विचार

सलाद समाज, जल्लाद नेतृत्व

सलाद समाज, जल्लाद नेतृत्व

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन । उनको प्रसिद्धि गाउँदेखि सहरसम्म फैलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई हराउन सक्दैनथे । यही कारण उनमा घमण्ड पलाएको थियो । बुद्धिचालको पारंगत ठानेर घमण्डले चुर उनले आफ्नो घरको मूलढोकामा समेत लेखेका थिए– बुद्धिचाल बादशाह ।

एकदिन अर्को गाउँका कुनै अपरिचित बटुवा झमक्क रात पर्नै लाग्दा लंगडो घोडा डोर्याउँदै बुद्धिचाल बादशाहको घर आइपुगे । उनले बुद्धिचालका महारथीसंग आफू बुद्धिचाल खेल्न इच्छुक रहेको बताए । जो पायो त्यही संग खेल खेल्न नचाहेको भन्दै तिनले कुनै बाजी राखे मात्र खेल्न तयार रहेको सर्त तेस्र्याए । ती बटुवाले आफूसंग विरामी घोडा बाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले बाजीमा त्यही घोडा राख्ने अड्डी लिए । खेलाडी राजी भए । खेल शुरु भयो । नभन्दै ५, ७ चाल नचल्दै बटुवा हारे । घोडा महारथीलाई बुझाएर उनी बाटो लागे । यता बुद्धिचाल महारथी विरामी घोडाको उपचार गरेर त्यसलाई आफ्नो काममा लगाउन थाले । केही दिनपछि बटुवा फेरि त्यही गाउँ हुँदै फर्किए । फर्किदा पनि उनले आफू हारेमा सयवटा सिक्का दिने र जितेमा आफ्नो घोडा फिर्ता लिने सर्त गरेर बादशाहलाई खेल्न राजी गराए । 

यसपटक भने ४, ५ चाल चल्ने वित्तिक्कै बुद्धिचाल बादशाह नराम्ररी हारे । ती बटुवा कुनै साधारण खेलाडी नभई अत्यन्त निपूर्ण र प्रतिभाशाली खेलाडी भएको थाहा पाएपछि उनलाई  अघिल्लो पटक हार्नुको कारण सोधे । ती बटुवाले बेलिविस्तार लगाए– ‘पहाडभन्दा ठूलो अर्को पहाड, आकासभन्दा बाहिर अर्को आकास हुन्छ । त्यसैले घमण्ड गर्नु हुँदैन । अघिल्लो पटक हिँड्ने क्रममा मेरो घोडा विरामी भयो । त्यसैले यसको निशुल्क उपचार र हेरचाह गराउनको लागि मात्र मैले यस्तो चाल चलेको थिएँ ।’

महाभारतको विध्वंशकारी लडाईंको केन्द्रविन्दु अन्ततः सत्ता नै थियो । तर जब महाभारत सकिएर सत्ताको साँचो पाण्डवहरुको हातमा पुग्यो, त्यसपछि पाण्डवहरुलाई बैराग्यले सताउन थाल्यो । पाण्डवहरुका अग्रज युधिष्ठिर सत्ता सम्हाल्न हैन, बरु धर्मभीरु भएर सन्यासी बन्ने तर्खरमा लाग्न थाले । महाभारतका डन कृष्ण इहलीलाको बाटो खोज्न थाले । अर्जुन आफूले यी सारा कर्म दाजुका लागि गरिदिएको भनेर पन्छन थाले । युद्ध जितेको भन्दा छोरो कर्ण आफ्नै सन्तानको हातबाट मारिएको पीडाले कुन्तीलाई उठी सुख न बसी सुख पारेको थियो । लडाईंका नियम मिचेर हात पारिएको त्यो सत्तामा कसैको मोह देखिएन् । आत्मग्लानीले सवै मरिच चाउरिए झैं चाउरिएका थिए । संविधानसभा निर्वाचनबाट पहिलो र दोस्रो दलमा बढुवा भएका कम्युनिष्ट–काँग्रेसको हकमा पनि अहिले पाण्डवकै नियति दोहोरिएको छ । 

वितेको एक दशक प्रचण्डले बजाएको डम्बरु तालमा मारुनी नाचेका प्रमुख राजनीतिक दललाई अहिले प्राप्त हैसियत थाल खाउँ, न भात खाउँ जस्तै भएको छ । मै हुँ भन्ने राग पनि जोगाउनुपर्ने अर्कातिर प्रचण्डलाई बुझाएका सही छाप फिर्ता लिंदा राजनीतिक जालसाजी र किर्तेका थुप्रै मुद्दा बल्झिने भएकाले कांग्रेस–एमाले धर्म संकटमा छन् । एमाले–माओवादी एउटै पार्टी भनिए पनि त्यो तेल– पानीको मिलावट भन्ने तथ्य त्यही पार्टीका नेता, कार्यकर्ताले घाँटी घाँटीसम्म बुझेका छन् । ‘संघीयता’ नामक बुचेठेकीको धक्कु देखाएर प्रचण्ड माथि उल्लेखित बुद्धिचालको बादशाह बन्न मस्त छन् । कहिले संघीयता र गणतन्त्र आफ्नो जुम्ल्याहा सन्तान भनेर फुर्किन्छन त कहिले यही उपलब्धिबाट तर्सिन्छन् । 

