विचार

सामुदायिक वनमा लागेको डढेलो किन निभेन  ? 

सामुदायिक वनमा लागेको डढेलो किन निभेन  ? 
  • भोला खतिवडा

खडेरी वा सुख्खा याममा धेर आगलागी हुने गर्दछ । आगलागी फैलन हावाहुरीले असाध्यै धेरै सहयोग गर्दछ ।  हाम्रोमा आगलागी हुने प्रायः सवै कारण मानविय त्रुटी हुन् भन्दा कुनै फरक पर्दैन । वन क्षेत्रमा पनि आगलागीका कारण धेरै ठुलो विनास हुने गरेको छ । वनमा लागेको डढेलोको कारण अरवौं क्षति भैरहेको छ ।

 

 पछिल्लो एक दशकको लेखाजोखा गर्ने हो भने सन् २०१७ र सन् २०१३ मा मात्र वन डढेलोवाट कुनै नेपालीको ज्यान गुमेन नत्र हरेक वर्ष मानविय क्षति भैरहेको छ । यस वर्षको सुख्खा याममा पनि ३ जनाले वन डढेलोबाट ज्यान गुमाइसकेका छन् । 


पछिल्लो अवधीमा सामुदायिक वनमा आगो लाग्ने क्रम वढेको छ । विगतमा पनि आगो लाग्ने गरेको थियो तर आगो निभाइन्थ्यो । पछिल्ला केही वर्ष यता आगो लाग्यो तर निभेन वा निभ्याइएन । सामुदायिक वनको अवधारणा विकास गर्दाका वर्षहरुमा अहिले भन्दा धेरै डढेलो लाग्ने गरेको थियो । त्यती वेलामा अहिलेको जस्तो चेतना स्तर पनि थिएन ।

 

सामुदायिक वनको कारणले गाईवस्तु चराउन नपाएको झोक फेर्न वनमा आगो लगाउँथे । त्यती बेला आगो लगाएमा घाँस राम्रो आउँछ भन्ने सोच पनि थियो । त्यसैले धेरै ठाउँमा आगो लाग्थ्यो तर सामुदायिक वनका अभियन्ता उपभोक्ताहरु आगो लाग्नासाथ दौडेर ज्यानको पर्वाह नगरी आगो निभाउँथ्ये ।

 

सामुदायिक वनको अवधारणा विकास गर्दाको समयको तुलनामा अहिलेको चेतना स्तर फेरिएको छ । आगो लगाउने काम दण्डनिय हो भन्ने धेरैलाई थाहा छ । वनमा आगो लगाएर कसैलाई फाइदा छैन भन्ने प्रायः सवैले वुझेका छन् । आगो लगाउने पहिला जस्तो धेरै छैनन् । केही सिमित अपराधिक सोच भएकाहरुले आगो लगाउँछन् ।

 

पहिला जस्तो एक जंगलमा चारै तिरवाट आगो लाग्दैन । अहिले एक ठाउँवाट आगो लागेको छ त्यो फैलिएर चारै तिर पुगेको हो । पहिला आगो लाग्नासाथ निभाउन पुग्थ्ये तर अहिले निभाउन जाने कोही भएन । पहिला वन विना ग्रामिण जनजीवन कल्पना गर्न पनि सकिन्नथ्यो । अहिले त्यो अवस्था छैन । सामुदायिक वन माथिको निर्भरता फेरिएको छ ।

 

पहिला दाउरा घाँसको लागि वन चाहिन्थ्यो आगो लागेमा त्यो नष्ट हुन्थ्यो । अहिले अधिकांश सामुदायिक वनवाट दाउरा घाँस ल्याउन छाडिएको छ । त्यो भन्दा वढि वनवाट उपलव्धी लिन सकिएको छैन । 


सामुदायिक वनको अवधारणाले वन क्षेत्र वढ्यो, वनको हैसियतमा व्यापक सुधार आयो, केही उपभोक्ताको अवस्थामा पनि सुधार आयो होला । सामुदायिक वनबाट दाउरा घाँस केहीमा सिमित काठ वाहेक केही प्रत्यक्ष लाभ पाउन सकेनन् ।

 

अधिकांश उपभोक्तालाई दाउरा घाँस अव चाहिएन । सामुदायिक वनवाट के उपलव्धी हासिल गर्ने ? यो प्रश्नको उत्तर पाउन नसक्दा सामुदायिक वनमा लागेको आगो निभेन । अहिलेकैं अवस्थामा सामुदायिक वन सञ्चालन गरिरहने हो भने वनमा लागेको आगो घट्दैन अझ विस्तार हुँदै जाने संभावना देखिन्छ ।

 

सामुदायिक वनको अभियानले वन संरक्षणमा अत्याधिक सफलता हाता प-यो । वन जोगाउँदा पछि फाइदा पाइएला भनेर जोगाएका थिए तर अहिले प्रतिफल लिन सकेनन् । त्यसैले वनका उपभोक्ता आगो लगाउन त गएनन् तर कोही फटाहाले वा मानविय त्रृटीले वनमा आगो लाग्दा निभाउन पनि गएनन् । 

 


