेको छ । संयोजक, सहसंयोजक पनि टुगिएको छ । दुई वटा संगठनमा ५०० जति केन्द्रीय सदस्य छन् । त्यसलाई नयाँ संरचना बनाएर २५१ मा झार्नु पर्ने छ । 

 

दुई पार्टी एक हुँदा दुवैलाई फाइदा त भयो होला, तर तपाईंहरु जस्ता धेरै कार्यकर्ताहरुले भने स्पेस नपाउने स्थिति सिर्जना भएको छ । यसर्थ यो कोणबाट चाहिँ नोक्सान भएको जस्तो लाग्दैन ? 
 

व्यक्तिगत फाइदा घाटा ठूलो निर्णय लिएको बेला हेरिनु हुँदैन । देशका लागि, जनताका लागि र पार्टीका लागि यो निर्णय भएको हो । यस्तो बेला हामीले व्यक्तिगत तहभन्दा माथि उठेर सोच्नु पर्छ । नेपाली जनता पनि जुटेको हेर्न चाहन्थे । स्थायी सरकार, स्थायीत्व चाहेका थिए जनताले । जसका कारण पार्टीले यस्तो निर्णय गरेको हो । 
    
">

युवा संघ भनेको ठूलो संगठन थियो, सानो संगठनको व्यक्ति बीचमा टुप्लुक्क आएर नेतृत्व गर्दा तपाईंलाई नराम्रो त लाग्यो होला नी ? 
 

यो विशेष परिस्थिति हो । यो परिवेशमा यस्तो पनि हामीले स्वीकार गर्नुपर्छ । पार्टीमा जनवादी केन्द्रीयता लागू हुन्छ । केन्द्रले गरेको निर्णय हामीले स्वीकार गर्नुपर्छ । अब यो विस्तारै नियमित आवधिक निर्वाचन, सम्मेलन आदिबाट व्यवस्थित हुँदै जानेछन् । 

 

मुलुकमा दुईतिहाई समर्थन प्राप्त सरकार छ । युवाका कुरा तपाईंहरु गर्नुहुन्छ । तर लाखौं युवा विदेशमा श्रम गरिरहेका छन् । युवाका शव बाकसमा नेपाल आइरहेका छन् । किन ? 
अवस्था यस्तो छ । तर सुधारका काम पनि भइरहेका छन् । भएका राम्रा कामको चर्चा नहुने तर नकारात्मक विषयहरु बढी फैलिने भएका कारण अलिकति यस्तो स्थिति उत्पन्न भएको हो । हालै भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुभारम्भ भयो । युवा लक्षित कार्यक्रम पनि आइरहेका छन् । 

 

तपाईंले सकारात्मक सोच्नु पर्छ त भन्नुभयो, तर असार महिनामा सक्ने गरी २ अर्ब ३७ करोड खर्च गर्ने भनेर खर्च व्यापक गरिएको छ । त्यो रकमको दुरुपयोग भएको खबर आइरहेका छन् । कसरी यस्ता कुरालाई सकारात्मक मान्ने ? 

 

छोटो समयमैमै ठूला उद्योग स्थापना गरेर धेरैलाई रोजगारी दिइहालौं भन्न सकिने स्थिति छैन । यो विस्तारै हुन्छ । तर रोजगारीको अवसर सिर्जना गर्ने पूर्वाधारका काम गर्न सकिन्छ । रोडमा झार उखल्ने काम पनि आखिर कामै हो । आवश्यक हो भने गर्नुपर्छ । बनिबनाउ रोजगारी दिइहाल्ने अवस्था छैन । न्युनतम १२० दिन रोजगारी सरकारले दिन्छ भनेकै छ । 

 

तपाईं सकारात्मकतामा जोड दिइरहनु भएको छ । तपाईं त झन प्रधानमन्त्री केपी ओलीसँग पनि निकट भनेर परिचित हुनुहुन्छ । प्रधानमन्त्रीको छवि भने हावादारी सपना बाँड्नेमा स्थापित भइरहेको छ नी ? 
 

हो, हामीले सकारात्मक तरीकाले सोच्ने बानी बसाल्नु पर्छ । प्रधानन्त्रीले देखेको सपना आजसम्म कसैले देख्न सकेका थिएनन् । रेल चलाउने सपना देख्नु भएको छ । के गल्ती गर्नु भयो त ? घरघरमा पाइपबाट ग्यास लैजाने सपना देख्नु भयो । विराटनगरमा त हामीले शुरु नै गरिसकेका छौं । प्रधानमन्त्रीले उदघाटन नै गर्नुभयो । 

 

विराटनगरको ग्यास प्लान्ट त पुरानो थियो, त्यहा लगेर प्रधानमन्त्रीको दुरुपयोग गरियो भन्ने पो छ त ? 
 

