Breaking News

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले पढाए पत्रकारिता 

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले पढाए पत्रकारिता 

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसदमा बोल्न नपाएपछि सिंहदरबार हानिएर  पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश समय कुण्ठा पोखेका छन् ।
 
 भावनात्मक अभिव्यक्तिमा बहकिएका प्रधानमन्त्री मूल विषयवस्तुमा सतही देखिए । गुठी विधेयकको विरोधमा सडक तातेपछि युरोप भ्रमणबाट फर्किएलगत्तै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री आफ्नै नेतृत्वको सरकारका विभागीय मन्त्रीले विधेयक फिर्ता लिन गरेको निर्णय सञ्चारमाध्यमबाट सुनेको भनिदिए । 

उनको दलील थियो– ‘मन्त्रीले लिएको निर्णयको समर्थन गर्छु । लोकतन्त्रको जरा काट्ने काम हुन थालेको र आन्दोलनका नाममा राजावादी, दक्षिणपन्थी, उग्र बामपन्थी र आफूलाई चरम लोकतन्त्रवादी भन्नेहरुले विषय अनावश्यक चर्काए ।’

बरु प्रधानमन्त्रीले अधिकांश समय मिडियाकर्मीलाई पत्रकारिता सिकाउन खर्चिए । सधैं झैं बुद्धिजीवीमाथि खनिन पनि छोडे्नन् । राष्ट्रपति, प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर मिडियाले हुर्मत लिएको उनको टिप्पणी थियो– ‘हाम्रो मिडियालाई तपाईं भन्न जानेकै छैन् । आफूभन्दा ठूलालाई तपाईं भनेर गरिने आदरार्थी शब्द हराइसक्यो । बुद्धिजीवी संस्कृतिको बहसमा अमर्यादित शब्दले गालीमा उत्रन्छन् ।’

मिडियासंग प्रशस्त गुनासो गरेका प्रधानमन्त्री ओली आन्दोलनरत सञ्चारकर्मीका विषयमा मौन रहे । गणतान्त्रिक व्यवस्था र यसको नेतृत्व लिनेहरु चानचुने नरहेको पटक पटक आफ्नै आत्मरतिमा रमाएका प्रधानमन्त्रीले अरुसंगको गुनासै गुनासोमा भाषण सिध्याए । पत्रकार सम्मेलन भनिए पनि पत्रकारलाई प्रश्न सोध्ने  सुविधा थिएन् । 

प्रधानमन्त्रीले बोल्न नपाएपछि सभामुखले बुधबार ११ बजेका लागि संसद डाकेका छन् । पत्रकार सम्मेलनमा सबै कुरा भनेपछि अब प्रधानमन्त्रीले संसद बाईपास गरेको आरोप खेप्नु पर्ने छ । बाँकी दृश्यका लागि संसदको बैठक कुनुपर्ने छ । 
 
 

प्रधानमन्त्री केपी शर्मा ओली