अघिल्लो पुस्ताले संरक्षण गरेर वन स्रोतको उपलव्धता वढाइदियो । अवको पुस्ताले दिगो तरिकाले उपयोग गरि उपलव्धी लिन सक्नु पर्दछ । जुन सामुदायिक वनमा जे संभावना छ त्यही काम गर्ने वातावरण तयार गर्नु पर्दछ । सामुदायिक वनलाई व्यवसायीक वनाउनु पर्दछ । सामुदायिक वनको नयाँ गन्तव्य निर्धारण गरिनु पर्दछ । त्यो गन्तव्य राज्यले लिएको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने अवधारणालाई सहयोग पुग्ने हुनु पर्दछ ।

 

त्यसका लागि वनको दिगो व्यवस्थापन र व्यवसायीक सदुपयोग नैं हो । तर यस मार्गमा वन क्षेत्रका कुनै पनि खेलाडी निकायहरु क्रियाशिल भएको देखिन्न । स्थानीय तह वनसँगको नजिकको सरकार हो ।  अधिकांस स्थानीय सरकारहरु वन क्षेत्र नैं मास्ने मुडमा देखिएका छन् । कुनै पनि स्थानीय तहले वन सम्वन्धी स्थानीय कानून वनाएका छैनन् ।

 

उनीहरुमा सामुदायिक वनको कुशलतापूर्वक व्यवस्थापन गरी समृद्धिको मार्गमा हिडाउने चासो देखिन्न । जताततै सामुदायिक वन भएर विकास निर्माण गर्न पाइएन भन्ने गुनासो रुपी चिन्ता देखिन्छ । समुदायको भुमिकालाई झन्झटिलो प्रकृयाको रुपमा हेरियो । समुदायको संलग्नताले स्थानीय सरकारले गर्ने विकासको तागत थप्छ भनेर स्वीकार गरिएन । विगतमा सामुदायिक वनको  अवधारणा विकास गर्दा दातृ निकायहरु धेरै थिए ।

 

उनीहरुको सामुदायिक वन विकासमा प्रत्यक्ष सहयोग तथा सहकार्य थियो । अहिले नेपालको वन क्षेत्रलाई प्रत्यक्ष कार्यक्षेत्र वनाएका कुनै पनि दाता देशहरु छैनन् । नेपाल सरकारको प्राथमिकतामा सामुदायिक वन हटेको धेरै भैसक्यो । भरखरै प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक वन भन्ने शव्दावली समेत अट्न सकेन ।

 

सामुदायिक वनको अवधारणा सुरु हुँदा सामुदायिक वनमा सहयोग गरे वापत वन कर्मचारीको वृति विकासका लागि अध्ययन, अवलोकन, वैदेशिक भ्रमण जस्ता आकर्षणहरु थिए । ती सुन्य भैसकेको धेरै वर्ष भैसक्यो । वन क्षेत्रको नागरिक संगठनहरु मणी हराएको नागजस्तै भैसकेको छन् । प्रतिक्रिया जनाउने भन्दा माथि उठेर रचनात्मक हुन सकेको छैनन् ।

 

अधिकांश सामुदायिक वन उपभोक्ता समूहहरुले वन कार्ययोजना परिमार्जन गर्न चाहाना राख्दैनन् । किनकी वन कार्ययोजना हुँदा र नहुँदामा केही फरक पर्दो रहेनछ । दाउरा घाँस आवश्यक नपर्ने त्यो भन्दा वढि सामुदायिक वनबाट उपलव्धी नहुने भए पछि कार्ययोजना किन चाहियो भन्ने प्रतिप्रश्न गर्न थालिसकेका छन् । काठ तथा वहुमुल्य वन पैदावर निकासि गर्ने सामुदायिक वनहरुले मात्र कार्ययोजना वनाउनमा जाँगर देखाउने गरेको पाइन्छ ।

 


सामुदायिक वनसँग वन स्रोत तथा आर्थिक स्रोत समेत निष्कृय भैरहेको छ । केही वर्ष अघिको एक अध्ययनले प्रभावकारी वन व्यवस्थापन मात्र गर्दा पनि प्रति हेक्टर १ जना मान्छेलाई नियमित रोजगार दिन सक्छ भन्ने देखाएको छ । नेपालमा सामुदायिक वन मात्रै पनि २२ लाख हेक्टर भन्दा वढि छ ।

 

२२ लाख जनालाई प्रत्यक्ष र नियमित रोजगार दिन सक्नु पर्ने हो । एक हेक्टर कृषि जमिनमा व्यवसायीक काम गर्दा कति रोजगारी दिन सकिन्छ वनमा त्यती नसकेता पनि त्यसको आधा मात्र भने सक्नु पर्ने हो ।

 

शहर आसपासका सामुदायिक वनमा पर्यपर्यटन, अन्य सामुदायिक वनमा व्यवसायीक खेती (कानून त वहुवर्षिय बाली लगाउन मिल्छ) गर्ने, कानून वन्देज नगरेका व्यावसायिक पालन गर्न सकिने वन्यजन्तु पालन जस्ता काम गरेर सामुदायिक वन क्षेत्रको वहुआयमिक उपयोगमा ध्यान दिनु आवश्यक हुन्छ । 


सामुदायिक वनको वहुउपयोग गरेर फाइदा लिन सक्ने अवस्था आएमा डढेलो निभाउन उपभोक्ता जालान् । हैन भने आगो धेरै स्थानवाट नलाग्ला तर लागेको आगो निभाउन उपभोक्ताले जाँगर देखाउँदैनन् ।  


[email protected]

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।