विचार

न मिल्छ मन्तव्य, न भेटिन्छ गन्तव्य 

न मिल्छ मन्तव्य, न भेटिन्छ गन्तव्य 

नेपालको संविधान २०७२ नेपाली कांग्रेसको सरकारले आफ्नो कार्यकालका राष्ट्रपति डा.रामवरण यादवबाट घोषणा गराएकोले यसले नै यो संविधानको कार्यान्वयन र रक्षा गर्नु उसको दायित्व हो । स्वभावत स्रष्टालाई आफ्नो सृजनाको माया हुन्छ । यसो गर्नु उसको दायित्व पनि हो । विगत इतिहास हेर्दा पनि कम्युनिष्टका ४ प्रधानमन्त्री आएपनि १ थान संविधान नआएको इतिहास जग जाहेर छ । तर सरकारको पहिलो भूमिका निर्वाह भएमा यसले झन् राम्रो सन्देश दिने थियो । सरकारमा रहेका दलहरुको विचार निकट भएकाहरुको विगत तथा वर्तमान एवं साँठगाँठ हेर्दा अहिले नै विश्वास गर्ने स्थिति बनेको छैन । आफ्नो जन्मघर, बालापन बितेको गाउँघर मानिसको मन मस्तिष्क सबै भागमा रहेका हुन्छन । तिनीहरुका लागि मानिस मरी मेटेर लाग्दछ । सिद्धान्तप्रतिको आस्था वा यही नै देश प्रेम, राष्ट्र भक्ति हो । नेपालीलाई नेपालको माया लाग्नु स्वाभाविक हो । त्यसैले सरकार विपक्षी सवैलाई नागरिकको हैसियतले माया गर्नु स्वभाविक नै हो । 

यदि २०७२ को भूकम्प नगएको भए आठ वर्षसम्म पनि नेपालमा संविधान वन्ने वाला थिएन भनेर तर्क गर्नेहरु पनि कम छैनन । यसमा आंशिक सत्य पनि छ । यसको अर्थ अरुको देन नभएको भन्ने होइन । तर उनीहरुको प्राथमिकतामा संविधान नरहेको र नभएका कारण यस्तो भएको हो भन्ने पनि छन । जबकी कांग्रेसका पालामा उसले संविधान बनाएर देखायो, इतिहास बनायो । विचारको द्वन्द्वले समाजको गतिलाई अगाडि बढाउँछ ।  यसै कारण पनि अबका दिनमा राष्ट्र निर्माणमा मास बेस शैलीले काम गर्ला ? मासको अनुशासन राम्रो होला ? क्याडरको भन्ने पनि बहस उठाउँदा कस्तो होला ? विगतमा धर्म निरपेक्षता र गणतन्त्र भन्नेहरुले कांग्रेसलाई नै डुबाए भनी लेखेको तथ्य जाने बुझेका वरिष्ठ पत्रकार किशोर नेपालको विचार के सत्य छैन ? 

अहिले पनि फेरि अस्थिरताको लहर कांग्रेसमा सुरु भएको देखिन्छ । कांग्रेस हाल विचारको एन्टी थेशिस भएकाले उसको जिम्मेवारी संघन देखिन्छ । यसमा सरकारका प्रमुखले के भने कसले के भन्यो भन्ने माने छैन । किनकि सरकारले हाल चटक गरेर सत्ता लिएको अनि कांग्रेसमा होस हवास गुमेको, नेतृत्व तह दिउँसै खाजापानीमा मस्त र व्यस्त रहेको नातावाद कृपावादमा घेराउ भएकोले पनि यो हालत भएको भन्ने सञ्चारमा आएको तथ्य सत्य हो ? यदि होइन भने आम जनता फेरि लोकतन्त्रवादी जुझारु, न्यायप्रेमी कांग्रेस खोजिरहेका छन । किनकि कांग्रेसले व्यक्तिको स्वतन्त्रता, हक अधिकार, समानतादेखि समग्र लोकतन्त्रमा विश्वास गर्दछ । त्यसकारण नेपाली कांग्रेसले  जनजागरणसंगै आफूभित्रका प्रश्नहरुको उत्तर खोज्नु जरुरी छ । 

