समाचार

लोकसेवाको फाराम भर्ने क्रम जारी, अन्योलमा नपर्न मन्त्री पण्डितको आग्रह 

लोकसेवाको फाराम भर्ने क्रम जारी, अन्योलमा नपर्न मन्त्री पण्डितको आग्रह 

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन् । लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ जना कर्मचारीका लागि विज्ञापन माग गरेको थियो । समितिले सो निर्देशन दिए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन संविधानविपरीत भएको भन्दै विज्ञापन रद्द नगर्ने बताउँदै आएको छ । 


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापनको विषय सर्वोच्च अदालत पुगिसकेकाले अन्योलमा नपर्न आवेदनकर्तालाई आह्वान गरेका छन् । ‘सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ, सर्वोच्चको फैसला नै सर्वमान्य हुन्छ ।’ समितिलेविना अनुगमन र सत्यतथ्य नबुझेरै निर्देशन दिएको उनले टिप्पणी गरे । सञ्चार केन्द्र नेपालले शनिबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले भने, ‘संवैधानिक व्यवस्थाअनुसार नै आयोगले विज्ञापन खोलेको हो, समितिको त्रुटिपूर्ण निर्देशन मान्य हुँदैन ।’ विज्ञापन रद्द गरेर मन्त्रालय दुर्भाग्यपूर्ण बाटोमा नलाग्ने उनले स्पष्ट पारे । 

लोकसेवा आयोग लालबाबु पण्डित