राजनीतिको खोल ओढेर उताउलिनेहरुको पखेटा बारम्बार काटिएका उदाहरण छन् । जहाजमा तेल बोकेर जनताको टुकी बाल्ने दुस्साहसले मरिचमानलाई खायो । चोरी औंलो उठाएर ‘म नै राज्य हुँ’ भन्ने सोच पालेका गिरिजाप्रसाद जब गल्ती महसूस गर्ने अवस्थामा आए, त्यसपछि जीवनको उत्तराद्र्धमा मलामी बटुल्न सफल भए । प्रधानमन्त्री खान राइटर बाजे, लक्ष्मण खड्काको कुम कुममा पुग्ने देखि लिएर ब्रम्हनालमा आमाको शब छोडेर मयलपोश सुरुवाल लाउन चम्किएका माधव नेपाल पटक पटक राजनीतिमा हण्डर खाए । जब उनमा परिपक्वता आयो, गल्ती केस्रा केस्रा केलाएर आफूले आफैंलाई सच्याए, आखिर फेरि माया पाए । इतिहासले लौह पुरुष बनेका गणेशमान परिवारलाई राजनीतिक ब्याज ख्वाउने कसरतमा लागेकैले जिन्दगीभर विरुवाबाट पानी हालेर बनाएको रुख छोडी अन्ततः हात्ती छापको वियोगान्त कथामा खुम्चिएर महायात्रामा लाग्नु पर्यो । 

नेपाल सिंगापुर बनाउँछु, जाँड खान संसद जान लागेको भन्ने खालका सस्ता कुतर्क गर्दा इतिहासको भट्टीमा गालिएको कृष्णप्रसाद भट्टराईको व्यक्तित्व अन्ततः विद्या भण्डारीको सेतो सारीले त्यो साखमा धावा बोल्यो । स्थानीय चुनावमा पार्टीको दरो उपस्थिति बनाएपछि आफूलाई सिंह ठानेर पार्टी फुटाएका बामदेव आफ्ना कार्यकर्ता जति सवै माओवादीमा बुझाएर म्याउँ गर्दै माउ पार्टीमा फर्किए । डडेलधुराको रुवाखोलामा जन्मिएका शेरबहादुर नारायणहिटी धाउन थालेपछि ओढाइएको बाघको खोलको न्यानोले आफूलाई श्री ३ ठानेर के दल टुक्र्याएका थिए, ज्ञानेन्द्रले खोटा हानेपछि लागेको टुटुल्को सुम्सुम्याउँदै फेरि सानेपामा मिसिए । 

जनताको संगठन हुँदैन, तर सवैको हिसाव किताव तिनीहरुले राखेका हुन्छन् । नेपाल सिंगापुर जस्तो हैन, नेपालजस्तै बनाउनु पर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीका बोली हावामा उडाइदिए । नेपाललाई स्वीट्जरल्याण्ड बनाउन विकासको मूल फुटाउने कागजी बाघमा लागेका पञ्चहरुको छाता पञ्चायत नै सिलटिमुर खायो । सलादजस्तो मिलेको समाजबाट फलफूलका टुक्रा चुडेर स्वार्थको रोटी सेक्नेहरु बढारिँदै जान थालेका छन् । धरहराभन्दा अग्लो बनाउन पनि नसक्ने, धरहराको विरोध गर्न पनि नछोड्ने अतिवादीहरुका लागि राजनीति घाँटीमा अड्किएको हड्डी जस्तो हुन पुगेको छ । जिन्दगीभर पशुपति मन्दिर टेक्नुलाई महापाप भनेर बुझेका केपी ओली भारतीय प्रधानमन्त्रीलाई उपहार रुद्राक्ष र चन्दन बोकेर जान थालेका छन् । ईश्वरीय अस्तित्व स्वीकार नगर्ने यी आत्माहरुको पाखण्डीय धोती नियतिले यसरी नै फुस्काउँदै लानेमा शंका छैन् ।  

नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र बीपीको जस्तो मेल अपवाद नै थियो । कतिसम्म भने अन्तर्राष्ट्रिय मञ्चहरुमा बोल्दा राजा आफ्नो प्रधानमन्त्रीको खुलेर प्रशंसा गर्थे । कतै गयो कि बीपी र पत्नी सुशीलालाई उपहार ल्याइदिन्थे । रानीले आफ्नै हातले पकाएको खाना ख्वाउन बीपी निम्त्याइन्थे । तर एकाएक त्यो सम्बन्ध यसरी बिग्रियो कि जसका कारण त्यसको पीडा सम्पूर्ण देशले भोग्नुपरेको छ । दुई शक्तिलाई लडाएर नेपाली मनोविज्ञानमा खेल्ने देशी विदेशीले पुरै देश अवन्नतिको गर्तमा पुर्याए । 