वुद्धिविलास गरी रमाउन चाहना गर्ने सरकारमा बस्नेले केही मनोगत, केही आत्म केन्द्रीत, केही तथ्य, केही कथ्य हाजिरी जवाफी उत्तरहरु दिन्छन । उनीहरु खास इतिहास बनाउँदैनन उनीहरुको इतिहास विश्वस्तर परिवेशसंग  जोडिएको मान्दछन । तर उनीहरु सत्ता शक्तिलाई सवैथोक ठान्दछन । अहिले सवै मिलेर मिलाएर नै सरकार स्थिर बनाएर लैजाने अनि संविधानको सफल कार्यान्वय गर्ने बेला हो । सरकार प्रमुख राजा ल्याउने मूर्खहरु  भनी प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको भएपनि ८ कक्षावाला व्यक्तिलाई क्रिश्चियन विश्व विद्यालयले पीएचडी डिग्री दिएपछि लहडबाजीको तर्क गर्ने प्रगतिशील साम्यबादी बाटो खोलिएको छ । यसमा हामी जनतालाई गौरव नै छ । तर लोकतन्त्रवादी इतिहास रचेको पार्टी कांग्रेसले वहाना तथा भावनामा बहकिन मिल्दैन । अहिले चलिरहेको जनजागरणमा अब देहायका प्रश्नहरुको जवाफ खोज्नु पर्दछ । किनभने गाउँ, नगर तथा वडा नै कांग्रेसको आधार इलाका हो । जहाँ गएर अझ धेरै यी प्रश्नहरुको बारेमा उत्तर खोजी गर्न गर्न आवश्यक देखिन्छ । 

(१) सिद्धान्त, नीति, कार्यक्रममा बाँधिएर कार्यकर्ता परिचालन गरी विधि प्रक्रिया तथा त्यसको सुव्यवस्थापनबाट पार्टीको सुसंगठन गर्ने हो कि होइन ? कांग्रेसको नीति बमोजिम विगतमा गरिएका कार्यक्रम जस्तै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, व्यक्तिगत स्वतन्त्रता, सहकारिता, संस्थानहरुको आर्थिक प्रणालीको विकास, निजी सम्पति, त्यसको उद्यमशीलतामा विकासजस्ता विचार, नीति तथा कार्यक्रमहरु नेपाली कांगे्रेसको आर्थिक तथा राजनीतिक नीति भएर पनि यो हाम्रो आफ्नो हो भनी भन्न नसकिरहेको अवस्थामा कांगे्रस विचार घेराबन्दीमा परेको त छैन ? चिन्तन मनन गर्ने मानिसहरु हाल कहाँ कुनामा बसेका छन ? यो खोजीको घडी हुनुपर्छ । 
खासगरी संघीयता, समावेशी, गणतन्त्रका लोकतान्त्रिक आधारभूत मान्यता भनेको जनताको मत नै हो । यो बन्द राजनीतिक तानाशाही व्यवस्था होइन । मन्तव्य एकातिर गन्तव्य अर्कातिर हो भने भन्नु छैन । तर विगतको जनआन्दोलन, विगतको इतिहास हेर्दा त्यसो होला भन्ने पनि लाग्दैन । 