हामीले ८५ घरमा पुर्याएका थियौं । ५०० घरमा पुर्याउने योजना हो । सकारात्मक कामको सकारात्मक टिप्पणी गर्ने बानी बसाल्नु पर्छ । फास्ट ट्रयाक, विभिन्न विमानस्थलहरु दू्रत गतिमा बनिरहेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो हुँदै गएको छ । विकासका कामहरुले गति लिएका छन् । 

 

सरकारको आलोचना त नेकपाभित्रैका नेताहरुले पनि गरिरहेका छन् नी ? 
 

अब राम्रो काम गर्ने प्रधानमन्त्रीको आलोचना नै नगर्ने भन्ने हुँदैन । किनभने यो लोकतान्त्रिक व्यवस्था हो । यो व्यवस्थामा सरकारको आलोचना गर्न पाइन्छ । सरकारले काम गरेन भन्ने हिसाबले भने बुझ्नु हुँदैन । सरकारको काम सुस्त भयो कि भन्ने लाग्यो भने सरकारलाई घचघच्याउनु पर्छ । त्यसलाई नराम्रो मान्नु हुँदैन । प्रधानमन्त्रीले पनि सकारात्मक रुपले नै बुझ्नु भएको होला । 

 

लोकतन्त्रमा आलोचना गर्न पाइन्छ भन्नुभयो, तर पशुपति शर्माको गीतमा किन प्रतिबन्ध लगाउनुभयो त ? 
 

पशुपति शर्माको गीत हामीले ब्यान गरेको होइन । व्यक्तिविशेषले फेसबुकमा लेखेको कुराहरु संगठनको आधिकारिक धारणा हुन सक्दैन । गीतमा भएका कमजोरी गायक स्वंयले महशुस गरेर भिडियो हटाउनु भयो । व्यंग्यमा सरकारको आलोचना गर्न पाइन्छ । तर कसेैको मान मर्दन हुने, अनास्था फैल्याउने ढंगले हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो । 

तपाईंले पत्रकार कुट्नु भयो, तर कारबाही भोग्नु परेन भनेर इटहरीका मेयर द्वारिकालाल चौधरीले भन्नु भयो । कुरा साँचो नै हो ? 
 

इटहरीका मेयरले मैले पत्रकार कुटेको सुन्नु भयो । केही अखबारले मलाई मुछेको पढ्नु भयो र त्यसकै आधारमा धारणा बनाएर निष्कर्ष पनि निकाल्नु भयो । उहाँले उडन्ते कुरा सुन्नु भयो तर पत्रकारको प्रकरणमा तीनै तहका अदालतले मलाई सफाइ दिएको चाहिँ थाहा पाउनु भएको रहेनछ । अल्पज्ञान लिएर त्यसलाई नै सत्य मानेर हिँड्नेहरुका सवालमा म के भन्न सक्छु र  ? सहि मान्छेले द्वारिकालालले जसरी बोल्न हुँदैन भन्ने लाग्छ । मानसिक सन्तुलन ठीक नभएका मानिसले मात्रै चौधरीले जसरी बोल्न सक्छन् । मेरो साइनो सम्बन्ध केही नभएको कुरामा मेरो नाम जोड्नु गलत हो । 

 

तपाईं र उहाँबीच कुनै कुरा भएन ? 
मैले फोन गरेँ । उहाँले फोन उठाउनु भएन । कुनै रेस्पोन्स पनि गर्नु भएन । एसएमस पनि गरेँ, वास्ता गर्नुभएन । 

 

अहिले त द्वारिकालाल चौधरीलाई त हिरो मान्नेहरु पनि बढेका छन नी ? 
मैले अघि नै पनि भने त । नकारात्मक विषय, प्रवृत्ति हाम्रा समाजमा हावी भइरहेको छ । कानुन मिच्ने मानिस हिरो हुने, विधि नमान्ने हिरो हुने  त प्रवृत्ति छ । रुल अफ ल भन्दा पनि हुल अफ लले निर्देशित गरिरहेको छ । हाम्रो मुलुकलाई एक हुलले जे निर्देशन गर्छ, त्यही अुनसार निर्णय गराउन खोज्ने चलन बस्न लागेको छ । माइतीघर मण्डलामा उफ्रेर प्रधानन्यायाधीश नै हटाउने चर्को आवाज उठेको होइन र ?