तात्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा किशोरी वयमा चढ्दै गएकी छोरीले गरेको नोकरीलाई बाधा नपुगोस भनेर इच्छा विपरीत शहरको जनजीवनमा आफूलाई बाँधेका छन् । उनी आफ्ना सन्ततिहरुलाई पसिनाको कमाइमा प्रेरित गर्न चाहन्छन् । विश्वका सर्वशक्तिमान भइसकेका यी व्यक्तित्व आफैं पनि पत्नीले डिजाइन गरेको लुगामा सजिन्छन् भने घरमै उत्पादन गरिएको अर्गानिक तरकारी खान्छन् । सामाजिक असुरक्षाका कारण डान्स पार्टीमा आफ्नो छोरीले स्कर्ट लगाएर ननाचिदिए हुन्थ्यो भनेर कामना गर्छन् । 
भूगोल फरक भएपनि मानिसको बचाइका सारवस्तु उही हो । भान्सामा पाक्ने पदार्थ उही हो । सामाजिक सञ्जाल र इन्टरनेटको आँगन एउटै हो । साँझ पर्दा बढेकी छोरी घर नफर्कदा एउटा सामान्य नागरिकलाई जति पोल्छ, बाराक ओबामालाई पनि उत्तिनै पोल्छ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुस जाँड र मासुको कुलतले आफूलाई बर्बाद बनाएको स्वीकार्छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जाँड खाने भएको भए आफू संसारकै कुरुप पुरुष हुने कल्पना गर्छन् ।  

नेपाली समाजमा रामको गाथा गाउनेको संख्या धेरै छ । तर तिनै रामले लक्ष्मणलाई आफूले मारेका रावणको खुट्टा ढोग्न लगाएर ज्ञानको कदर गरेका थिए । राम राज्यको आँखाबाट रावण राक्षस भएपनि उनी यति विद्वान थिए कि उनले त्यतिबेलै दुईवटा कृति लेखेका थिए । उनको तात्कालिन योजना आयोगले सुनको सिंढी बनाएर स्वर्ग र मत्र्यलोक जोड्ने योजना पारित गरेको थियो । युद्धको नियमलाई उनले कति पनि उल्लंघन गरेनन् । 

रामराज्यका जनता बद्मासी गरेपछि आफैं जेल जान्थे । हाम्रो राजनीति ज्यानमारा र अपराधीलाई माफी मिनाहा गराउन सक्रिय छ । पढ्न त सवैले पढ्छन् । प्रश्न हो– पढाई अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम प्रत्येक दिन नमाज पढेपछि सितार बजाएर राम धूनमा रमाउँथे । यो चाहीँ पो हो त पढाइको सामथ्र्य । खोई उनको विद्वतामाथि कसले शंका गरेको छ ? साहरुख खानलाई ट्वीटमा पछ्याउनेको संख्या साढे एघार करोड छ । उनले हिन्दु समुदायकी जीवनसाथी रोजेका छन् । छोराको नाम अविराम राखेका छन् । उनको कलामा प्रश्न उठाएको कसैलाई थाहा छैन । बरु उनको ख्याती झन्झन् बढ्दो छ । अर्का खान सलमानकी बहिनीको विहे हिन्दु केटासंग भयो ।

मानव जीवनको सवैभन्दा शक्तिशाली विवेकको नेत्र हो । भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरुलाई झन्झन् निर्धो र भद्दा बनाउँदै लगेको छ । सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन । बरु झन्झन् नाङ्गिन्छ । रहर र कहरमा पढेका कोरा ठेलीलाई शास्त्रीय मान्यता ठानेर सधैं ढुंगाको अक्षर बनाउन खोज्नु भनेको समयको रफ्तार     नबुझनु  हो । समय अनुसार मान्यता बद्लिन्छ । माओत्सेतुङ्को नाम मात्रले काँप्ने चिनिया समाज आर्थिक उदारीकरणको पराकाष्टामा पुगेको छ । अबको १५ वर्षभित्र चीनले अमेरिकीलाई उछिन्ने प्रक्षेपण स्वयं पश्चिमाहरुले गर्न थालेका छन् । माओत्सेतुङको राजनीतिक आतंकलाई देङ सियाओ पिङको आर्थिक दूरदृष्टिले पाखा लगाइदिएको छ । 

सद्दाम हुसेनको सालिक बनाउन खुन, पसिना चुहाएका इराकीले घन चलाएर सालिक भत्काएका छन् । निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य मानव शूत्र बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरुको भलोमा आफू रमाउनु हो । अझ राजनीतिलाई जीवनपथ बनाउनेहरुले त दिनु , दिनु अनि फेरि दिइरहनुमा आफूलाई समर्पित गर्नुपर्छ । पैसा कमाउन त व्यापार गर्नुपर्छ , व्यापार । जसरी विशुद्ध राजनीति गर्नेहरु जनताको मनमा बस्न सक्छन, व्यापार गर्नेहरु घरबाटै फर्कनु पर्छ । 


 

सलाद समाज, जल्लाद नेतृत्व