व्यक्तिगत स्वतन्त्रता, आर्थिक, धार्मिक र राजनीतिक, सांस्कृतिक स्वतन्त्रता, कांग्रेसको आधारभूत सिद्धान्त हो भन्ने यसको झण्डामा अङ्कित चार ताराले देखाउँदछ भने यही राष्ट्रभित्र यिन नै विषय संकटापन्न अवस्थामा रहँदामा उसले यो विषयलाई वहसमा उठाउन के आपत्ति र जोखिमी छ ? सरकार प्रमुखले धर्म तथा राजा ल्याउन खोज्ने मूर्ख हुन भनेर ललकार्दैमा प्रतिपक्षले चुप लागेर बस्यो भने संघीयता, गणतन्त्र कता जाला र कसरी चल्दछ होला ? धर्म राख्न, मान्न नमान्न पाइन्छ तर कसैले सरकारको आडमा देशभरमा चलिरहेको धर्म, संस्कार संस्कृति सभ्यतामा डोजर लगाउने, जनताले मुक दर्शक भएर हेरिरहनु पर्ने किन ? 
लोकतन्त्र सञ्चालनको प्रमुख विशेषता, आवधिक निष्पक्ष निर्वाचन, प्रेश स्वतन्त्रता, मानवअधिकारको बहाली र सम्मान, स्वतन्त्र न्यायपालिका, विधिको शासन नै हो । यो के कस्तो हालतमा छ ? गुणस्तरीय सरकारी संयन्त्रहरुको विकासका लागि योग्यता क्षमता, दक्षताका आधारमा नियुक्ति गर्ने कि राजनीतिक आस्थाका आधारमा ? के यो मतको सम्मान कांग्रेसले गरिरहनु पर्दछ ? कारण जनताको मतले निर्वाचित भएको सरकारलाई प्रतिपक्षमा रहेर सकेसम्म प्रतिपक्षको धर्म निभाउनु पर्दैन ? तर कांग्रेस यो गर्ने पक्षमा देखिदैन कारण उसले पनि आफ्ना पालामा गर्न सक्ने जति बाँकी राखेको थिएन ।  सत्तारुढ सरकार आफ्नो कारणले गर्यो भने राम भन्न सकिन्छ तर विपक्षीले काँध हाल्न सक्दैन । बेला बेलामा कांग्रेसले काँध हालेर सिद्धान्तको विपरीत चलेको पनि देखिन्छ । जो राजनीतिमा त्यस्तो उदाहरण छैन । प्रतिस्पर्धा पनि गर्ने अनि प्रतिस्पर्धीलाई आपनो हतियार दिएर आफ्नो योद्धाको विनास पनि गर्ने र गराउने द्विविधा रणनीतिले राजनीतिक संग्राम विजय हासिल गर्दछ ? अहिलेको युगमा  राजनीतिक धर्ममा कहीं त्यस्तो हँुदैन । 
राष्ट्रनिर्माणको काम गर्दा सहकार्य गर्न सकिन्छ तर निर्वाचनमा प्रतिस्पर्धामा नीति सिद्धान्त हापेर समर्पण गर्नेलाई समाजले पनि पत्याउँदैन । वीपीले कहिले त्यसो गरेनन । आम जनता चलखेल भएको छ नै भनी आशंका व्यक्त गर्दछन । पौराणिक तथा ऐतिहासिक कालमा यो देखिदैन । विगतको निर्वाचनमा चितवनमा कांग्रेस समपर्णवादी बन्यो, गोरखामा पनि समर्पणवादी भयो । यसले कांग्रेसलाई के लाभ भयो ? राष्ट्रलाई राष्ट्रियतालाई के लाभ मिल्यो ? 

(२) राजनीतिक दल भनेको समान विचार मिल्नेहरुको सधैं बस्ने घर हो, यस्तो घरमा भने सिटौला, पौडेल तथा देउवा यो र त्यो भन्ने किन गरिन्छ ? उनीहरुलाई अब नपुग्दो के छ ?   घरभित्रै असन्तुष्टि तथा असमानता भएमा त्यसैको आडमा कलह, झगडा विद्रोह त्यसैबाट आउँछ भन्ने कांग्रेसलाई थाहा छ कि छैन ?
(३) घरभित्रै सधैं अन्याय, असमानता भएमा कुनै पनि अहं समयमा अन्तरघात तथा असहयोग स्वाभाविक रुपले हुन्छ, हुँदैन त ? पीडितले पीडकलाई किन क्षमा दिन्छ ? त्यो पनि आपराधिक काम गर्नेलाई किन र के का लागि दिनु ? नेताहरुको बीचमा आत्मजागरण आवश्यक छैन ? कांग्रेसका युवा पुस्ता कहाँ छन के जिम्मेवारीमा छन ? धनराज गुरुङ, रामहरि खतिवडा, केदार कार्की, गुरु घिमिरे, उमेशजंग रायमाझी, चन्द्र भण्डारी, रन्जित कर्ण, गोविन्द शर्मा, साधना घिमिरे, महेश्वरी कुँवर लगायतका अन्य हजारौ युवा खोई कहाँ गए ? के के जिम्मेवारीमा छन ? उनीहरु निराश, उदास विन्दास के भएर कहाँ बसेका छन यसवेला ? कुनै वेला विपिन कोइरालाले केवी सरलाई अब हनुमान चालिशा पढेर विताउनु होस भनेर व्यंग्य गरेका थिए । 

