राजनीति

शान्ति मुद्धालाई लिएर सत्ता समीकरणको खेल

शान्ति मुद्धालाई लिएर सत्ता समीकरणको खेल


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समीकरण बदल्ने खेल भईरहेको बताउनुभएको छ । विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भईरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भईरहेको खुलासा गर्नुभएको हो ।

 

प्रतिनिधिसभाको आईतबारको बैठकम  उहाँले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भईरहेको दाबी गर्नुभयो । 

 

“विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाँका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकीर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफू सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ । ”उहाँले भन्नुभयो । 

 

 

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भईरहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उहाँले गर्नुभयो ।

 

 

उहाँले भन्नुभयो “नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहँदैन ? त्यो दिशा तर्फ जादै छ । ”

 

 

पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उहाँले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उहाँले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्धन्द्ध मच्चाउने र द्धन्द्धका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गर्नुभयो ।  नेपालमा फेरी पनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उहाँको तर्क थियो । यही उद्देश्य पुरा गर्नका लागि द्धन्द्धकालिन समयका मुद्धालाई अड्काउने काम भएको दाबी उहाँले गर्नुभयो ।

 

 

विगतमा मुद्धा लगाईएका कयौलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उहाँले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताउनुभयो ।

 

हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताउनुभयो । संयुक्तराष्ट्रसंघ नेपाल पक्षधर हुदा हुदै कुटनीतिक मर्यादा उलंघन गरेर नौवटा मुलुकसंग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उहाँले गर्नुभयो ।

 

उहाँले भन्नुभयो “यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ । ”