विदेश

अदालतमा लडेका इजिप्टका पूर्व राष्ट्रपतिको निधन

अदालतमा लडेका इजिप्टका पूर्व राष्ट्रपतिको निधन


काठमाडौँ । इजिप्टको कायरोस्थित एक अदालतमा लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेको थियो । त्यसयता उनी जेलमैँ थिए ।

 

उनीमाथि प्रतिबन्धित समूहको अगुवाइ गरेको तथा सरकार विरोधी प्रदर्शनकारीलाई बन्दी बनाएर यातना दिएको तथा देशका गोप्य सूचना चुहाएको जस्ता आरोप लगाइएका थिए। अन्य तीन मुद्दाको निर्णयबमोजिम उनलाई ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो।

 


एकान्त कारावासमा राखिएका उनलाई उनको वकिल र परिवारसँग भेट गर्न कम मात्र दिने गरेको बिबिसीले जनाएको छ । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

 

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो।

 

उनको मृत्युको कारण खुलाइएको छैन । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मुर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको छ।