(४) हिजो नातावाद, कृपावाद, भ्रष्टाचार सिद्धान्तविहीनता, गुट, उपगुट  आईजीपी, प्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा समर्पण   नगरेको भए विगत निर्वाचनमा कांग्रेसका लागि के फरक हुन्थ्यो ? हुदैनथ्यो । नवराज सिलवाल कांग्रेसले जन्माएको होइन ? जसले गर्दा उदयशमसेर जस्ता असल होनहार नेता पराजित भएका होइनन ? यसको नोक्सानी जिम्मेवारहरुले तिर्नु व्यहोर्नु पर्दैन ? 
(५) पार्टीले लोकतान्त्रिक चरित्रका काम कुरा गर्दा एकता, ऐक्यवद्धता, स्पष्टता हुन पर्छ कि पर्दैन ?
 (६) भारतका आम निर्वाचनले केही पाठ दिएको होला सिक्ने हो कि होइन ?
(७) इतिहास भएको पार्टीले निष्ठा, संकल्प तथा प्रतिवद्धता कायम राख्दै युवाहरुले एकतावद्ध भएर काम गरेमा के प्रतिफल आउला ?

आठवटा तहहरु– दल, तरुण, महिला, विद्यार्थी, किसान, मजदुर, सैनिक तथा संघसंस्थाहरुको वडा, गाउँ नगर, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन तुरुन्त गराएर विधि सम्मत संरचना खडा गरिदिए के फरक पर्ला ? संघीय स्वरुपमा त्यो संगठन, नगर्नु भनेको पार्टी कब्जा गरेर सधै सम्मानित भइरहने सोच हो भनेर जनमतको विरोध आइरहेको अवस्थामा के यो यस्तो सोचले अहिलेको समयमा नेपालमा क्रान्तिकारी प्रतिपक्षहरुसंग कांग्रेसले प्रतिस्पर्धा गर्न सक्ला त ? कतिपय स्थानमा समानान्तर समूह क्रियाशील छन ,त्यसले राम्रो गर्ला ? 
(८) सत्ता प्राप्तिको अन्धो सम्राट हुन खोज्नेले,  निर्वाचन जित्ला कि मनको जोगी हुनेले ? र राजनीतिमा निष्ठासाथ लाग्नेले कि धोखा जालझेल गरी लाग्नेले जित्ला भन्ने हिन्दूस्तानको निर्वाचनबाट केही शिक्षा  लिने  कि ?

अवसर आएको बेलामा साम्यवादी शक्तिलाई मिल्नमा एक मिनेट पनि लाग्दैन । यो उसैको सिद्धान्त नै हो,  जसलाई सम्मान गर्नु पर्दछ । कांगे्रसका विरुद्ध मोर्चाबन्दी गर्नलाई अवसर दिनाले यसको चर्को मूल्य गाउँ घरमा रहेर आस्था विश्वास तथा निष्ठामा अडेर बसेको सोझा सीधा आम जनतामा पर्दछ भन्ने नेतृत्व तहलाई हेक्का छ कि छैन ?  अहिले सरकारले आपना कार्यकर्ता पोस्ने, ठेक्का पट्टा दिने, कमिशनबाट लाभान्वित हुने काम पनि रोक्ने र अनि अपराधीहरुको संरक्षण गर्ने, भ्रष्टाचारहरुको संरक्षण गर्ने काम भइरहेको छ भनी सञ्चारमा आएको पाइन्छ । त्यसैकारण आम जनसरोकारका काम हुन सकेका छैनन । यसमा विभिन्न किसिमका गुट तथा गिरोहहरुले सरकारलाई उपयोग गरिरहेका छन भनिन्छ । ठेकदारले काम लिने, ओगट्ने तर नगर्ने, क्रममा सरकार निरीह बन्दै भएको देखिन्छ । यसले आउने दिनमा संविधानको सही कार्यान्वयन हुनेमा गम्भिर आशंका पैदा भइरहेको छ ।

जारी भएको संघीयताले कामै गरेन भनेर यसलाई खारेज गराउनमा अन्तर्राष्ट्रिय गिरोह लागेको स्पष्ट देखिन्छ । तर पनि प्रतिपक्षले यसलाई रोक्दै राष्ट्रियतामा एकताबद्ध भएर काम गर्न र गराउन आवश्यक देखिन्छ । यो संविधान विफल भयो र सार्वभौम नेपाली जनता भएको भन्ने प्रमाणित दस्तावेज, संविधान तथा शासन प्रणालीको विफलता भयो भने त्यसको जिम्मेवारी सत्तारुढले मात्र होइन कि प्रमुख विपक्षीमाथि नै आउने पक्का छ ।  यदि यस्तै तरिकाले प्रतिपक्षी चलिरहने हो भने सवैलाई चेतना होस, धेरै हात एकैसाथ, सवको सोच साझा विचार निर्माण गरौ । 

नेपालको संविधान २०७२