विदेश

हङकङमा प्रदर्शनकारीमाथि रबरका गोली

हङकङमा प्रदर्शनकारीमाथि रबरका गोली

हङकङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ।

प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेका छन् भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्। सरकारले उक्त विधेयकलाई अघि बढाउँदैछ जसले मुख्य भूमि चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने छ।

उक्त विधेयक जुन २० मा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ। तर हङकङको विधायिका परिषदले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको छ।

बेइजिङ-समर्थक विधायिका परिषदले भनेको छ बुधवार हुने भनिएको परिषदको बैठक अब "पछि कुनै समयमा" हुनेछ। तर त्यस्तो समय निर्धारण भने गरिएको छैन। दशकौंपछि हङकङमा प्रदर्शनकारीहरूविरुद्ध रबरको गोली प्रयोग भएको यो पहिलोपल्ट हो।

हालसम्म २२ जना घाइते भएका बताइएको छ भने ति मध्ये कसैको पनि अवस्था चिन्ताजनक छैन।

हङकङमा उक्त विवादास्पद विधेयकमाथिको निर्धारित छलफल र मतदानअघि प्रदर्शनकारीहरूले सरकारी भवनहरूतर्फको आवागमन अवरुद्ध पार्ने प्रयास गरिरहँदा हजारौं सहभागी विरोध प्रदर्शनका घटना सामान्यतया शान्तिपूर्ण नै देखिएको थियो। तर बुधवार प्रदर्शन चर्कंदा विरोध प्रदर्शनकारीहरूविरुद्ध अश्रुग्यास, रबरको गोली आदि प्रयोग भएको छ।