कभर स्टोरी

हेर्दा दुरुस्तै तर यौन चाहना फरक हुनेहरुको कथा 

हेर्दा दुरुस्तै तर यौन चाहना फरक हुनेहरुको कथा 

काठमाडौं । यौनको मामिलामा केही मानिसहरु जस्ता देखिन्छन्, भित्र त्यस्ता हुँदैनन् । शारीरिक बनोटको दृष्टिले, भावनात्मक दृष्टिले महिला देखिने र आफूलाई ‘महिला नै हुँ’ भन्नेहरुको पनि यौन चाहना फरक हुन्छ । 

 

मंगलबार काठमाडौंमा आयोजित एलजिविटिआइ समुदायको संवेदनशीलतासम्बन्धी अन्तरक्रिया कार्यक्रमका अवसरमा समलिंगी महिला लक्ष्मी घलानले भनिन्,  ‘म महिला हुँ तर मलाई पुरुषसँग सहवास गर्न मन पर्दैन । मलाई महिलासँगै अन्तरंग हुन मन पर्छ ।’

 

यौनका कुरा उतिसाह्रो हाम्रो समाजमा खुलेर गरिँदैन । यस्तै औपचारिक कार्यक्रम नै सहि, पछिल्लो समय हुने गरेको छ । वशन्तीकुमारी कडायतको अनुभवले त कार्यक्रममा सहभागीहरु सबैको ध्यान तान्यो । वशन्तीकुमारीलाई राज्यले महिलाको रुपमा चिन्दछ । नागरिकतामा पनि महिला नै उल्लेख छ । तर उनको आवाज पुरुषको जस्तो छ । अनुहारमा हल्का दाह्रीजुँगा पनि छन् । केटाको पहिरन, केटाकै शैली भएकी वशन्ती राज्यको नीतिका कारण पीडित छन् । 

 

वशन्तीको भनाइ छ, ‘म महिला होइन रहेछु । यो कुरा मैले मलाई, परिवारलाई र समाजलाई बुझाएँ । तर सरकारलाई बुझाउन सकिरहेको छैन । अहिले मैले मेरो नाम विपिन कडायत राखेँ । विपिनबाट मैले कहिले पहिचान पाउने ?’

लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स जस्ता फरक फरक समूह छन् । यी सबैको फरक फरक शारीरिक र मानसिक अवस्था हुन्छ । यौनिकताको विषयमा मानिसहरु खुलेर बोल्न गाह्रो मान्छन् । आफ्ना कुरा अरुलाई भन्दा बेकारमा हेला, हाँसोको पात्र बनिन्छ भन्ने डरले खुलेर भन्न उनीहरु सक्दैनन् । 

 

तर महिला समलिंगीहरुका लागि भने मितिनी नेपाल भन्ने संस्था नै छ । सोही संस्थाले आयोजना गरेको कार्यक्रममा डा. अजयबाबु रिजालले भने, ‘एलजिविटीआई कुनै रोग होइन भन्ने कुरा ५० वर्षअघि नै पुष्टि भइसकेको विषय हो । रोग नभएपछि उपचार गर्न पनि परेन । जो जस्तो अवस्थामा छ, उसलाई त्यसैमा सम्मानपूर्वक बाँच्न दिनु नै सही अर्थमा समावेशीता हुन्छ । परक यौनिक हुनु कसैको दोष होइन, यो सबै प्राकृतिक कुराहरु हुन् ।’

महिला  र पुरुषलाई जोड्ने महत्वपूर्ण  विषय यौन नै हो । तर यौनकै कुरा बुझ्न सकिएन भने जीवन बर्बाद हुन्छ । आवरण र शरिर महिलाको भए पनि सोचाई आफू पुरुष हुँ भन्नेहरु पनि हुन्छन् समाजमा । महिला नै भए पनि पुरुषप्रति आकर्षित नहुने र महिलासँगै शारीरिक सुख पाउनेहरुको जबर्जस्तै परम्परागत ढंगले विवाह गराईदिँदा ठूलो समस्या निम्तिने गरेको कार्यक्रमका सहभागीहरुले बताए । 

 

जबर्जस्ती विवाह गराईदिँदा विावह भएको वर्षौैंपछि पनि सम्बन्ध विच्छेद भएका कैयन घटनाहरु भएको सो अवसरमा जानकारी दिइयो । 

 

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले भनिन्, ‘यदि कोही महिलाले आफूलाई पुरुषसँग सम्बन्ध राख्न रुची हुँदैन, महिलासँगै राख्छु भन्छिन् उनको चाहना र फरक यौनिकता हामीले किन अस्वीकार गर्ने ? यो कुनै विकृति होइन, रोग होइन । प्राकृतिक रुपमा केही मानिसहरुमा यस्तो अवस्था सिर्जना हुन्छ भने त्यो प्राकृतिक विषयलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

संविधानको धारा १२ मा लैंगिक पहिचान सहितको नागरिकता पाउने, धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्न नपाइने, धारा ४२ मा सामाजिक न्यायको प्रशंग उठाइएको छ । तर, व्यवहारमा यि अधिकारको कार्यान्वयन भने हुन सकेका छैनन् । 

 

यौनिक अल्पसंख्यकहरु न्याय र सम्मानका लागि संघर्षरत छन् ।