राजनीति

सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड

सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति र सम्झदारीलाई इमान्दरपूर्वक कार्यान्वयन गर्दै महाधिवेशनसम्म जानुपर्ने बताउनु भएको छ ।  सोमबार पार्टी कार्यालय धुमबाराहीमा शहीद रितवहादुर खडकाको स्मृति दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले ईमान्दारिताका साथ पार्टी एकतालाई सुदृढ् गर्ने, पार्टी एकताका बाँकी कामलाई टुंग्याउने र भएका सहमति समझदारीमा इमान्दारिताका साथ उभिनुपर्ने बताउनुभयो ।

 

अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म जाँदा नेकपाको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने उल्लेख गर्नुभयो ।  उहाँले माक्र्सवादको निर्देशन अनुसार पार्टी एकता भएर समाजवादको प्रक्रियाबाट अगाडि बढेका कारण निराश हुनुपर्ने अवस्थामा कम्युनिष्ट पार्टी नरहेको बताउनुभयो ।

 

उहाले पार्टी एकताको क्रममा सहमति भएको पार्टीको भावी कार्यक्रम ‘जनताको जनवाद’ र अन्य सहमतिहरुलाई ईमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने समेत धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा तयार भएको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादले समाज रुपान्तरणका लागि खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गरिएको बताउनुभयो । 

 

अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताउनु भएको हो । उहाँले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढंगले नभएको पनि बताउनु भयो ।

 

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, अध्यक्ष दाहालको भनाई थियो, ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन, तर हाम्रो पार्टीको दुवैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काईसौैं शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’

 

अध्यक्ष दाहालले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहो-याउनु भयो ।

नेकपाले तत्कालिन माओवादीका केन्द्रिय सदस्य समेत रहेका शहीद रितवहादुर खडकाको स्मृति दिवसमा देशभर विविध कार्यक्रम गरी मनाएको हो । २०२८ साल भदौ १० गते दोलखाको जुँगुमा जन्मिएका रितबहादुर खड्का (प्रताप) को २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या भएको थियो ।